समाचार प्रभाव

वडाको सक्रियता, उपभोक्तामा जागरणकाे सर्वपक्षीय बैठक



धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३, ४, १२ र २ का उपभोक्ताले पिउने पानी समस्या भोगिरहेको इन्सेक अनलाइनमा समाचार प्रकाशनपछि वडा कार्यालय र उपभोक्ताको सक्रियतामा सर्वपक्षीय बैठक राखेको छ ।

धादिङबेसी खानेपानी उपभोक्ता समितिको विवादपछि अदालतमा मुद्दा परेर निर्णय नभएको, सहलगानीकोषको ठेक्कामा ठेकेदारले ढिलासुस्ती गरेको, मुहानबाट ल्याएको पानी चुहावट भएपछि धादिङबेसी बजार क्षेत्रमा खानेपानी आउन छाडेको हो ।

पानी नपाएका ३ हजार १० उपभोक्ताले अनेकन समस्या भोगिरहेको र पुछारबजार क्षेत्र, सिपानी क्षेत्र, साङकोषको केही क्षेत्रमा लामो समयदेखि धारोमा पानी आउन छाडेकोले समस्या समाधान गर्नका लागि उपभोक्ताको दवावमा वडाले सर्वपक्षीय बैठक गरेकोले समस्या समाधान गर्न आफै जागरण थालेको पीडित उपभोक्ता सावित्री कँडेलले बताए  ।

स्थानीय राजनीतिक दल, उपभोक्ता र विवादित दुई उपभोक्ता समिति समेतको सहभागितामा नीलकण्ठ नगरपालिका वडा नम्बर २, ३, ४ र १२ का वडा अध्यक्ष सहभागी थिए । ७ सय ५० घरलाई भनेर हालिएको पाईपलाइनबाट बजारमा वितरण गर्दा पानी मुहानमा ठुलो भएपनि अभाव भएको विवादमा परेको उपभोक्ता समिति कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले बताए । २०७१ सालमा गणेशकुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको उपभोक्ता समितिलाई ३ वर्ष अघि नगरपालिकाले विघटन गरि राजेन्द्र अधिकारीलाई ०७७ कात्तिक २१ गते अध्यक्ष बनायो ।

नगरपालिकाले बनाएको समिति बैधानिक कानुन विपरित भएको भन्दै विघटित समितिको तर्फबाट कोषाध्यक्ष हरीबहादुर श्रेष्ठको अगुवाइमा पुनरावेदन अदालत हालेको मुद्दामा ०७७ मंसिर १४ गते नगरपालिकाको कात्तिक २१ गतेको निर्णय कार्यान्वयन नगर्नु भन्ने स्टे अडर गरेपछि खानेपानी विवाद बढेपछि उपभोक्ता समस्यामा परेको हो । नेपाल समाचारपत्र दैनिकमा ०८१ बैशाख २८ गते धादिङबेसीमा खानेपानीको अभावू शिर्षकमा समाचार प्रकाशन भएको थियो ।

उपभोक्ताको दवाव र समाचार प्रकाशनले गर्दा समस्या समाधान गर्न आयोजना गरिएको सर्वपक्षीय बैठकले नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा खानेपानी समस्या समाधान सरोकार समिति गठन गरिएको छ । समितिमा वडा अध्यक्षहरु वडा नम्बर २ का ध्वजबहादुर गुरुङ, ४ का हरिबहादुर श्रेष्ठ, वडा नम्बर १२ का राजकुमार भण्डारी सहित उपभोक्ताहरु समितिमा राखिएको छ ।

समितिले जेठ महिनाभित्र नगरपालिकासंग समन्वय गरि ठेकेदारलाई छिटो काम लगाएर वा बैकल्पिक व्वस्था गरेर खानेपानी व्यवस्थापन गर्ने, कानुनि परामर्श गरि उपभोक्ता भेला गर्ने जिम्मा दिएको छ । सहलगानी कोषले २९ करोड ४० लाख ठेक्कामा काम गर्न सगुन कन्स्ट्रक्सनले गरेको काम समय सकिन लाग्दा पनि २२ प्रतिशतमात्र काम गरेर ढिलाई गरिरहेको वडा अध्यक्ष राजकुमार श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्