प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका वातावरणमन्त्रीबीच भेटवार्ता



काठमाडौँ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बाङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच विद्युत व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–बङ्गालादेशबीच हुने विद्युत व्यापार गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गरे । आगामी दिनमा विद्युत व्यापार क्षेत्रीयस्तरमै सहजरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकोप्रति खुशी व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र बङ्गालादेश दुवैले जलवायु परिवर्तन असर व्यहोर्नु परेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

बङ्गालादेशका मन्त्री चौधरीले नेपाल–बङ्गदादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै छिट्टै ऊर्जा व्यापार भएर दुवै देशले लाभ लिन सक्ने अवस्थामा पुगिएको बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई नेपाल–बङ्गलादेशबीच हुने ऊर्जा व्यापारका सबै तयारी पूरा भएको जानकारी समेत गराए ।

मन्त्री चौधरी नेपालले आयोजना गरेको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा भाग लिन नेपाल आएका हुन् ।

सो भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटा, प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार डा.पपुलर जेन्टलसहित वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्