किसानका लागि चिस्यान केन्द्र निर्माण गरिने

280
Shares

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ९ ज्यामिरे स्थित वडा कार्यालय नजिक किसानहरुको माग अनुसार चिस्यान केन्द्र निर्माण गरिने भएको छ ।

ज्यामिरे गाउँ र वरपरका गाउँका किसानहरुको माग अनुसार चौदण्डीगढी नगरपालिकाले किसानहरुले उत्पादन गरेको तरकारी फलफुल तथा अन्य कृषि उपजको भण्डारण, संरक्षणगर्न, बिग्रन नदिन र लामो समयसम्म बिक्री वितरणमा सहयोग पुग्ने हेतुले सो चिस्यान केन्द्र निर्माण गर्न लागेको बताइएको छ ।

चौदण्डीगढी नपा ९ नं वडाध्यक्ष प्रकाश कुमार राउतले करिब २० टन क्षमताको चिस्यान केन्द्र निर्माणकालागि ३६ लाख रकम छुट्याइएकोमा विष्णु दुर्गा निर्माण सेवाले ३२ लाखमा निर्माण गर्नै जिम्मा लिएको र त्यसको शिलान्यास पनि भैसकेको बताए । मदन भण्डारी लोकमार्गमा पर्ने ज्यामिरे गाउँको ९ नं वडा कार्यालय नजिक सो चिस्यान केन्द्र निर्माण भएपछि चौदण्डीगढी, त्रियुगा नगरपालिका, बेलका नगरपालिका समेतका किसानहरुले तरकारी तथा फलफुल भण्डार गर्न सहज रुपमा पाउने र बजारमा लैजान पनि यातायात सुविधा, बजार नजिक भएकोले चिस्यान केन्द्र राम्रोसँग संचालनमा आउने वडाध्यक्ष राउतले बताए ।

यस क्षेत्रमा चिस्यान केन्द्रको अभाव भएको समयमा चौदण्डीगढी नगरपालिकाले किसानहरुको समस्या बुझेर चिस्यान केन्द्र निर्माणमा अग्रसरता देखाएकोमा व्यवसायिक रुपमा कृषि कर्ममा लागेको किसाहरु खुसी भएका छन् भने अर्को तर्फ थप किसानहरु तरकारी खेती फलफुल खेतीमा लाग्नकालागि प्रेरणा पाइरहेको किसानहरुले बताएका छन् ।