एमालेले पूर्वाधार निर्माणमा निक्कै काम गरेकाे छ : अध्यक्ष ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वाधारको विकास बेगर विकास सम्भव नभएको बताएका छन्। शनिवार ललितपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलामा बोल्दै ओलीले एमालेले पूर्वाधार निर्माणमा निक्कै काम गरेको बताए ।

नेपालले सडकको पूर्वाधार पूर्वदेखि पश्चिमसम्म तयार गरेको बताए। पूर्व–पश्चिम राजमार्ग, हुलाकी मार्ग लगायतका काम भएका र मध्य पहाडी लगायत अन्य मार्गहरू निर्माणको क्रममा रहेका ओलीको भनाइ छ । पूर्वाधारको विकासमा हामीले धेरै ठुला -ठुला सफलता प्राप्त गरेको छौँ, अझै धेरै काम गर्नुपर्ने छ । विकासकाे काम गर्दा कतिपय मानिसलाई यसमा के प्रतिफल छ र भन्ने लाग्न सक्ने उनले बताए ।

विकासका काम गर्दा कतिपय मानिसहरूलाई टाउको दुख्ने गरेको उनले सुनाए । ‘धेरै मान्छेहरूलाई टाउको दुख्छ, यस्तो कुराहरू हुने गर्दछ’, ओलीले भने । नेपाल जस्तो देशले देशमा सडक, रेल, विमानस्थल, स्वास्थ्य, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रमा धेरै काम गरेको उनले बताए। एमालेले हरेक पालिकाका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने अभियान चलाएको उनले स्मरण गराए । त्यस्तै गाउँ-गाउँमा अस्पताल निर्माणको अवधारणा ल्याएको पनि ओलीले स्मरण गराए ।

‘अहिले हुम्लाको सिमिकोटमा अलिकति पक्की बाटो जोडिएको छैन, नत्र अरू सबै जिल्लामा सदरमुकामसम्म पक्की बाटोमा जोडिएका छन्’, ओलीले भने। ओलीले राजनीतिक अस्थिरताको कारण एमाले सरकार ढालिएपछि ती धेरै विकासका काम रोकिएका बताए ।

‘अस्थिर राजनीतिक स्थिति र अन्य कारणहरूले गर्दा ती कामहरू सहज रूपमा अघि बढ्न सक्दैनन्, सकेका छैनन्, कतिले बुझ्दैनन्, कतिले भत्काइदिन्छन्, कतिले रोकिदिन्छन्, यस्ता खालका कुराले व्यवधान आएको छ’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्