नेपाल लगातार पराजित



काठमाडौं । 

नेपाल एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा लगातार पराजित भएको छ। नेपाल ब्वाइजमा पाकिस्तान र गर्ल्समा भारतसँग पराजित भएको हो।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको पहिलो दिन नेपालको ब्वाइज टिम श्रीलंकासँग ३–० तथा गल्र्स टिम बंगलादेसँग २–० ले पछि परेको थियो।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा पाकिस्तानले नेपाललाई ३–० ले पराजित गर्‍यो। सिंगल्समा रशिद अलीले नेपालका विश्वविशेष डल्लाकोटीलाई ६–३ र ६–० तथा मुहम्मद सायनले नेपालका निश्चल ज्ञवालीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे।

डबल्समा सायन र जुनैद खान मुहम्मदको जोडीले नेपालका विश्व र साहनवाज आलमको जोडीलाई सीधा सेटमा ६–१ र ६–० ले पाखा लगाए । ब्वाइजमै भारतले माल्दिभ्स तथा श्रीलंकाले भुटानलाई समान ३–० को नतिजामा पन्छाए।

दोहोरो जित निकाल्ने क्रममा गल्र्समा भारतले नेपालमाथि ३–० को जित दर्ता गर्‍यो । सिंगल्समा श्रृष्टि किरणले नेपालकी आयुशा जिसीलाई ६–० र ६–० तथा खुशी कडियनले नेपालकी अनुश्री धोजुलाई ६–२ र ६–० को सोझो सेटमा पन्छाए।

डबल्समा सरेना घलोट र श्रृष्टि किरणको जोडीले नेपालका अनुश्री धोजु र सारा पन्तको जोडीलाई ६–१ र ६–० ले पराजित गरे । अर्को खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले निराश पार्‍यो।

प्रतिक्रिया दिनुहोस्