आगलागीका घटनाप्रति गम्भीर बन

70
Shares

काठमाडौं ।

गर्मी बढेसँगै आगलागीका घटना बढ्न थालेका छन्। तथ्याङ्कअनुसार हिजोको मितिसम्म देशभर ३ हजार ३ सय ठाउँमा डढेलो लागेको छ । डढेलो लाग्ने क्रम बढ्दा मानवीय तथा भौतिक क्षति उच्च हुँदै गएको छ।

जानाजान वा अन्जानमा जंगलमा आगो लगाउँदा अर्बौं रुपियाँ बराबरको क्षति भएको छ भने सयौँ जंगली जनावर र चराचुरुङ्गी मरेका छन् । आगलागी नियन्त्रण गर्न गएका स्थानीयको समेत निधन हुन पुगेको छ। हरेक वर्ष यो समयमा आगलागीको घटना हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तैपनि यस विषयमा ध्यान गएको छैन।

आगलागी नियन्त्रण गर्न आवश्यक सामग्री र पूर्वतयारीको अभावमा बर्सेनि यस्तो घटना वृद्धि हुँदै गएको छ। ४० देखि ५० जिल्लाका सामुदायिक र सरकारी वनमा डढेलो फैलिएको सरकारी आँकडा छ। वन विभागको तथ्यांकअनुसार वैशाख महिनाको ८ गते ३ सय ५ तथा ९ गते सबैभन्दा बढी ३ सय ५० ठाउँमा डढेलो लागेको थियो।

सामान्यतया गर्मी बढेसँगै फागुन, चैत, वैशाख र जेठ डढेलो लाग्ने महिनाहरु हुन्। नेपालमा डढेलो लाग्नुको मुख्य कारण मानवीय नै हो । जंगलमा डढेलो लगाएमा चाँडै घाँस पलाउने र पानी पर्दा खरानी बगेर खेतमा गई मल हुने कारणले जंगलमा डढेलो लगाउने गरेको पाइन्छ । हुन त खेतबारीमा पातपतिंगर डढाउँदासमेत वनमा डढेलो लाग्ने गरेको छ। कतिपयले त चुरोटको ठुटो जंगलमा फालेका कारण पनि आगलागीको घटना बढेका छन् ।

डढेलो लागेपछि जनशक्तिको अभाव भएको कारण आगलागी नियन्त्रण गर्न कठिन हुने गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घरेलु विधि अपनाएर जेनतेन आगलागी नियन्त्रण गर्ने प्रयास गरेको पाइन्छ। वनमा आगो लाग्दा स्याउला र माटोले नियन्त्रण गर्ने प्रचलन छ।

जनशक्ति र स्रोत–साधनको अभावमा यसरी आगलागी नियन्त्रण गर्ने प्रयास गर्दा दर्जनौंको ज्यान गएको छ। वास्तवमा आगलागीमा संलग्नमाथि कारबाही गर्न नसक्दा पनि हरेक वर्ष आगलागीको घटना बढ्दो क्रममा छ।

वन ऐन २०७६ अनुसार जानी–जानी डढेलो लगाउनेलाई ३ वर्षसम्म कैद गर्न सकिने प्रावधान छ। तर यस ऐनको कार्यान्वयन गर्ने वन तथा भूसंरक्षण मन्त्रालय, विभाग र प्रदेशमा रहेको मन्त्रालयले कारबाही गर्न नसकेको कारण आगलागीका घटना बढेका हुन्।

डढेलोका कारण निस्किएको धुवाँले नेपालमा वायु प्रदूषण बढेको छ। वायु प्रदूषणको कारण विमान उड्न सकेको छैन। उच्च वायु प्रदूषणको कारण काठमाडौँ पहिलो नम्बरको प्रदूषित शहर बन्न पुगेको छ । यो पर्यटकीय क्षेत्रको लागि ठूलो नोक्सानी हो।

हावामा हुने कार्बनडाइअक्साइड वायुमण्डलमा बढ्ने, खरानी तथा बाक्लो तुवाँलो लाग्दा मानिसको श्वासप्रश्वासमा असर गर्ने गरेको छ। वायुमण्डलमा हरितगृह ग्यास बढ्दा पृथ्वीको तापक्रम बढ्छ।

त्यस्तै वनस्पतिमा फल र फूल लाग्ने समयमा डढेलो लाग्ने हुँदा उत्पादनमा समेत ठूलो असर पर्छ। डढेलोकै कारण जडीबुटी उत्पादनमा पनि ह्रास आउने हुन्छ। वातावरण स्वच्छ भए मात्र हाम्रो जीवन स्वस्थ हुन्छ । त्यसैले यस विषयमा सरकार गम्भीर हुनै पर्छ।