काठमाडौँकी श्रेया गिरी फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा



काठमाडौँ।

काठमाडौंकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एसियाबाट छनौट भएकी छन् ।

फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एसियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् ।

२८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् ।

लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महाव्याधी सुरु भयो । यहीक्रममा उनले मानसिक स्वास्थ्य समस्या व्यहोरिन् ।

तर कोभिडको बेला अनलाइनबाट मानसिक परामर्श लिने कुनै सुविधा थिएन । अध्ययन सकेर नेपाल फर्किएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेकी हुन् । मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्न नेपाल फर्किएकी गिरीले सुरु गरेको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल रूपमा मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आएको छ ।

यो भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो । संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिन्छ ।

प्रतिक्रिया दिनुहोस्