विपन्न एकल महिलालाई घर



हेटौंडा ।

मनहरी गाउँपालिकाका ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाका लागि टुकी फाउन्डेसनले बनाएको घर बिहीबार हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवम् वागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले टुकी फाउन्डेसनले निर्माण गरेको भुकम्प प्रतिरोधात्मक ४ वटा घर चेपाङ समुदायका एकल महिलालाई हस्तान्तरण गर्नुभएको हो । तालाचाबी दिएर घर हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य बानियाँले फाउण्डेसनले मनहरी गाउँपालिकाको समन्वयमा अतिविपन्न चेपाङ समुदायका एकल महिलालाई घर बनाइदिएर अनुकरणीय कार्य गरेको बताउँदै आउँदा दिनहरुमा पनि मकवानपुरका विकट क्षेत्रमा विपन्न परिवारलाई घर बनाएर सहयोग गर्न आग्रह गर्नुभयो ।

नेता बानियाँले मजदुरी गरेर जीविका चलाउनुपर्ने गरिव, अतिविपन्न तथा एकल महिलाहरु पक्की घर भएपछि हावाहुरी आउँदा र पानी पर्दाको समयमा सुरक्षित भएर बस्न पाउने बताउँदै अब विपन्न परिवारहरुलाई सिपमूलक तालिमका साथै रोजगारीको अवस्था सिर्जना गर्न प्रदेश सरकारसँग समन्वय गरेर गाउँपालिका लाग्नुपर्ने बताउनुभयो ।

टुकी फाउन्डेसनले मनहरी गाउँपालिका ४ नयाँबस्ती, ६ को प्रतापपुर र नयाँबस्ती, मनहरी ८ सिम्पानीका एकल महिला सानुमाया प्रजा, सबिता प्रजा, प्रबिना प्रजा र जातिमाया प्रजालाई सुरक्षित आवास बनाएर हस्तान्तरण गरेको हो । फाउण्डेसनले प्रत्येक एकल महिलालाई करिब ८ लाख बराबरको सुरक्षित घर, शौचालय र ३० हजार बराबरको बाख्रा र गोठ निर्माण गरिदिएको फाउण्डेसन अध्यक्ष सावित्री रजालीले बताउनुभयो ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेस महासमिति सदस्यहरु राजेश भेटवाल र जनकराज उप्रेती, मनहरी गाउँपालिका पार्टी सभापति प्रकाश बर्तौला, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य मिलन पुडासैनी, मनहरी ४ का वडा अध्यक्ष प्रकाश थापा, ८ का वडा अध्यक्ष नारायण उप्रेती, वडा सदस्य मीरा खत्री, समाजसेवीहरु सीताराम बर्तौला, विदुर थापा, भीमसेन लामा, लक्ष्मण कार्कीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्