पहिलो पटक टेबल टेनिस खेलाडीले ओलम्पिक खेल्ने



काठमाडौं ।

नेपाली टेबल टेनिस खेलाडीले पहिलो पटक ओलम्पिक खेल्ने पक्का भएको छ ।

पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फ दुवै नेपाली खेलाडी फाइनल प्रवेश गरेसँगै टेबल टेनिसका नेपाली खेलाडीले छनौटमार्फत पहिलो पटक ओलम्पिक खेल्ने पक्का गरेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबार खेलिएको सेमिफाइनलमा स्यान्टु श्रेष्ठले श्रीलंकाका चमिरा गिनिगे र संयोग कपालीले श्रीलंकाकै जयसनका डी सिल्भालाई पराजित गरेर फाइनलमा पुगेपछि कम्तिमा पनि एकजना नेपाली खेलाडीले ओलम्पिक खेल्ने निश्चित गरेको हो । बुधवारै हुने फाइनलमा श्रेष्ठ र कपालीबीच हुने खेलको विजेता पेरिस ओलम्पिकका लागि सोझै छनोट हुनेछ ।

यससँगै स्यान्टु र संयोगमध्ये एकजना छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बन्नेछन् । यसअघि तेक्वान्दोका संगीना बैध र दीपक विष्टले छनोट चरण पार गरेर यो उपलब्धि हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्