अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास



भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिका‐६ देकोचा ख्वप कलेज अगाडि निर्माण सुरु भएको अरनिको सभाभवनको आज शिलान्यास गर्नुभएको छ ।
सो अवसरमा उहाँले अत्याधुनिक सुविधा सम्पन्न अरनिको सभाभवनको निर्माण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले देकोचामा २३ वर्ष अगाडि जग्गा अधिग्रहण गरेको भएपनि स्थानीय निकाय भङ्ग हुँदा देश कयौँ वर्ष पछाडि धकेलिएको बताउनुभयो । सरकारको भरमा देशलाई विकास गर्ने सोच राखे हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ भन्दै अध्यक्ष बिजुक्छेँले व्यक्ति, समाज र देशले आत्मनिर्भरताको बाटो अँगाल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउन सके उनीहरुको साँस्कृतिकस्तर पनि माथि उठ्ने थियो, सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदाको लागि प्रयोग गर्दा देशमा भ्रष्टाचारजस्तो अपराधिक गतिविधि मौलाउँदै गइरहँदा देश र जनताको साह्रै चिन्ता लागेर आउँछ ।” भक्तपुर नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको इतिहास र विकासक्रम अध्ययनको लागि भवन शिलान्यासको क्रममा राखिएका सामग्रीले महत्वपूर्ण तथ्यको रुपमा भूमिका खेल्ने बताउँनुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले अरनिको सभाभवन र ख्वप कलेज निर्माणको निम्ति जग्गा प्रदान गर्ने नगरबासी धन्यवादको पात्र भएको जनाउँदे अरनिको सभाभवनलाई जनअध्ययन गृहको रुपमा विकास गर्ने विषयमा नगरपालिकाले जोड दिनुपर्ने औँल्याउनुभयो । ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसद्बाट पारित गर्नुपर्ने माग गर्दै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय सञ्चालनको लागि नगरपालिकालाई दिए सस्तोमा चिकित्सा शिक्षा अध्ययन गराउन सक्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०५८ सालमै तत्कालीन जनप्रतिनिधिले अरनिको सभाभवन बनाउने उद्देश्यले देकोचामा जग्गा अधिग्रहण गरेको जनाउदै जगनाथ क्षेत्र सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण र उत्खनन् गर्नुपर्ने भएकोले अरनिको सभाभवन नयाँ ठाउँमा बनाउनुपरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, ज्योतिषाचार्य विरेन्द्रप्रसाद कायष्थ, भक्तपुर –६ का वडाध्यक्ष हरिराम सुवाल, भक्तपुर‐९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वलगायतले छिटोभन्दा छिटो निमार्मण सउम्पन्न गर्नुपर्ने बताउनुभयो । अरनिको सभाभवनको वास्तुकला र संरचनाको ढाँचा भक्तपुर नगरपालिकाले निर्माण गर्ने र सभाभवनको मुख्य अडिटोरियम (मुख्य हल) एक हजार १०० जनाको क्षमताको रहेको, सभाभवन बहुउद्देश्यीय हल १२८ जना, श्रव्य दृश्य ९६ जना, चार वटा ‘रिहर्सल’ कक्ष रहनेछ ।

प्रतिक्रिया दिनुहोस्