संसद्को कार्यकालभरि यही राजनीतिक समीकरण रहन्छ : महासचिव गुरुङ

1.5k
Shares

काठमाडौं  ।

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताउनुभएको छ । आज यहाँ आयोजित संवाद कार्यक्रममा उहाँले भन्नुभयो, “संसद्को बाँकी समयसम्म यही समीकरण जान्छ ।

यसमा विभिन्न खेल हुन पनि सक्छन् तर अहिलेको समीकरण यो संसद्को बाँकी समयसम्म जान्छ ।” उहाँले तेस्रो लगानी सम्मेलन सफल भएको पनि बताउनुभयो । उहाँले देश विकासको लागि मुख्य आन्तरिक पुँजी भए पनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“देश विकासका लागि आन्तरिक पुँजी मुख्य कुरा हो तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजी भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यहीअनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो”, उहाँले भन्नुभयो ।

चीनको १० दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता हुनुभएका महासचिव गुरुङले आज अनामनगरस्थित संवाद डबलीमा आयोजित अन्तरसंवादमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि चीन सधैँ तत्पर रहेको पाइएको बताउनुभयो ।

आफ्नो नेतृत्वमा ३० जनाले १० दिनसम्म चिनियाँ कम्युनिष्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको बताउँदै उहाँलरुले चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको पनि उल्लेख गर्नुभयो । भ्रमणले चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउनसमेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।