शिक्षक व्यवस्थापन समन्वय शाखाले माग्यो प्रगति विवरण 



काठमाडौँ।

शिक्षक व्यवस्थापन समन्वय शाखाले राजनीतिक दलको सदस्यता लिएका, दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीहरुको  कारबाही प्रक्रियाबारे विवरण माग गरेको छ।

राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाइलाई यसअघि पत्राचार गरेको थियो।

सोही बमोजिम बुधबार केन्द्रले देशभरका ७७ वटै पत्राचार गर्दै जिल्लामा हालसम्म भएको प्रगतिको विवरण पठाउन माग गरेको हो।

‘ राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीहरुलाई प्रचलित कानुन बमोजिम के कस्तो कारबाही प्रक्रिया अघि बढाइएको छ भन्ने विषयका साथै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षकहरु छन् र ती मध्ये कति शिक्षकहरुलाई पदाधिकार रहेको विद्यालयमा फिर्ता गर्ने व्यवस्था गरिएको छ सो सम्बन्धमा हालसम्मको प्रगति विवरण यो पत्र प्राप्त गरेको मितिले १५ (पन्ध्र) दिनभित्र यस केन्द्रमा उपलब्ध गराउनु हुन मिति २०८१ ।०२।०२ को निर्णयानुसार अनुरोध छ ।’ केन्द्रका निर्देशक नारायण प्रसाद पोख्रेलले बुधवार जारी गरेको पत्रमा उल्लेख छ।

 

 

प्रतिक्रिया दिनुहोस्