त्रिविको ढिलाइविरुद्ध विद्यार्थीको विरोध

532
Shares

हेटौंडा ।

हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा अध्ययनरत् विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको लापरबाहीविरुद्ध विरोध जनाएका छन् । परीक्षाको नतिजा थाहा पाउन १८ महिनासम्म कुर्नुपर्ने विद्यार्थीले परीक्षा दिन पढाइ सकिएको १२ महिनासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।

नेपाल विद्यार्थी संघ हेटौंडा क्याम्पस एकाईं समितिले शुक्रबार गरेको कार्यक्रममा शैक्षिक प्रणाली सुधार, देशमै बस्ने वातावरण सिर्जना, शैक्षिक माफिया र विद्यार्थीको माग पूरा गर्न भन्दै विरोध जनाइएको हो । त्रिभुवन विश्वविद्यालयले समयमा परीक्षा नलिने र समयमै परीक्षाको नतिजा प्रकाशन नगरेपछि विदेश पलायन दर बढेको भन्दै विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल विद्यार्थी संघ हेटौंडा क्याम्पस एकाई समिति सभापति युवराज बिश्वकर्माले माग पूरा नभए चरणबद्धरुपमा देशभर आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा लिएको १३ महिना भइसकेको छ । तर, हालसम्म नतिजा सार्वजनिक गर्न सकेको छैन । जसविरुद्ध विद्यार्थी अब आन्दोलनमा उत्रिन सुरु गरेको बताइएको छ ।

नेपाल विद्यार्थी संघ मकवानपुरका कार्यबाहक अध्यक्ष सन्तोष चौलागाईंले विद्यार्थी पलायन गर्न यस्तो रणनीति सरकारले अपनाएको आरोप लगाउनुभयो । ‘त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराउनेदेखि नतिजा प्रकाशन गर्न नसक्नु इच्छाशक्ति नहुन हो,’ उहाँले अब विद्यार्थी एकजुट भएको बताउनुभयो । हेटौंडा क्याम्पसबाट सुरु गरिएको अभियानले विद्यार्थीको माग सुनुवाइ गर्न सकिन्छ भन्ने प्रश्नमा सबैको साथ र सहयोगले अवश्य पनि माग पूरा हुने विश्वास लिइएको विद्यार्थी नेताहरुको कथन छ ।

पहिलो चरणको कार्यक्रम सकिएपछि क्याम्पसमा स्ववियु र प्रशासनले विभिन्न शीर्षकमा लापरबाही गरेको भन्दै ७ बुँदे ध्यानाकर्षणपत्र बुझाइएको छ । त्रिभुवन विश्वविद्यालयले २०८० बैशाखमा भएको स्नातक तह प्रथम वर्षको परीक्षा नतिजा एक वर्ष बितिसक्दा पनि सार्वजनिक गर्न सकेको छैन । नतिजा कुर्दै तीन वर्षे स्नातक कार्यक्रममा विद्यार्थी पढिरहेका छन् ।

त्रिविले विश्वबैंकको सहयोगमा उच्चशिक्षा परियोजनामा सन् २०२० सम्म सबै तहको परीक्षाको नतिजा तीन महिनाभित्र प्रकाशन गर्ने सहमति गरेको छ । अनि, विद्यार्थी रजिष्ट्रेसनलगायत सम्पूर्ण विवरण परीक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा राख्ने कार्य लागु गरिसकेको छ ।