राजनीतिक इमानदारिताको खाँचो

56
Shares

सत्ताका लागि जे गर्न पनि नेपालका राजनीतिक दलहरु तयार रहने गरेको पाइन्छ। कहिले कोसँग कहिले कोसँग सत्ता साझेदारी गरेर आफ्नो राजकीय सत्ता भने जोगाउन पछिल्लो समय दलहरुले गर्दै आएको क्रियाकलाप पक्कै पनि नेपाली जनताको पक्षमा छैन। तर पनि दलका नेताहरुले सत्ताभन्दा बाहिर आफूलाई कल्पना गर्न नसक्दाको परिणाम अहिले सतहमा देखिएको छ।

सत्ता संघर्षका कारण जनताका मूलभूत समस्या समाधान हुन सकेको देखिँदैन। आज व्याप्त बेरोजगारीका कारण दैनिक हजारौं युवायुवती रोजगारीका लागि विमानस्थलमा लामबद्ध भएर विदेशिएको दृश्यले एकातर्फ नेपालको अवस्थाको बारेमा चित्रण गरिरहेको छ भने अर्कोतर्फ सत्ताका लागि दलहरुले गर्दै आएको हर्कतले उनीहरुलाई नै जिस्क्याइरहेको भान हुन्छ।

राजनीति भनेको इमानदार हुनुपर्ने हो। यसको सिद्धान्त पनि त्यही हो तर नेपालको हकमा भने यो नियम लागू भएको पाइँदैन। सत्ताका लागि पछिल्लो समय भएका हर्कतले कुनै पनि दलले मुलुकको निर्माणमा होइन, आफ्नो सत्ता जोगाउन जे पनि हर्कत गर्ने गरेका छन् भन्दा फरक पर्दैन।

परम्परावादी दल बिग्रियो भन्दै नयाँ जन्मिएका दलहरुको हैसियत र हर्कत हेर्दा उनीहरु पनि उही ड्याङका मुला हुन् भन्ने जनताले बुझिसकेका छन् । तर पनि उनीहरु मिसन ८४ को नारा दिएर फेरि एकपटक जनतालाई भ्रममा पार्न उद्यत रहेको देखिन्छ । हिजो राणा, शाही तथा पञ्चायतका विरुद्ध पटक–पटक विद्रोह गर्दै आएका दलहरुको हैसियत हेर्दा यो मुलुक बन्ने छाँटकाँट देखिँदैन भने मुख्य राजनीतिक उद्देश्य नै नभएका दलहरुले प्रदर्शन गर्दै आएको हर्कतबाट नै थाहा हुन्छ कि उनीहरु केका लागि राजनीतिक दल खडा गरेका छन् भनेर ।

दलीय गतिविधिबाट वाक्क भएका जनतालाई फेरि केही समय भ्रममा पारेर सत्ता हत्याउने दाउमा रहेका दलहरुको पनि विगत र वर्तमान कति फरक भइसक्यो भन्ने उनीहरुको सत्तालिप्साले देखाइदिएको छ। नयाँ भनिएका दलहरु पनि सत्ताविना बस्न नसक्ने अवस्थामा पुग्नुले समेत उनीहरुको हैसियत प्रस्टसँग देख्न सकिन्छ। होइन भने अहिले जुन दलका नेतामाथि संगीन आरोप लागेको छ, उनले आफ्नो बचाउका लागि आफ्नो दल मात्र प्रयोग गरेका छैनन्, सत्ता साझेदार दललाई समेत प्रयोग गरेर आफ्नो बचाउमा लाग्नुले यहाँ गम्भीर प्रश्न उठेको छ।

राजनीतिमा आफू इमानदार छु भनेर देखाउने हो भने ती नेतामाथि लागेको संगीन आरोपलाई ध्यानमा राख्दै राजीनामा दिनुपर्ने थियो तर त्यो हुन सकेन। आज देशमा जुन प्रकारको बेथिति भित्र्याउन खोजिएको छ, त्यसमा नयाँ भनिएका दलहरुसमेत संलग्न रहनुले नेपालमा अब केही हुँदैन भन्ने भाष्य स्थापित हुन लागेको छ। त्यसैले राजनीतिमा इमानदारिता नआएसम्म यो मुलुकमा जोसुकैले जे भने पनि त्यो पूरा हुने देखिँदैन।