भाषाको बगैँचा र रस–मर्मज्ञ राजनीतिक भ्रमरहरु

752
Shares

नेपालको तीन नम्बर प्रदेशमा प्रदेश सरकारले राष्ट्रिय दुई भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न पाउने गरी निर्णय प्रतिपादन गरेको खबरले अहिले नेपालको आकाश दङ्ग परेको अवस्था मनोगत भइरहेको छ। राष्ट्रमा जनताले बोलिआएको भाषा राष्ट्रिय सम्पदा हो।

राष्ट्रिय सम्पदाले राष्ट्रिय कामकाज तथा कारोबारमा सम्मानित स्थान पाउनु निश्चय पनि रमाइलो खबर हो । यस्तो खबर उत्पादन गरेर नेपालका विभिन्न भाषाका मर्मज्ञ र रसज्ञ राजनेताहरुले ऐतिहासिक चमत्कार गरेका छन्। साँच्चिकै रमाइलो भएको छ । यो रमाइलो स्वाभाविक मात्र छैन, बहुआयामिक पनि छ। एउटा ढोका उघार्दा धेरै ढोका उघारिने बहुआयामिकता छ यसमा । यस्तो सौभाग्य थोरै मात्र अवसरले पाउने गर्छन्।

जुन भाषाले सरकारी भाषाको मान्यता पाए ती त गडेरीगम्म भए नै । तिनका वक्ता, लेखक र दोभाषेहरुले पनि जगमगाउने अवसर पाए । रोजगारीको नयाँ ढोका उघ्रियो । सबै राम्रो भयो । बाँकी जुन भाषाहरुले अभैm पनि सरकारी कामकाजी भाषाको मान्यता पाएका छैनन् ती अहिले भयङ्कर विभेदमा परेका देखिएका छन् । तर सम्भावना त्यो होइन । विभेद, असमानता र पक्षपातको व्यवहार कसलाई मीठो लाग्छ ? कसैलाई पनि लाग्दैन । नेपालमा रैथाने नेपालीले बोलिने सबै भाषाले समान अधिकार र अवसर पाउनुपर्छ । क्रमशः पाउँछन् । पक्कै पाउँछन् । ढोका उघारेपछि मान्छे मात्र होइन, हावा पनि भित्र पस्छ । अनि मात्र गणतन्त्र फुल्छ, फल्छ । नेपाल समृद्ध बन्छ । नेपाली सुखी हुन्छन् ।

बहुभाषिक मुलुक नेपालमा जनताले बोलिने प्रत्येक भाषाले सरकारी कामकाजको भाषाका रुपमा मान्यता पाउनु नव्यता, भव्यता र सुरम्यताका दृष्टिले पनि उल्लेखनीय आनन्दको कुरा हो । फरक भाषाभाषीहरुका बीच व्यावहारिक कारणवश कुनै विवाद खडा भएर अड्डा अदालतमा मुद्दा पुग्दा वादी एकभन्दा बढी छन् भने एकभन्दा बढी भाषामा फिरादपत्र दर्ता हुनु स्वाभाविकै हुन सक्छ । प्रतिवादी ५/७ जना छन् भने ५/७ भाषामा प्रतिवादी दर्ता हुनु पनि त्यत्तिकै स्वाभाविक हुन्छ। मुद्दा पेसीमा २०/३० जना फरक–फरक भाषी वकिलहरुले बहस पैरवी गर्नु, तिनका फरक–फरक दोभाषेहरुले माननीय न्यायाधीशसमक्ष वकालतहरुको फरक–फरक अनुवाद गरी सुनाउनु अझै स्वाभाविक हुन्छ। यी सबैको अदालती माहौल अभूतपूर्वरुपमा धपक्क बल्न सक्छ । गणतन्त्रबाट विकसित मुलुकको भाषिक तस्वीर हुनुपर्ने त यस्तै हो । हैन र ?

