शोक बिदा’

आफूले गर्ने, अरुलाई ‘नगर’ भन्ने



हेटौंडा ।

हेटौंडा उपमहानगर र नेपाल शिक्षक महासंघबीच शोकबिदाका विषयमा जुहारी चलेको छ ।
नगरका एक विद्यालयका कर्मचारी वा शिक्षकको मृत्युपश्चात चल्ने जुहारी निरन्तरदेखिकै हो । महासंघले विद्यालय शोकबिदा गर्न निर्देशन दिँदा उपमहानगर भने चुप बस्ने गरेकोमा यसपटक मेयर आफैं विरोध र निर्देशनमा उत्रिनुभएको छ । यसअघि उक्त विषयमा विवादसमेत हुने गरेको छ । महासंघले आफ्नो अडान छाडेको छैन ।

मंगलबार विहान ९ः३० बजे ‘हार्दिक समवेदना’ सहित सूचना जारी गर्दै ‘नियमित पठनपाठन गर्नगराउनू’ भन्दै नगरले सूचना जारी गरेको थियो । हेटौंडा उपमहानगर मेयर मीना लामाको हस्ताक्षरसहित सूचनामा भनिएको छ–हेटौंडा–३ नम्बर वडास्थित महेन्द्रकिरण माध्यमिक विद्यालयबाहेक अन्य विद्यालयमा पठनपाठन सञ्चालन गर्नगराउन अन्य विद्यालयहरुलाई अनुरोध छ । तर, शोकका कारण अन्य सामुदायिक विद्यालयहरुले आआफ्नो र सम्बन्धित विद्यालयमा शोकसभा गरी पठनपाठन बन्द गरे ।

यसअघि शिक्षा विकास महाशाखाका तर्फबाट यस प्रकारका सूचना जारी हुँदै आएकोमा मंगलबार विहान भने मेयरकै हस्ताक्षरबाट सूचना आएको थियो । नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिले भने उक्त दिन सबै सामुदायिक विद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम बन्द गरिदिन अनुरोधसहित सूचना प्रकाशन गरेको थियो । महासंघले सोमबार साँझ नै सूचना जारी गर्दै महेन्द्रकिरण माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी माइती थोकरको असामयिक निधन भएको जनाएको थियो ।

जसका कारण उक्त विद्यालयमा श्रद्धाञ्जलीसभा राखिएको भन्दै सबै शिक्षक र कर्मचारीलाई उपस्थित हुन महासंघ अध्यक्ष दीपक अधिकारीले हस्ताक्षरसहित सूचना जारी गरे । फरक पत्रका कारण विद्यालयहरु अन्यौलमा परे । महासंघले अघिल्लो दिन सूचना जारी गरेकाले उक्त सूचनालाई आधार मानेर विद्यालयहरुका पठनपाठन बन्द गरिएको बताएको छ ।

नगरपालिकाले भने २०५८ चैत १ देखि कार्यरत सफाइ कर्मचारी गुणमाया पोडेको बैशाख २१ गते राति निधन भएको भन्दै कार्यालयपरिसरमा शोकसभा गरी एक दिन नगरपालिका, सबै १९ वटै वडा कार्यालय र मातहत कार्यालयको समेत नियमित कामकाज बन्द रहने सूचना जारी गरी ती सबै कार्यालयहरु बन्द गरेको थियो ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले हेटौंडा उपमहानगरले विद्यालयसँग लिखित जवाफ माग गर्ने बताए । यसअघि पनि उक्त विषय उठान भए पनि समन्वय नहुँदा उक्त विषय दोहोरिने गरेको उनले दाबी गरे । आगामी दिनमा प्रधानाध्यापक बैठकमा गम्भीरतारुपमा लिएर कडा कारबाही गर्ने चेतावनी न्यौपानेले दिए ।

जेठ २ गते दुर्घटनाबाट परेर हेटौंडा–१३ स्थित फेमकल बोर्डिङ स्कुलका प्रधानाध्यापक केशब मुडभरीको निधन भएको भन्दै शोकमा भोलिपल्ट सबै संस्थागत विद्यालयले पठनपाठन बन्द गरेका थिए । उपमहानगरभित्र ७२ वटा सामुदायिक र ४८ वटा संस्थागत विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्