चट्याङ लागेर एक जनाको मृत्यु



उदयपुर ।

आइतबार बिहान करिब तीन बजेदेखि हावा हुरीसहित परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ भने ३९ लाख ११ हजारको क्षति भएको छ ।

आइतबार बिहानी पख चट्याङ पर्दा उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची घर भएका हरि बहादुर तामाङकी श्रीमती ५३ वर्षिय चन्द्री तामाङ परियारको मृत्यु भएको हो । र उनकी ७ वर्षीय छोरीलाई चट्याङबाट खुट्टामा समान्य चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक राजन चापागाईका अनुसार राती अक्स्मात परेको चट्याङ मृतकको घरसँगै रहेको रिठ्ठाको रुखमा परेको थियो । सो रुखसँगै कपडा सुकाउन विद्युतीयतार बाँधेको र सो तारमा जोडिएर घरमा राखेको विद्युतको मीटर बक्सको तार जोडिएकोले करेन्ट प्रवाह भएर उनको मृत्यु भएको हो ।

रौतामाई गाउँपालिका ७ नं वडाध्यक्ष मनोज कुमार मगरले पनि चन्द्रीमाया तामाङ परियारको चट्याङ लागेर मृत्यु भएको जानकारी दिंदै मृतकको छोरी सामान्य घाइते भएको बताए । वडाध्यक्ष मगरले पहिले रिठ्ठाको रुखमा चट्याङ लागेको र सो रुखमा कपडा सुकाउन विद्युतीय तार बाँधेको थियो । उक्त तार र मीटर बक्समा लगेको तार जोडिएका कारण करेन्ट प्रवाह हुँदा मिटर बक्स समेत जलेर नष्ट भएको र सोही करेन्द लागेर चन्द्रीमायाको मृत्यु भएको छभने निजको घरमा समेत क्षति पुगेको बताए ।

यता जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार आइतबार बिहान आएको हावाहुरीका कारण उदयपुरको त्रियुगा नगरपालिका विभिन्न वडामा गरी जम्मा ५० जनाको घरमा ३९ लाख ११ हजारको क्षति भएको छ । जिल्लाका अन्य पालिकामा भएको क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको र इलाका प्रहरी कार्यालय जलजलेको हातामा बनाइएकामे मोटर ग्यारेजको छाना पनि हावाहुरीले उडाएको सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक चाँपागाईले बताए ।

हावाहुरीका कारण त्रियुगा नगरपालिका भित्रका वडा नं ३,४,५,६,७,८,,१०,१३ नं वडाका अधिकांश घरहरुमाथि लगाइएको टिनको छाना भएको कृषि फर्म, गाईगोठ, भान्साघर, आवासीय घरको छाना उडाएको छ । र त्रियुगा नगरपालिकामको ३ नं तथा ८ नं वडामा घरहरु बढी क्षती भएको छ भने जिल्लाका अन्य ठाउँबाट क्षतिको विवरण प्राप्त हुने क्रम जारी रहेको सूचना अधिकारी चापागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्