निर्माण कम्पनीले उपकरण नथप्दा कार्य प्रगति सुस्त

434
Shares

नवलपरासी।

देशकै गौरवको आयोजना बुटवल नारायणगढ सडक निर्माण एवं बिस्तार कार्यमा आलटाल प्रवृत्ति देखिएको छ ।
सडक बिस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड, बेईजिङ्गले निर्माण क्षेत्रमा आवश्यक उपकरण नथप्दा कार्य प्रगति सुस्ताएको प्राविधिकहरू बताउँछन् ।

अहिले निर्माण स्थल दुम्किबास क्षेत्रको एकाध ठाउँमा केही थान रोलर, एक्स्काभेटर र ग्रेडरले बाटो उधिन्ने, सम्याउने र मिलाउने गरेको देखिन्छ ।अरूणखोला जंगलको गडारखोला छेउ पनि एक सेट  उपकरणकै भरमा निर्माण कम्पनीले काम चलाएको छ ।
चोरमारा उकालो, थुम्सी जंगल,गैडाकोट बजारको पनि निर्माण अवस्था र यन्त्र उपकरणको परिचालन नाम मात्रकै रहेको स्थानीयको भनाई छ ।
यस सम्बन्धमा निर्माण व्यवसायीका प्रोजेक्ट म्यानेजर राकेश झा कम्पनीका तर्फबाट आफुहरू केही नबोल्ने सबै कुरा सडक आयोजनाले नै बताउने भन्दै पन्छिने गरेका छन् ।

समयमा सडक निर्माणको काम सकियोस् भनी पछिल्लो पटक थप गरिएको म्याद पनि आउदो साउन ८ गतेबाट सकिने सडक  आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनाल बताउँछन् ।

खनालका अनुसार हाल सम्म सडक निर्माणको भौतिक प्रगति झन्डै आधा आधिनै जस्तो ५१ प्रतिशत मात्रै रहेको छ । कामको गति बढाउन ताकेता भइरहेको छ, करिब १ महिना पछि त मनसुन सुरु भइहाल्छ यही महिनामै धेरै काम सक्नु पर्ने खनालको भनाई छ ।
खनालका अनुसार देवचुली क्षेत्रमा केही साना कल्भर्ट बनाउन र बिद्युत् पोल हटाउँदा समय लागे पनि जयश्री, मुकुण्डे, बौलाहा र लोकाहा खोला पुल यसै पटक सञ्चालनमा आउनेछन् ।

निर्माणकै क्रममा पनि सम्पन्न भई सकेका साना कल्भर्ट तथा ठुला पुललाई कालो पत्रसंगै नजोडेर त्यसै छाडि दिँदा पनि सडक यात्रामा असहजता हुनुका साथै निर्माण कार्यमा तालमेल नदेखिएको सरोकारवालाहरू बताउँछन् ।
अर्को तर्फ निर्माण कम्पनीले काममा ढिलाइ गर्नुमा रकम अभाव मुख्य कारण बताइ रहँदा यात्रुले भने धुलै धुलो र खाल्डै खाल्डाको कष्टकर यात्रा गर्नु परि रहेको छ ।
थपिएको समय सीमा अघिनै नारायणगढ देखि दुम्किबास सम्म एक तर्फी काम सक्ने लक्ष्य लिएको निर्माण कम्पनीको हालको गति हेर्दा उदेक लाग्दो रहेको छ ।
यहाँको करिब ४० किलोमिटर सडकमा प्रारम्भिक कालोपत्र भएको देखिए पनि गैडाकोट,चोरमारा(अरूणखोला जंगलखण्ड,अरूणखोला(दाउन्ने सडक खण्डमा सवारी र यात्रुलाई ज्यादा सास्ती हुने गरेको कावासोती १७ का सन्तोष सिग्देलले बताए।
ठेक्का सम्झौता मितिले ४२ महिना भित्र निर्माण कार्य सक्ने   गरी सन २०७५ चैत महिनामा बुटवल नारायणगढ सडक बिस्तार योजनाको शिलान्यास गरिएको थियो ।
सम्झौता बमोजिम सडक बिस्तारको काम सकेर १ वर्ष भित्र निर्माण चरणमा भएका गल्ती सच्याउने तथा ४ वर्ष मर्मत सम्भार गर्ने दायित्व निर्माण कम्पनी रहेको छ।
निर्धारित समयसीमा भित्र निर्माण कम्पनी चाइना स्टेटले १२ भदौ २०८० काम सक्ने गरी ३ सय ८६ दिनको पहिलो पटकका लागि थप म्याद पाएको थियो ।
थपिएको म्यादमा पनि कम्पनीले खासै काम नगर्दा पुनस् ८ साउन २०८१ निर्माण सक्ने गरी दोश्रो पटक ३ सय ३० दिनका लागि थपिएको म्यादमा पनि कामको गति सुस्तको सुस्तै देखिएको बताइन्छ ।

सरकारको इच्छाशक्ति देखिएन

यसै विषयमा पार्टी कामले नवलपुर क्षेत्र आएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सडक निर्माणको गति र जनताले भोगेको कष्टलाई ओैल्याउदै यसमा सरकारको इच्छाशक्ति नदेखिएको बताए ।

भट्टराईले सरकार प्रमुखले चाहने हो भने उत्पन्न सबै बाधा पन्छाएर पनि सडक निर्माणले द्रुतगति लिने दाबी गरे ।
यस्तै सरकारमा नहुँदा सडक निर्माणको गति बढाउन दबाब दिने उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको ध्यान सरकारमा पुगेपछि थप आकृष्ट हुन नसकेकोमा भने स्थानीयले आश्चर्य व्यक्त गरेका छन् ।