‘जे भयो, राम्रो भयो, तर अधुरो भयो’, नवसंस्कृतिविद्हरु भन्छन्, ‘अपर्याप्त भयो । विभेदसहितको भयो । विभेदरहितको हुनुपथ्र्यो ।’ सर्व साधारण नेपाली बूढापाकाहरु भन्छन्, ‘यो हतारको प्रतिक्रिया हो। यति भन्न नवसंस्कृतिविद्हरुले कष्ट उठाउनुपर्दैन। परम्परागत नेपाली जनमनलाई अझ बढी थाहा छ– नेपालमा बोलिने सबै–सबै भाषाले सबै–सबै ठाउँमा समानरुपमा सरकारी कामकाजको भाषाका रुपमा मान्यता पाउनुपर्छ र अभ्यासका सन्दर्भमा सरकारी सहायता पनि पाउनुपर्छ। भाषाभाषी दुईजना मात्र रहेछन् भने पनि मान्यता पाउनुपर्छ । अनि बल्ल भाषिक समानताको व्यवहार भन्न सकिन्छ । नेपालमा नेपाली त साझा भाषा हो । सबैले जानेकै छन्, बुझेकै छन् । त्यसमा लेख्दा, बोल्ख्दा के रमाइलो हुन्छ र ? आ–आफ्ना भाषामा लेख्दा, बोल्दा बल्ल रमाइलो हुन्छ । एक–एक बोलीवाल नागरिकलाई गणतन्त्र आपूmसम्म आइपुगेको महसुस हुन्छ । हरेक भाषाभाषीले व्यवहारमा आफ्नै भाषामा बोल्ने, लेख्ने, पढ्ने र आफ्नै भाषामा साहित्य लेख्ने गर्दा भाषाको विकास हुन्छ । भाषिक क्षमताको विकास हुन्छ । यो जगजाहेर कुरा हो ।’

पहिले–पहिले गणतन्त्र नहुँदा पनि हाम्रो दक्षिणी छिमेकी मुलुकमा भाषा–विभाषाको कुरा उठेको थियो । ज्यान जाला तर पनि अर्काको भाषा नबोल्ने भन्ने हठी मानिसहरु पनि निस्केका थिए । यो कुरा त्यहाँको इतिहासमा भन्दा पनि साहित्यमा पढ्न पाइन्छ। जस्तै– ‘हस्तिना पीड्यमानोपि नगच्छेत्परमन्दिरम् । नवदेत् आङ्गलां भाषां प्राणैकण्ठगतैरपि ।’

शिक्षा र प्रविधिका क्षेत्रमा आवश्यक शब्द सङ्कलन तथा निर्माण गरी हिन्दी भाषालाई हरेक विषयगत पठनपाठनमा पर्याप्त र सक्षम भाषाका रुपमा विकसित गर्न नसकेपछि आजसम्म इन्डिया त्यसै अङ्ग्रेजीलाई सरकारी कामकाज र पठनपाठनको भाषाका रुपमा आत्मसात् गर्न बाध्य हुँदै आएको देखिन्छ । यसै गतिमा जाँदा निकट भविष्यमै इन्डियाको साझा भाषा अङ्ग्रेजी नै बन्ने बाध्यात्मकता पनि आभाषित हुन थालेको छ । हाँसो लाग्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पहलमा २०१४ सालमा त्रिभुवन विश्वविद्यालय खुलेर विभिन्न विषयका अतिरिक्त नेपाली भाषा साहित्यको पठनपाठन हुँदै आए पनि र यसबीच प्रवासी नेपालीहरुको अथक सङ्घर्ष र भगीरथ प्रयत्नको कारण छिमेकी मुलुक इन्डियामा समेत पठनपाठनमा समावेश गर्न मान्यता पाउँदा पनि नेपाली भाषाका विश्वविद्यालयीय विद्वान् प्रा.डा.हरुले नेपाली भाषालाई विश्वविद्यालयमा पढाइने हरेक वैज्ञानिक, प्राविधिक, दार्शनिक विषयहरु पठनपाठनमा पर्याप्त शब्दकोशसहितको सक्षम भाषाका रुपमा विकसित गराउन आवश्यक प्रयास र प्रयत्न गरेको नदेखिनुले यी विद्वान्हरुको देशप्रेम र भाषाप्रेमप्रतिको फितलो मानसिकता प्रमाणित हुन आएको छ ।

