सभामुखले बोलाएको बैठक बिना निष्कर्ष सकियो

कांग्रेसको अडान कायमै 



काठमाडौं । 

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल बिना निष्कर्ष सकिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो । सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए ।

जेठ १ मा सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दै छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडान कायम राखेको थियो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाएर संसद्को अवरोध हटाउन सरकारले अग्रसरता लिनुपर्ने धारणा राखेका थिए । उनले भने, ‘छानबिन समिति गठनको निर्णयबाट हामी पछि हटेका छैनौं । समिति गठन नभई अन्य कार्यसूचीमा सदन अगाडि बढ्दैन ।’

त्यस्तै बैठकमा एमाले र माओवादीसहितका सत्ता घटकले संसदीय छानबिन समिति गठन नगर्ने बताएका थिए ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्