बुद्धको मावली क्षेत्र देवदहमा बुद्धजयन्तीलाई उत्सवमयका रुपमा मनाउने



बुटवल ।

२५६८ औं बुद्धजयन्ती भगवान बुद्धको मावली क्षेत्र देवदहमा बुद्धजयन्तीलाई उत्सवमयका रुपमा मनाउने निर्णय भएको छ । बुद्धजयन्तीलाई सप्ताहव्यापी रुपमा मनाउने बताईएको छ । लुम्बिनी विकास कोष सहित देवदहमा रहेका विभिन्न बुद्धसँग सम्बन्धित संघसंस्थाहरुले संयुक्त रुपमा बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउने भएका हुन् ।

लुम्बिनी विकास कोषद्धारा गठित रामग्राम देवदह समन्वय उपसमितिको देवदहमा बसेको बैठकले सरसफाई, नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, यशोधरा उत्सव एंव दीप्रज्वलन गर्ने निर्णय गरेको हो । कोषका कोषाध्यक्ष एंव उपसमितिका संयोजक सिद्धिचरण भट्टराईले बौद्धसंघसंस्थाहरु सहितको बैठकले देवदहमा बुद्धजयन्तीलाई उत्सवमय बनाउने निर्णय गरिएको जानकारी दिनु भयो ।

बैठकले जेठ ८ गते विहान ७ बजे देवदहका बुद्धसँग जोडिएका क्षेत्रहरुमा सरसफाई, विहान ११ बजेदेखि नगरस्तरीय बुद्धमावली र देवदह बिषयक वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो । बुद्धको मावलीका रुपमा चिनिएको देवदहमा बुद्धजयन्तीका दिन बौद्ध स्थल र घरघरमा दीप प्रज्वलन गर्ने समेत निर्णय भएको कोषाध्यक्ष भट्टराईले बताउनु भयो ।

यस्तै जेठ ९ गते देवदह नगरपालिका, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका संस्थाहरुसँग सहकार्यमा देवदहमा बुद्धजयन्ती समारोहमा सहकार्य र सहभागी हुने एवं जेठ १० गते लुम्बिनीमा हुने मूल समारोहमा देवदहबाट प्रतिनिधित्व गर्ने निर्णय भएको लुम्बिनी विकास कोष देवदह सम्पर्क कार्यालयका प्रमुख दामोदर सापकोटाले बताउनु भयो ।

बैठकमा लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, देवदह नगरपालिका वडा न. ८ का वडाअध्यक्ष हरि पाण्डे, देवदह धर्मोदय सभाका अध्यक्ष टेकबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्