हो, इन्डियाको जस्तोे भाषा समस्या नेपालमा कहिल्यै रहेन । यहाँ त्यस्तो इतिहास थिएन र दोहोरिने कुरा पनि छैन । गतिहीनता र सुस्तताको चाहिँ कुरै नगरौँ । सम्पन्न भइसक्नुपर्ने कति कुरा यहाँ शुरु नै भएका छैनन् । यसैले यहाँ त हरेक विकास अभैm शुरुमा छ । विकृति पनि शुरुमा छ । भाषाप्रेमको कुरा आएको छ । भाषाद्वेषको कुरा पनि आएको छ । भाषाप्रेम नराम्रो कुरा होइन, बरु भाषाद्वेष नराम्रो कुरा हो । जहाँसम्म अधिकारका कुरा छन्, मानिसहरु चेतनशील भएपछि कर्तव्यका कुराभन्दा बढी अधिकारका कुरा उठ्छन् । विशेष चेतनशील भएपछि कर्तव्यका कुरा त मुलुकबाट बेरोजगार युवा जनशक्ति पलायन भएजस्तै गरी पलायन हुन्छन्, अझ विशेष र व्यापक तवरबाट अधिकारका कुरा उठ्छन् । यही त लोकतन्त्र र यसको चमत्कारी महिमा हो। सानो मुलुक, धेरै प्रदेश, हरेक प्रदेशमा अनेकौँ भाषा, हरभाषामा सरकारी कामकाज । यो नै नेपालको गणतन्त्रले पाएको अतिरिक्त सौन्दर्य हो ।

कसैले व्यावहारिक अभ्यासमा म मेरै मुरली बजाउँछु, तिम्रो मुरली बजाउन्न भन्न पाइने कि नपाइने ? आफ्नै मुरली बजाउन पाउनु पाण्डुरङ्गी मानवअधिकारभित्र पर्छ कि पर्दैन ? पर्छ भने म मेरै भाषा बोल्छु, तिम्रो भाषा बोल्दिन भन्न पनि पाइएला नि ।

रिसाउने पनि आफ्नै भाषामा, गाली–आलोचना गर्ने पनि आफ्नै भाषामा हुँदा आपसमा नबुझिनुले पनि सम्भावित कति घम्साघम्सी टरेर जान सक्लान् । समाजमा शान्ति कायम राख्न शासन प्रशासनलाई हम्मे नपर्ला । तर पनि दङ्गा प्रहरीहरु र शान्ति सुव्यवस्थाका अभियन्ता बनेर सेवा दिने सुरक्षाकर्मीहरु बहुभाषिक समस्याले अलमलिन सक्छन् । अब ती पनि चाहिए पाइएसम्म सबै भाषाका हुनपर्लान् । अथवा तिनीहरुलाई विभिन्न भाषामा बोल्ने, फकाउने, नम्रता प्रदर्शन गर्ने र परिआउँदा हकार्नेसम्मका बहुभाषिक तालिम दिनुपर्ला । यसबाट पनि देशविकास र भाषाविकासमा बढी मद्दत मिल्ला भनी आशा गर्न पाउनु पनि आफैँमा एउटा रमाइलो उपलब्धि हो ।

अब आन्दोलनकारीहरुका नारा, भाषण, पर्चा, पोस्टर सबै–सबै आ–आफ्नै भाषा र लिपिमा भइदिँदा भाषाहरु आपसमा हातेमालो गर्दै सँगसँगै अघि बढ्न पाउने भए । गणतन्त्रवादी, धर्मनिरपेक्ष, पहिचानपरक र सङ्घीयतामय हुँदै अग्रगामी दिशामा हाँकिन पाउने भए भाषाहरु । आमसभा, लघुसभा, गोष्ठी र सेमिनारहरुमा श्रोता एवम् सहभागीहरुले पनि विभिन्न भाषाका स्वर, व्यञ्जन, सङ्गीत र अर्थगौरवको स्वाद लिन पाउने भए । अब आयोजित हुने सभा, सेमिनार र गोष्ठीहरु पनि ऐतिहासिक महत्वका चित्रमय हुने भए।

