हनि हन्टिङ महोत्सवमा भिरौटेलाई सम्मान गरिने

19.27k
Shares

कास्की ।

कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा हनि हन्टिङ महोत्सव हुने भएको छ ।

आउँदो जेठ ८ देखि १० गतेसम्म कास्कीको अन्नपूर्ण गाउँपालिका-७, लान्द्रुकस्थित कोटेसाङमा ‘हनी हन्टिङ महोत्सव २०८१’ हुने मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

अन्नपूर्ण गाउँपालिका कास्की पर्वद्वक रहेको महोत्सवमा विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा हनी हन्टिङ महोत्सव-२०८१ सम्पन्न हुन गईरहेको महोत्सव मूल आयोजक समितिका अध्यक्ष सुरेश गुरूङले जानकारी गराए । महोत्सवको अवसरमा भिरौटेहरूलाई सम्मान साथै दिवंगत भएकालाई पनि मरणोपरान्त सम्मान गरिने अध्यक्षले जानकारी दिए ।

सम्मान हुनेमा आनन्द पौडेल, खड्गबहादुर गुरूङ, मन बहादुर पुन, घनश्याम चापागाई, नक्कल गुरूङ, मिमबहादुर गुरूङ, अर्जुन गुरूङ, जय पौडेल क्षेत्री लगाएत रहेका छन् भने मरणोपरान्त सम्मान पाउँनेमा जंगावीर क्षेत्री, हवल्दार सेते गुरूङ, प्रताप बहादुर गुरूङ, नन्दलाल भण्डारी, देवीलाल भण्डारी, भवरसिं गुरूङ रहेका छन् ।

‘भीरमौरीको मह जेठ र मंसिर महिना गरेर वर्षमा दुईपटक निकालिन्छ, तेस्रोपटक महोत्सव नै गरेर लान्द्रुकको मोदी खोला किनारको कोटेसाङ भीरका गोलाबाट मह निकाल्न लागिएको हो’, अन्नपूर्ण गाउँपालिका कास्कीका प्रवक्ता एवं वडा नं। ७ का वडाध्यक्ष भरतमान गुरूङले बताए ।

आन्तरिक एवं बाह्य पर्यटकलाई आर्कषण गर्न, स्थानीय कला र संस्कृतिलाई संरक्षण र पर्वद्वन गर्न, युवालाई स्वावलम्बी बनाउनका साथै गाउँलाई देश बिदेशमा चिनाउन महोत्सव संचालन गर्न लागिएको गुरूङले बताए । लान्द्रुकवासीका लागि भिर मौरीको मह काढ़ने सामान्य भए पनि धेरैलाई नौलो विषय हुनसक्छ ।

आन्तरिक एवं वाह्य पर्यटन पर्वद्वनमा पनि सघाउँ पुग्ने सोचेर नै महोत्सवको गर्न लागेको महोत्सवका प्रचारप्रसार संयोजक एवं सचिव बलबहादुर क्षेत्रीले बताए । भिरमौरी महको माग निकै रहेको छ, तीन हजार रुपैयाँ लिटरमा बिक्री गर्ने योजना बनाएको स्थानीय समाज सेवी श्यामप्रसाद गुरूङले पत्रकारको प्रश्नको जवाफमा बताए । मह बिक्री गर्न समस्या छैन ।

महोत्सव हुने थाह पाएपछि पहिला नै मह किन्नका लागि मानिसहरू आउँने गर्छन तर मह सिकार गर्ने परम्परालाई महोत्सवमा रूपान्तरण गर्दा नयाँ पुस्ताले समेत कसरी भिर मौरीको घार काट्ने भन्ने कुराको ज्ञान दिलाउन पनि महोत्सवको आयोजना गरिएको गुरूङको भनाई थियो ।