सञ्चालकहरूको लापरबाहीको शिकार सहकारी अभियान बन्यो : मुख्यमन्त्री अधिकारी

98
Shares

कास्की ।

 गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरबाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा शुक्रवार आयोजना गरिएको ‘साकोस जोखिम विश्लेषण कार्यशाला’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नियामक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने उनको भनाई छ । आर्थिक नियमको उल्लङ्घन गर्ने सञ्चालकले नै सहकारी क्षेत्रमा समस्या ल्याइदिएको उनको दाबी छ । ‘कहिले व्यवस्थापकले सञ्चालकको काम गरिदिएको हुन्छ, कहिले सञ्चालकले व्यवस्थापकको काम गरिदिएको हुन्छ, कहिलेकाहीँ लेखा सुपरिवेक्षण नै नाम मात्रको हुन्छ’ उनले भने ।

सहकारी अभियान समाप्त भयो भने संविधान नै अपूरो हुने भन्दै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै ठिक अवस्थामा राख्नको लागि सबैले ध्यान पुर्‍याउनुपर्ने अधिकारीले बताए ।

‘सहकारी अभियान समाप्त भयो भने संविधान नै अपुरो हुन्छ, त्यसतर्फ सेयरसदस्य, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म र हामीसम्म सबैले ध्यान पुर्‍याउनै पर्ने विषय छ’ मुख्यमन्त्री अधिकारीले थपे ।

सहकारी क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भएको कारण लगानी सही ठाउँमा हुन नसकेको र दोहोरोपना देखिएको खुलाए ।
‘सेयर सदस्यलाई थाहा छैन, आउनुहोस् ऋण दिइहाल्छु भन्यो, अस्वस्थ प्रतिस्पर्धा देख्छु म’ उनले भने । सेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्नेमा उनको जोड छ । नयाँ प्रवर्तनका कामहरु रोजगारी सिर्जनाका कामहरु संस्थाले गरेको छ छैन भन्नेमा सेयर सदस्यको चासो हुनुपर्नेमा उनको जोड थियो । ‘बोनस बाँड्ने काम हुन्छ, पोहोर घट्यो अहिले बढ्यो भन्ने बाहेक सेयर सदस्यलाई धेरैँ चासो हुँदैन, कहिलेकाहीँ ब्यानर टाँसेर घुमाइन्छ, के-के भइरहेको छ भन्ने चासो पनि छैन’ उनले भने ।

सञ्चालकहरूको लापरबाहीको शिकार पोखराको सहकारी अभियान भइरहेको भन्दै सहकारीबाट अर्बौँको रकम अपचलन भएको कारण राजनीतिक वृत्तमा पनि ठुलो चुनौती खडा गरेको सुनाए । राजनीतिक तहमा सहकारीको बारेमा नबुझ्नेहरु हुँदा समेत समस्या भएको नेकपा (एमाले) को स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले बताए । सहकारी क्षेत्रमा देखिएका जोखिम पत्ता लगाउन नेफ्स्कुनले तयार पारेको इन्डीकेटरले कतिको काम गर्छ आफूले हेरिरहेको उनको भनाई थियो । यथार्थ विवरण सहित सहकारीमा देखिएका समस्याको समाधान गर्न कार्यशालाले सघाउने विश्वास उनको छ ।

सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यशालमा नियमित अनुगमन नभएका ३२ वटा संस्थाको प्रतिनिधित्व रहेको नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । २०४५ सालमा स्थापना भएको नेफ्स्कुन ७६ जिल्लामा फैलिएको छ । यसका ४ हजार ६ सय ५० जना प्रत्यक्ष सदस्य रहेका छन् ।