शान्ति स्थापनार्थ साउथ सुडान मिसनमा जाने फौजको बिदाइ



काठमाडौँ। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले  साउथ सुडानमा  जाने नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) को टोलीलाई  शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा  बिदाइ गरेका छन्।  सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न जाने फौजको बिदाइ गरेका हुन्।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिसन वान जुवामा कार्यरत एघारौँ डफ्फालाई बदली गर्न जान लागेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिदाइ गर्दै  कार्य सफलताको शुभकामनासमेत व्यक्त गरे ।

उनले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित एवं सामूहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय मिसनमा संगठन र राज्यको प्रतिनिधित्व गर्दै परिचालन हुने हुँदा बिभिन्न देशका सुरक्षाकर्मीहरुसँग आपसी समन्वय तथा सहकार्य गरी कुशलतापूर्वक कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले सशस्त्र प्रहरी कर्मचारीहरुको त्याग, ऊर्जा समर्पण र ज्येष्ठताको समेत मूल्याङ्कनको फलस्वरुप एफपीयू मिसनमा छनौट भएको बताए ।
मिसनमा खटिई जान लागेको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुले समेत शुभकामना सहित  बिदाइ गरे ।

सन् २००३ बाट सशस्त्र प्रहरी बल नेपाल यूएनको शान्ति मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा सकिएको थियो । त्यसैगरी दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । दक्षिण सुडान मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु कार्यरत छन् ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितको कमाण्डमा १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु वैशाख २३ गते राती त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्