अपाङ्गताको एकवद्धता जनाउँदा प्रहरीको लाठी र लात्ती

७ जना घाईतेको ट्रमा सेन्टरमा उपचार गराउँदै



काठमाडौं । 

 अपाङ्गता भएका व्यक्तिको माग पुरा गर्न एकवद्धता जनाउँदै विरोध र्‍यालीमा उत्रिएका २१ जना समर्थकलाई बिहान १० बजे प्रहरीले कुटपिट गरी गिरफ्तार गरेकोमा अपाङ्गता महिला संघले विरोध जनाएको छ ।

बुधबार विहान १० बजे गिरफ्तार गरी अनामनगरको प्रहरी बिट सम्म पुर्‍याउँदा भ्यानभित्र समेत मरणासन्न हुनेगरि प्रहरीले लाठी र लात्तीले कुटपिट गरी सक्त घाइते भएका ७ जनालाई १२:३० बजे ट्रमा सेन्टरमा उपचारका लागि लगिएको र १५ जनालाई भद्रकालीमा लगि छोडिएको घाईत पत्रकार शर्मिला विश्वकर्माले जानकारी दिइन् ।

पत्रकार विश्वकर्माका अनुसार अपागंता भएका २१ जनालाई अनामनगर प्रहरी वृत्तमा अमानवीय व्यवहार गर्दै राखियो । बिहान १० बजे पुरानो बसपार्कबाट गिरफ्तार गरिएका मध्ये लक्ष्मण मगर, ऋषिराम ढकाल, गिता ढकाल, टेक तामाङ, शर्मिला विश्वकर्मा, प्रेम बुढाथोकी र रमेश खड्कालाई प्रहरीले ट्रमा सेन्टरमा उपचारका लागि लगेको छ भने अन्यलाई भद्रकालीमा छोड्यो । घाइते मध्ये ३ जना स्पाईन, १ जना बहिरा रहेका र एक जना अपाङ्गता भएका महिला तथा सञ्चारकर्मी रहेका छन् ।

ऐक्यबद्धता गरिएको सम्बन्धमा;

तनहुँ जिल्ला म्याग्दी गाउँपालिका स्थायी बासिन्दा श्री दीपक भण्डारी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ, उहाँ सवारी दुर्घटनाका कारण पूर्ण अशक्त भई आफ्नो दैनिक कामकाज गर्न असमर्थ भएको अवस्था भए पछि आफ्नो गाउँ पालिकामा सहयोगी सेवा पाउ भनी निवेदन दिन पटक पटक जानु भयो जुन व्यवस्था अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, नियमावली २०७७ को नियम ९ मा भएको सामुदायिक सहायता सेवाले गरेको छ, तर पालिकाले बेवास्ता गरे पछि सम्माननीय प्रधानमन्त्री ज्यु, सङ्घीय मन्त्रालय र विभिन्न निकायमा भेटेर कानुनमा भएको व्यवस्था पाउनु पर्छ भनी अनुरोध गर्नु भयो पटक पटक धाउँदा पनि कुरा सुनुवाइ नभए पछि मिति २०८० चैत्र ६ गते देखी काठमाडौँको रत्नपार्क को खुल्ला आकाशमा धर्ना बस्न सुरु गर्नु भयो ।

सो धर्नामा विभिन्न अपाङ्गता छेत्रका संस्था, अधिकारकर्मी, सञ्चार माध्यमको सहयोग साथ रह्यो र ९ दिन सम्म बसे पछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिको अगुवाइमा माननीय मन्त्री भगवती चौधरीज्यूको रोहबरमा माग पुरा गर्ने सहमति सहित सहयोगी सेवा निर्देशिका तयार गरी २०८१ वैशाख १ गते देखि सम्मतिमा ११ जनालाई उपलब्ध गराउने भनिएको थियो कार्यान्वयन गर्ने सम्झौता मिति २०८० चैत्र १४ गते गरेको थियो ।

तर सरकारले उक्त सम्झौता कार्यान्वयन नगरेको हुँदा मिति २०८१ वैशाख १८ गते देखि पुनः शान्ति बाटिकामा श्री दीपक भण्डारीले थालेको अनिश्चित कालिन अनसन आज १४औ दिन पुग्दा समेत सरकार आफ्नो प्रतिबद्धता र कानुनको कार्यान्वयन गर्न बेवास्ता गरेका कारण अपाङ्गता भएका व्यक्तिहरू बाध्य भएर सडक आन्दोलनमा आउनु परेको छ ।

तसर्थ दीपक भण्डारी एक व्यक्तिको मात्र माग नभएर यो प्रतिनिधिमूलक आम अपाङ्गताको जायज माग र मानवअधिकार सवाल हो तसर्थ सम्बोधन गरौँ गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ । यो अनसन प्रति नेपाल अपाङ्ग महिला संघको ऐक्यबद्धता व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्