सरकारी कामकाजमा मात्र सीमित गर्दा त भाषा अड्डा अदालतमा मात्र सीमित हुन्छ । वादी–प्रतिवादी बयान र वकालतमा मात्र सीमित हुन्छ। विद्यालय, विश्वविद्यालयहरुमा सबै विषयको पढाइ आ–आप्mनै भषामा उपलब्ध हुनुपर्ने व्यवस्थाले भाषाको गति ह्वात्तै अगाडि बढ्छ । त्यो त अनिवार्यरुपमा हुनै पर्छ । नारा, जुलुस र सभाहरुमा सहभागीहरुबाट आ–आप्mनै भाषामा व्यक्त हुँदा पनि भाषाहरुले बहुआयामिक विकास र फैलावटको अवसर पाउँछन् । आवश्यकता परेपछि मानिसहरु दोभाषे खोजेर पनि नारा वा भाषणको मर्मबोध गर्ने प्रयास गर्लान्। यसले नेपाली जनतालाई थप चनाखा र थप परिश्रमी बनाउला । जनता चनाखा र परिश्रमी बन्नु भनेको मुलुकको चौतर्फी विकासमा चार चन्द्रमा उदाउनु हो।

यसका अतिरिक्त नेपाल घुम्न आउने विदेशी पर्यटकहरुसँग पथप्रदर्शकहरुले आफ्नै भाषामा पथप्रदर्शन गर्नुपर्ने चलन चलाइदिने हो भने नेपाल आउने विदेशीहरु नेपालका तमाम भाषाहरुको कामचलाउ तालिम लिएर मात्र नेपाल आउनेछन् । यसो गर्दा संसारका अनेकौँ मुलुकहरुमा हाम्रा नेपालका भाषाहरुका तालिम केन्द्रहरु खुल्नेछन् । विदेशमा नेपालका विभिन्न भाषाका शिक्षक–प्रशिक्षकहरुको माग बढ्नेछ । यसो ह्ँदा सरकारले अझ बढी जनशक्ति निकासी गर्ने सुवर्ण अवसर पाउनेछ ।

हाम्रा विद्यार्थी र कामदारहरु विदेशमा पढ्न र काम खोज्न जानुपर्दा कुन मुलुकको अनुमति पाइने सम्भावना हुन्छ, त्यस मुलुकको भाषा सिकाइने कक्षाहरुमा महँगो शुल्क तिरेर भाषा सिक्न जान्छन् । नेपालले पनि यसबाट शिक्षा लिनुपर्छ । हामीकहाँ पढ्न त कोही आउँदैन । काम त हाम्रोमा छँदै छैन । हामीकहाँ आउने पर्यटकहरु हुन् । पर्यटकहरुलाई हामीले भाषिक अधिकार के हो, कसरी प्रयोग गरिन्छ, कार्यमूलकरुपमै जानकारी दिएर पठाउन सक्नुपर्छ । विभिन्न भाषा सिकाएर पठाउन सक्नुपर्छ । यसबाट संसारभर नेपालको नाम हुन्छ । नेपाल समृद्ध बन्छ । नेपालीहरु सुखी बन्छन् ।

अनि हरेक भाषाभाषीले आफ्ना बालबालिकालाई घरमा, समाजमा र स्कुलमा पनि आफ्नै भाषा मात्र बोल्ने संस्कार र संस्कृतिको विकास गर्नुपर्छ । अनि बल्ल चौतर्फी प्रगति हुन्छ । आफ्नै भाषामा शिक्षादीक्षा र कारोबार नै सर्वोन्नत प्रगतिको मापन हो । नेपालमा आजसम्म रैथाने जनताको उन्नति–प्रगति नभएको नेपाली भाषा सबैले बोल्ने र बुझ्ने भएर पनि हो ।