त्रिवि सरुवा आतंक : कर्मचारी संघको अल्टिमेटमपछि निर्णय फिर्ता



काठमाडौं ।

कानुनविपरीत सरुवा गरिएका कर्मचारी यथावत् राख्न त्रिवि पदाधिकारी तयार भएका छन्। त्रिवि कर्मचारी संघ र रजिस्टार प्राडा केदारप्रसाद रिजालबीच भएको सहमतिपछि नियमविपरीत सरुवा गरेका कर्मचारीको सरुवा फिर्ता गर्न तयार भएको हो।

रजिस्टार रिजालले त्रिविका उपकुलपति प्राडा केशरजंग बराल र रेक्टर प्राडा खड्ग केसीसँग छलफल गरी नियमविपरीत सरुवा भएका दुई कर्मचारीलाई सरुवा फिर्ता गरी सहमतिअनुसार नयाँ महाशाखा जिम्मा दिएका हुन् ।

कार्यभार सम्हालेको एक महिना बित्न नपाउँदै रजिस्टार रिजालले व्यापक कर्मचारी सरुवा गर्न शुरू गरेको विरोधमा त्रिवि कर्मचारी संघले तत्काल निर्णय सच्याउन अल्टिमेटम दिएको थियो। सोही आधारमा शुक्रबार दुई पक्षबीच सहमति भए नयाँ निर्णय गरेको हो।

सहमतिअनुसार कर्मचारी प्रशासन महाशाखाका सहप्रशासक भीमबहादुर श्रेष्ठलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फिर्ता गरी सूचना महाशाखामा सरुवा गरेको छ। अवकास हुन करिब ९ महिना बाँकी रहँदा श्रेष्ठलाई नियमविपरीत शिक्षण अस्पताल सरुवा गरिएको थियो ।

त्रिवि शिक्षक कर्मचारीसम्बन्धी नियम २०५० को उपनियम ५ को ३.३ मा उमेरको कारण अनिवार्य अवकास हुन एक वर्ष वा सोभन्दा कम अवधी बाँकी रहेका कर्मचारीलाई निजले सरुवा मागेको अवस्थामा बाहेक सरुवा गर्न नपाइने विद्यमान व्यवस्थालाई चुनौती दिँदै रजिस्टार रिजालले मनपरी सरुवा गर्नुभएको थियो।

सहप्रशासक श्रेष्ठको नोकरी अवधि करिब ९ महिनामात्र बाँकी छ। नियमविपरीत श्रेष्ठको सरुवा गरेपछि कर्मचारी संघले आन्दोलन गर्ने चेतवानी दिएको थियो। रजिस्टार रिजालले सूचना महाशाखा प्रमुख योगेन्द्र दाहाललाई सहप्रशासकको जिम्मा दिनुभएको थियो। उहाँको सरुवा यथावत् राखेको छ । दाहाल र श्रेष्ठको विषयमा आपसी सहमति भएपछि सरुवा सदर भएको हो।

त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले पदाधिकारीसँग भएको सहमतिअनुसार सरुवा फिर्ता भएका कर्मचारीलाई आज आइतबार अर्को पत्र दिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘आज पत्र दिने भनिएको छ, निर्णय कार्यान्वयन नगरे आन्दोलन गर्नेछौं।’ रजिस्टार रिजालले तीनैजना पदाधिकारीबीच भएको सहमतिअनुसार कर्मचारीको सरुवा फिर्ता गरेको जानकारी संघलाई दिनुभएको थियो ।

रजिस्टार रिजालले त्रिवि सेवा आयोगमा कार्यरत केदारनाथ ढकाललाई सूचना महाशाखामा सरुवा गर्नुभएको थियो । उक्त सरुवा फिर्ता भएको छ। ढकाललाई फेरि सेवा आयोगमै फर्काइएको छ । बाँकी कर्मचारीको सरुवा यथावत गर्ने निर्णय भएको कर्मचारी संघले जनाएको छ।

यसैबीच त्रिविका उपकुलपति प्राडा बरालले आफू निकट कनिष्ट कर्मचारीलाई धमाधम काम चलाउको हैसियतमा कार्यालय प्रमुखको जिम्मेवारी दिन शुरू गर्नुभएको छ। मापदण्ड बनाएर सरुवा गर्ने वचन दिएका उपकुलपति बराललगायत तीन पदाधिकारीले कनिष्ठलाई धमाधम प्रमुखको जिम्मेवारी दिनुभएको छ। स्रोतका अनुसार गण्डकी प्रदेश परीक्षा कार्यालयमा सहपरीक्षा नियन्त्रकमा अर्जुनबहादुर भण्डारीलाई नियुक्ति गरेको छ।

नियमविपरीत सो कार्यालयका सहनियन्त्रक मीना गुरुङलाई तीन महिनाको बिदा स्वीकृत गरी भण्डारीलाई काम चलाउको हैसियतमा सो प्रदेश प्रमुख बनाउनुभएको हो । नियमले सहनियन्त्रकले तीन महिना बिदा पाउने प्रावधान छैन, तैपनि निवेदन दिएपछि तत्काल स्वीकृत गरी भण्डारीलाई सहमात्र नभएर निमित्त चलाउ प्रमुखको जिम्मेवारी दिनुभएको हो ।

सुदूरपश्चिम प्रदेश परीक्षा नियन्त्रण कार्यालयमा पनि कनिष्ठलाई जिम्मेवारी दिएको छ। त्रिविले ताराप्रसाद अवस्थीलाई सहपरीक्षा नियन्त्रकको जिम्मेवारी दिनुभएको छ। उपप्राध्यापकलाई सो प्रदेशको परीक्षा प्रमुखको जिम्मेवारी दिन नमिल्ने कर्मचारीको भनाइ छ।

त्यस्तै, त्रिवि योजना निर्देशनालयको प्रमुख प्राडा ध्रुवगौतम सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति भएपछि रिक्त रहेको सो स्थानमा विषय नमिल्ने प्रेमबहादुर थापालाई काम चलाउन निर्देशकको जिम्मेवारी दिएको छ । ‘कनिष्ठ अनि विषयसमेत नमिलेका व्यक्तिलाई योजना निर्देशनालयमा नियुक्ति गर्नु उपकुलपतिको गलत निर्णय हो’ –त्रिविका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

उहाँ भूगर्भ शास्त्रका हुनुहुन्छ । योजना निर्देशनालय प्रमुख हुन त व्यवस्थापन र अर्थशास्त्र विषय अध्ययन गर्नुपर्छ । सो विषय अध्ययन नगरेकालाई योजना निर्देशनालयको जिम्मेवारी दिनु गलत नियत देखिएको छ । गुणस्तर मापन तथा प्रत्यायन केन्द्रका निर्देशक रहनुभएका थापालाई योजना निर्देशनालयको निर्देशकको समेत जिम्मेवारी दिइएको छ ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनअनुसार काम गरेका पदाधिकारीले गरेका अधिकांश निर्णय विवादित देखिएको कर्मचारीको आरोप छ। यस्तै, सेवा आयोगमा रिक्त पदमा मन्त्रालयले सुटुक्क दुई जनालाई नियुक्ति गर्ने तयारी गरेको बुझिएको छ।

बाहिर मापदण्डको रटान गर्ने अनि भित्रभित्र आफ्नालाई नियुक्ति गर्ने प्रचलनले त्रिविमा समस्या देखिन थालेको छ। विश्वस्त स्रोतका अनुसार आयोगमा अजय भट्टराई र सुरेश आचार्यलाई नियुक्ति गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्