हाजिर गर्दै फर्कन विवश छन् सहसचिवहरु

२१ सहसचिवको पदस्थापनमा ढिलाई



–६२जना सहसचिवको सरुवा गर्न खोज्दा समस्या
–बढुवा भएका सहसचिवमा निराशा
–सहसचिवलाई एक दिन पनि जिम्मेवारविहीन राख्न नहुने

काठमाडौं  ।

सरकारको नीतिगत तहमा महत्वपुर्ण भुमिका खेल्ने सहसचिवहरुको पदस्थापन समयमा हुन नसक्दा उनीहरु हाजिर गर्दै घर फर्कन विवश भएका छन् ।

केहि समय अघि आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भएका प्रशासन र प्राविधिक तर्फका गरि २१ जना सहसचिवको समयमा नै पदस्थापन गर्न सरकार असफल भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा भएका सहसचिवहरुको पदस्थापन तथा अन्य केहि सहसचिवहरुको सरुवाको सूची केहि दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको भएपनि प्रधानमन्त्री कार्यालयले सो सुची सामान्य प्रशासन मन्त्रालयमा नै फिर्ता गरिदिएपछि बढुवा भएका सहसचिवको पदस्थापनमा समेत समस्या भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट गएको सहसचिवको पदस्थापन र सरुवा सूचीमा प्रधानमन्त्री कार्यालयबाट ठाडो हस्तक्षेप हुने गरेको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले २१ जना सहसचिवको पदस्थापन सहित ६२ जना सहसचिवको सरुवाको प्रस्ताव केहि दिन अघि प्रधानमन्त्री कार्यालयमा पठाएको थियो । तर सो प्रस्तावमा थपघट गर्न भन्दै प्रधानमन्त्री कार्यालयले सूची फिर्ता पठाएपछि सहसचिवको पदस्थापन र सरुवामा अवरोध सिर्जना भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि पहिला बढुवा भएका २१ सहसचिवको पदस्थापन गर्नुपर्नेमा एकै पटक ६१ सहसचिवको सरुवा गर्न खोजेपछि समस्या भएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । प्रधानमन्त्री कार्यालयका ती अधिकारीले सामान्य प्रशासन मन्त्रालयबाट संसोधन सहितको सहसचिवको सरुवा सूची आएकाले अब छिटै सरुवा तथा पदस्थापन हुने जानकारी दिए ।

उता सहसचिवमा वढुवा भएका २१ जनाले भने झण्डै तीन साता देखि कुनै जिम्मेवारी पाउन नसक्दा निराशा व्यक्त गर्न थालेका छन् । सरकारले सहसचिव जस्तो महत्वपुर्ण भुमिकामा रहनेहरुलाई लामो समय देखि जिम्मेवारविहीन अवस्थामा राख्दा त्यसले प्रशासनमा गलत सन्देश जान सक्ने देखिएको छ ।

सहसचिवहरुको मनोविज्ञानमा समेत गम्भीर असर पर्न सक्ने विज्ञहरुले बताएका छन् । विज्ञहरुले सहसचिव जस्तो महत्वपुर्ण भुमिकामा रहनेहरुलाई सरकारले एक दिन पनि जिम्मेवार विहीन बनाउन नहुने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्