‘इन्टरनेट डाइटिङ’ जरुरी

70
Shares

काठमाडौं ।

इलेक्ट्रोनिक माध्यममा एकैचोटि धेरैवटा विषयवस्तुका काम गर्नाले मानिसलाई वास्तविक जीवन जिउन अयोग्य बनाउँदै गएकोमा विज्ञहरू चिन्तित हुन थालेका छन् ।

एकैचोटि धेरैवटा काम इन्टरनेटमा गर्नाले मानवीय भावनालाई कसरी महसुस गर्ने भन्ने कुरा बिर्सिंदै जाने सम्भावनामा समेत वृद्धि भएको समाचार प्रकाशमा आएको छ । यो एउटा सामाजिक र मनोवैज्ञानिक समस्याका रूपमा देखिन थालेको छ। यसरी मकै भुट्दा लगातार उफ्रिएर छरपस्ट हुने मकैका फूलहरूको जस्तो स्थिति हुनुलाई अहिले ‘पपकर्न ब्रेन सिन्ड्रोम’ नाम दिइएको छ।

कुनै पुस्तक पढ्छु भनेर बस्दा पनि एक–दुई पेज पढेपछि मन भड्किने, मोबाइलमा विभिन्न सामाजिक सञ्जालका पानाहरू पल्टाउन मन उद्वेलित हुने, मन चञ्चल बनेर कतै पनि ध्यान केन्द्रित गर्न नसक्ने, सोचमा परिवर्तन आइरहने आदि यो समस्याका लक्षण हुन् । बेलैमा ध्यान नपुर्‍याउने हो भने यो समस्याले भयावह रुप नलेला भन्न सकिन्न ।

यो समस्याबाट अहिले सबैभन्दा बढी किशोरकिशोरी प्रभावित भएको पाइए तापनि जागिरे उमेर र सेवानिवृत्त मानिस अनि बालबालिका पनि कम प्रभावित छैनन्। बालबालिकामा पनि फेसबुक चलाउने, गेम खेल्ने, अनावश्यक वेबसाइट हेर्ने लत लागेकाले अभिभावक चिन्तित हुन थालेका छन्।

विद्यालयबाट आयो, ड्रेस फे¥यो, ब्याग एकातिर फ्याँक्यो अनि खाजा पनि नखाई कम्प्युटर अथवा बाबुआमाको मोबाइल चलाउन थालिहाल्यो। यसले गर्दा एकातिर अनावश्यकरुपमा प्रविधिको दुरुपयोग भइरहेको छ भने अर्कोतिर बालबालिका बिग्रिने सम्भावना बढिरहेको छ। उनीहरुमा पनि ‘पपकर्न ब्रेन सिन्ड्रोम’ नहोला भन्न सकिन्न। यस विषयमा अभिभावक मात्र नभएर राज्यको समेत ध्यान जानु जरुरी भइसकेको छ।

हाम्रो मस्तिष्क अस्वाभाविक हिसाबले एउटा सोचबाट तुरुन्तै अर्को सोचमा परिवर्तन हुने वा हाम्रो व्यवहार एउटा कार्य नसक्दै तुरुन्तै अर्को कार्यमा लाग्ने प्रवृत्तितिर उन्मुख भइरहेको छ, जुन इन्टरनेट तथा सामाजिक सञ्जालको अधिक प्रयोगले सिर्जना गरिरहेको छ । प्रभावित मानिसहरू चाहेर पनि यो सिन्ड्रोमबाट उम्किन नसकिरहेको अवस्था छ।

नयाँ–नयाँ जानकारीहरू खोजिरहन प्रेरित भइरहने र एकै समयमा अनेकौँ सूचना प्राप्त गर्न खोजिरहने वर्तमान डिजिटल युगको प्रवृत्तिले मानिसको तनाव र चिन्ताको स्तर बढाइदिएको छ।

यसरी ‘पपकर्न ब्रेन सिन्ड्रोम’ले अन्ततः जीवनको गुणस्तर, पारिवारिक र सामाजिक सम्बन्धमा ह्रास ल्याउँछ। यसले जीवनको प्राकृतिक र स्वाभाविक सुखद क्षणलाई नष्ट गरिदिन्छ। तर वर्तमान डिजिटल युगमा इन्टरनेट तथा सामाजिक सञ्जालबाट अलग हुन त सकिँदैन, यद्यपि अल्प आहार गरेर व्रत बसेजस्तै दैनिक केही घण्टा ‘इन्टरनेट डाइटिङ’ गर्न त सकिन्छ नि।

त्यसैले ‘पपकर्न ब्रेन सिन्ड्रोम’बाट बच्न हरेक व्यक्तिका लागि ‘इन्टरनेट डाइटिङ’को आवश्यकता जरुरी देखिएको छ । यस विषयमा बेलैमा सरकारको समेत ध्यान पुगोस्।