त्रिवि उत्तरपुस्तिका प्रकरण: परीक्षा नियन्त्रक जोशीसहित ७ जनालाई कारबाही गर्ने अन्तिम तयारी



  • परीक्षा नियन्त्रक पुष्पराज जोशी- त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ५६ आकर्षित हुने र पर्याय आधारसहित  नियमको परिच्छेद ५७ को व्यवस्था बमोजिम पदबाट बर्खास्त
  • सह नियन्त्रकद्धय सुरेशजंग शाही र पवन बराल,  शाखा अधिकृत शम्भु दाहाल, नायब सुब्बा एवं गोप्य शाखा प्रमुख दीपक पाण्डे, कर्मचारीद्धय नारायणप्रसाद न्यौपाने र चन्द्रप्रसाद जोशी– त्रिविको शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम परिच्छेद १० को नियम ८२ बमोजिम 

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित ७ जनालाई कारबाही गर्ने अन्तिम तयारी गरेको छ। त्रिविका पूर्वरजिस्टार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा कारबाही गर्ने तयारी गरेको हो।

कार्यकारी परिषद्को गएको चैत १५ गते बसेको बैठकले त्रिविका पूर्वरजिस्टार प्राडा पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।

उपकुलपति प्राडा बराललाई बुझाएको प्रतिवेदन हालसम्म गोप्य छ। सोही प्रतिवेदन अध्ययन गरेपछि त्रिविका पदाधिकारी कारबाही गर्ने तयारीमा पुगेका हुन्।

कारबाही प्रक्रिया शुरू गर्नुअघि कारबाहीको सिफारिस गरेका परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रकद्वय सुरेशजंग शाही र पवन बराल, शाखा अधिकृत शम्भु दाहाल, नायबसुब्बा एवं गोप्य शाखा प्रमुख दीपक पाण्डे, कर्मचारीद्वय नारायणप्रसाद न्यौपाने र चन्द्रप्रसाद जोशीलाई कारबाही गर्ने तयारी गरेको हो। तर, के कारबाही गर्ने भन्ने विषय टुंगिएको छैन। समितिले हिजो आइतबार सबैलाई स्पष्टीकरण सोध्न रजिस्टार कार्यालयमा बोलाएको थियो।

स्रोतका अनुसार प्रतिवेदनमा परीक्षा नियन्त्रक जोशीलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ५६ आकर्षित हुने र पर्याय आधारसहित नियमको परिच्छेद ५७ को व्यवस्था बमोजिम पदबाट बर्खास्तसम्मको कारबाही सिफारिस गरेको छ।

सहपरीक्षा नियन्त्रक शाही र बराल, गोप्य शाखा प्रमुख पाण्डे र दाहाल, कर्मचारी न्यौपाने र जोशीलाई त्रिविको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम परिच्छेद १० को नियम ८२ बमोजिम कारबाही गर्नुपर्ने उल्लेख छ। सहायक प्रशासक भोजराज भट्ट, उप–प्रशासक निलम पोखरेललाई समितिले नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न त्रिविलाई पत्र पठाएको छ।
कारबाही गर्नुअघि पदाधिकारीले हिजो नियन्त्रक र ६ कर्मचारीसँग सोधपुछ गरेको थियो।

सोधपुछ रजिस्टार कार्यालयको हलमा भएको थियो। सायद यस्तो गम्भीर विषयमा रजिस्टार कार्यालयमा सोधपुछ भएको थिएन, पहिलोपटक भएको स्पष्टीकरणमा नियन्त्रक जोशीसहितका सातै जनाको उपस्थिति थियो। ‘बिहान करिब साढे १० देखि छलफल भएको थियो, साढे १ बजे सकियो’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

त्रिविका परीक्षा प्रमुखसमेत रहेका रजिस्टार प्राडा रिजालले दुई पदाधिकारी निस्किएपछि पनि निरन्तर छलफल जारी राख्नुभएको थियो। त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले समितिले दिएको सुझावको आधारमा कारबाही गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो–‘नियमले के भन्छ, सिफारिस कुन आधारमा छ सोहीअनुसार कारबाही हुनेछ।’

कारबाही गर्नुअघि कार्यकारी परिषद्को बैठक वस्नुपर्ने व्यवस्था छ। कार्यकारी परिषद्मा उपकुलपति प्राडा बरालको अध्यक्षतामा तीन पदाधिकारी, दुई–दुईजना प्राध्यापक र डीन रहने व्यवस्था छ। कार्यकारी परिषद्को बैठकले कारबाहीको निर्णय गर्नेछ। सायद आज वा भोलिभित्र कार्यकारी परिषद्को बैठकले कारबाही गर्नेछ।

हालसम्म अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको १ सय ६५ बढी उत्तरपुस्तिका हराएपछि समिति गठन गरेको थियो। त्यसअघि २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय र शिक्षा शास्त्र संकायतर्फको शिक्षाको आधार विषय पुस्तिकाहरू हराएको थियो।

हराएको विषयमा परीक्षा चैत २१ गते भएको थियो। पनिकाको निरन्तर परीक्षामा लापरबाहीपछि त्रिविले एक्सन लिएको हो। त्रिविले नियन्त्रक जोशीलाई कारबाही गर्न सक्छ वा सक्दैन चुनौतीको विषय भएको कर्मचारीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्