बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव हो : उपाध्यक्ष लामा

२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस

2.6k
Shares

बुटवल ।
लुम्बिनी विकास कोषले २५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस तीन दिने विविध कार्यक्रम सहित मनाउने भएको छ । कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि तीन दिवशिय विविध कार्यक्रम गरी मनाउने जनाएको हो ।

बजेटको सुनिश्तिता नहुँदा बुद्धजयन्तीको तयारीमा ढिलाई भएपनि अब तीन दिन भव्यताका साथ मनाउने गरी कार्यत्रम तय गरिएको कोषले जनाएको छ । विहिबार जेष्ठ १० गते प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ बिशेष समारोह गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताउनु भयो । उहाँले आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवद्र्धमा सम्पूर्ण सञ्चारकर्मीहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

उपाध्यक्ष डा. लामाले यो वर्ष बजेटको सुनिश्चिता नहुँदा निकै कठिनाई भोगेको बताउँदै बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी मनाउनुपर्ने बताउनु भयो ।

मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय सदस्यहरु सहित उच्चस्तरीय पदाधिकारी, कुटनितिक नियोग, विदेशी पाहुनाहरुको समेत सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनमा प्रचार प्रसार व्यवस्थापन उपसमितिका संयोजक एंव कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनी सहित रामग्राम, कपिलबस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताउनु भयो ।

बुधबार ९ गते साँझ भारतीय दुतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ । मूल समारोहका दिन जेठ १० गते विहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्राथनासभा, विहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ ।

लुम्बिनीमा जेष्ठ १० गते बिहान नेपाल, भारत र श्रीलंका सम्म पुग्नेगरी त्रिदेशिय मोटरसाईकल यात्रा समेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताउनु भयो । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुर देखि रामग्राम सम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरुले सहकार्य गरेको जनाइएको छ ।

कोषले भगवान बुुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलबस्तुको कपिलबस्तु नगरपालिका सहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न यसै पत्रकार सम्मेलन मार्फत अपिल गरिएकोे छ ।पत्रकार सम्मेलन अघि लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनी प्रेस क्लब बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटक प्रवद्र्धनमा मिडियाको भूमिका बिषय अन्तरक्रिया कार्यक्तम गरेको थियो ।