जसपा विभाजनको असर : मधेशको मुख्यमन्त्री हत्याउने हुदैछ कसरत 



वीरगन्ज। 

 जनता समाजवादी पार्टी विभाजन भएसँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ।  योसँगै नयाँ सरकार गठनका लागि यहाँ कसरत पनि सुरु भएको छ  ।मुख्य सत्ता साझेदार दुई दल एमाले र माओवादी बाहिरिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै नेतृत्वको सरकार टिकाउन पहल थालेका मात्रै छैनन्  सो पार्टीका अध्यक्ष उपेन्द्र यादव कुनै हालतमा  पनि एमाले र माओवादीलाई मधेशको मुख्यमन्त्री दिने सोचमा छैनन्  ।

 एमाले र माओवादी पनि नयाँ सरकार बनाउने तयारीमा जुटेको छ । जसपा नेपालले कांग्रेस, लोसपासहितका दलसँग आफ्नै नेतृत्वको सरकार टिकाउन सहयोग मागेको छ । केन्द्रमा रहेका प्रतिपक्षी सबै दललाई समेटेर नयाँ सरकार बनाउन जसपा नेपालले गृहकार्य गरिरहेको स्रोत बताउँछ । जसपा नेपालले खासगरी केन्द्रमा प्रतिपक्षी भूमिकामा रहेका कांग्रेस, लोसपा, जनमतलाई समेटेर नयाँ सरकार गठन गर्ने र उनीहरूकै समर्थनमा विश्वासको मत लिने योजना बनाएको छ ।यसो गरेको खण्डमा प्रतिपक्षी दलहरूबाट कांग्रेसको २२, लोसपाको ८, जनमतको १३ र जसपा नेपालको १९ प्रदेश सांसदको समर्थन हुन जान्छ । अर्थात् यी दलहरूबाट ६२ जना प्रदेश सांसदको समर्थन हुन्छ, जुन सरकार निर्माणको लागि पर्याप्त हो ।स्रोतका अनुसार जनमतलाई फकाएर विश्वासको मत लिने जसपा नेपालको पहिलो योजना छ ।

 पहिलो योजनामा सफल नभए जसपा नेपालले आफ्नो नेतृत्व परिवर्तन गरेर आफू सरकारमा रहने गरी अर्को योजना अपनाउने तयारी गरेको छ ।  माओवादी र एमाले दुवै दलले सरकार निर्माणको छलफललाई तीव्रता दिएका छन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज भट्टराई (समीर)ले नयाँ सरकार गठनका  रणनीति तयार भइरहेको बताए ।

 भट्टराईका अनुसार सरकारको नेतृत्व कसले गर्ने भन्नेमा ४ दलबिच विवाद छ । एमाले र माओवादीले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेसको राजनीति अस्थिर बन्दै गएको हो । केन्द्रको सत्ता पक्ष र प्रदेशको सत्ता पक्ष आ–आफ्नै नेतृत्वमा मधेस सरका गठनका लागि प्रयत्नशील रहँदा साना दलहरूको बार्गेनिङ पावर बढेको छ । मधेसमा जसपा नेपाललाई कांग्रेसले साथ दिने सम्भावना बढी छ । एमाले र माओवादी संयुक्त रुपमा सरकार बनाउने रणनीतिमा छन् ।

जसपा नेपाल र कांग्रेस एक ठाउँमा हुँदा लोसपा र जनमत निर्णायक हुने देखिन्छ । यी दुई दल जुन खेमामा जान्छन्, त्यही खेमाको सरकार निर्माण हुने सम्भावना प्रवल रहन्छ । तर निर्णायक भूमिकामा पुगेसँगै लोसपा र जनमतले मुख्यमन्त्री माग गर्न थालेकाले दुवै खेमालाई अहिले अप्ठ्यारो भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्