सकियो प्रदेश युवा सम्मेलन



हेटौंडा ।

प्रदेश युवा परिषद् वागमतीको आयोजनामा शुक्रबारदेखि हेटौंडामा सुरु भएको तीन दिने वागमती प्रदेश युवा सम्मेलन समापन भएको छ । मुख्यमन्त्रीसँग युवा कार्यक्रम गर्दै सम्मेलन समापन गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले युवाहरुको प्रश्नको जवाफ दिँदै नकारात्मक भ्रमबारे समाजमा टीकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । २०८१ लाई ‘सिप वर्ष’ घोषणा प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको भन्दै युवाहरु अपेक्षा र सवाललाई एजेण्डाका रुपमा लिएको जानकारी उहाँले दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले अनुसन्धानका कार्यक्रम प्रभावकारी नभएको स्वीकार गर्नुभयो । न्यूनतम् १५ हजार युवालाई आर्थिक वर्ष २०८१÷०८२ मा उद्यमशीलतासम्बन्धि तालिममा सहभागी गराउने प्रतिबद्धता उहाँले जनाउनुभयो । पुँजीको समीक्षा गर्दैगर्दा प्रदेश आफ्नै बैंक चाहिने निष्कर्षमा सरकार पुगेको उहाँले जानकारी दिनुभयो ।

युवालाई उत्पादनसँग जोड्दै नवप्रवर्तन नीति तथा कार्यक्रममा समेट्नुपर्ने भन्दै सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ । यसअघि परिषद्ले पहिलोपटक हेटौंडामा युवा सम्मेलन गरेको थियोे । जसमा १२ बुँदे घोषणापत्रमा ७ बुँदा कार्यान्वयनमा आएको कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो ।

घोषणापत्र प्रस्तुत गर्दै प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष चौलागाईंले युवामैत्री नीतिनिर्माण र विद्यमान नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, वागमती प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै युवाको चाहना र आवश्यकता सम्बोधन गरिनुपर्ने बताउनुभयो ।

कार्यकारी उपाध्यक्ष चौलागार्इंले प्रदेशका युवाका साझा सवाल सम्बोधनका लागि युवा परिषद्लाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रदेश सरकारसँग आग्रह गर्नुभयो । प्रदेश सरकारले घोषणा गरेको सिप विकास वर्ष २०८१ लाई युवा परिषद्को नेतृत्वमा प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

चौलागाईंले युवालाई देशमै सम्भावनाको खोजी र अवसर पहिचान तथा प्रवद्र्धनमा सहजीकरण आवश्यक रहेको भन्दै प्रदेशका कला, सँस्कृति र ऐतिहासिक तथा प्राकृतिक क्षेत्र पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवद्र्धनमा युवाको सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । चौलागाईंले युवाहरुको नेतृत्वमा जलवायु अनुकूलन, विपद् व्यवस्थापन र वातावरणीय न्याय प्रवद्र्धन गरिनुपर्ने र युवाका साझा सवाल सम्बोधनका लागि प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र स्थानीय तहहरुको समेत थप क्रियाशीलता आवश्यक रहेको बताउनुभयो ।

युवा पुस्तामा चरम निराशाबीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उहाँको भनाइ छ । यस वर्ष प्रदेशका ५ हजार युवालाई १० वटा क्षेत्रमा एक सय भन्दामाथिको पेशाका सिपसिकाइ परीक्षणपश्चात् टेवा पुँजी प्रदान गरिने उहाँले बताउनुभयो । निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोशाक र सूचना तथा सञ्चार क्षेत्रमा तालिम दिइनेछ ।

युवा सम्मेलनमा शिक्षामा कहाँ छ समस्या, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सिपः देशमा लगानीको सम्भावनालगायत विषयवस्तुमाथि छलफल भएको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्