सत्ता छाडेपछि कांग्रेस पीडामा छटपटाइरहेको छ : अध्यक्ष ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सत्ता छाड्नु परेको पीडामा छटपटाइरहेको बताएका छन् ।

नेकपा एमाले पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित नेतृत्वको शपथग्रहण कार्यक्रमलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै ओलीले कांग्रेसले सत्ताबाट हट्नु परेको पीडित पोख्दै हिँडेको बताए ।

त्यसैको उदाहरण बिहीबार प्रतिनिधि सभा भित्रको घटना भएको ओलीले प्रष्ट पारे । ‘कांग्रेसले सरकारबाट बाहिरिनु पर्दाको पीडा पोखेर कराइरहेको छ’, ओलीले भने । कांग्रेसले संघीय संसद् अवरुद्ध गर्नुको कारण पनि सत्ता छाड्नु परेकै पीडाको अभिव्यक्ति भएको ओलीले बताए । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा मुछेर आरोप लगाउने तर त्यस विषयमा स्पष्ट पार्न बोल्न नदिने कांग्रेसको व्यवहार अलोकतान्त्रिक भएको उनको भनाइ छ । ‘कांग्रेस आरोप लगाउँछ, संसदमा बोल्छु भन्दा बोल्न दिँदैन’, उनले भने ।

सरकारको नीति तथा कार्यक्रम माथि छलफल गरी समयमा नै बजेट पास गरेर कार्यान्वयन गर्नुपर्ने भएकोले संसद्को अवरोध सह्यै नहुने ओलीले स्पष्ट पारे । कांग्रेसले रोकेर अब संसद् बैठक नरोकिने उनले बताए। ‘हामी संसद् चलाउँछौँ, उसले संसद् चाहिँदैन भन्ला रे हामी मान्छौँ त रु’, ओलीले भने।

कांग्रेसले माने पनि नमाने पनि जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याइने ओलीले बताए । ‘कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद् चलाउँछौँ, नीति तथा कार्यक्रम पास गर्नुपर्छ, देशलाई बजेट दिनै पर्छ’, उनले भने । कांग्रेसको कुण्ठाको कारण देशलाई नै ठप्प पार्न नसकिने ओलीले बताउनुभयो । कांग्रेसले जे जे भन्यो सत्ता पक्षले त्यही त्यही मान्न नसक्ने र मान्नु पनि नपर्ने ओलीले बताए ।

संसद् चल्न नदिने र संसदीय गतिविधिलाई अघि बढ्न नदिने कांग्रेस आफ्नो विरुद्ध बेइमानीपूर्ण आरोप लगाउँदै हिँडेको ओलीले बताए । अहिले कांग्रेसले ओलीले संसद् विघटन गर्ने ठाउँमा पुर्‍यायो भनेर बेइमानीपूर्ण कुरा गरेको भन्दै ओलीले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्