जर्मनीमा काठमाडौं किकर्स च्याम्पियन



काठमाडौं ।

नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको चर्चित युथ लिग भीआर बैंक कपअन्तर्गत यू–१४ तर्फको उपाधि जितेको छ।

म्युनिखस्थित मोम्मेन्डोर्फमा सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यू–१४ टोली च्याम्पियन बनेको हो। राउण्ड रोविन लिग र फाइनल चरणका गरी १३ खेल खेलेको किकर्सले ९ खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकाल्दै ३१ अंक जोड्यो। किकर्सको यस समूहमा जर्मनीको विभिन्न एकेडेमीका अन्य ९ टोली सहभागी थिए।

टोलीले अन्तिम दिनको खेलमा चारमध्ये तीनमा जित र एकमा बराबरीको नतिजा निकाल्दै उपाधि सुनिश्चित गरेको हो। टोलीले आफ्नो अन्तिम खेलमा एसभी सिलेन्बाकलाई २–० गोल अन्तरले पराजित गर्‍यो। टोलीको यो महत्वपूर्ण जितमा आर्यबीर सिंह एक्लैले दुई गोल गरे । आर्यबीर आफ्नो समूहमा सर्वाधिक गोलकर्ता समेत बने। उनले प्रतियोगिता अवधिभर आठ गोल गरे।

नेपाली टोलीलाई जर्मनीको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी एवं बुन्डेस लिगा क्लब स्टुटगार्टका पूर्वकप्तान थोमस हिल्सपर्गरले पुरस्कार वितरण गरेका थिए। विश्वकप समेत खेलिसकेका हिल्सपर्गरले नेपाली खेलाडीहरुसँग समेत केही समय विताएका थिए।

मोम्मेन्डोर्फ फुटबल क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको यस प्रतियोगिताको यो ५५औं संस्करण हो। प्रतियोगितामा विभिन्न उमेर समूहमा गरी ७६ टोली र २० क्लबका गरी १२ सयभन्दा बढी खेलाडीले भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस्