एमाले राजनीतिक ‘घुम्तीको मोडमा’ भीम रावल

672
Shares

काठमाडौं ।

विगत तीन वर्षयता पार्टीको कुनै जिम्मेवारी नपाएपछि जिम्लिएर बसेका नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल अहिले राजनीतिक ‘घुम्तीको मोडमा’ पुग्नुभएको छ।

२०७९ मंसिरको आम चुनावमा टिकट नदिएपछि पार्टी छाड्ने तयारी गरे पनि एमालेमै पुनः जिम्मेवारी पाइने आशासहित सामान्य कार्यकर्ताका रूपमा जिम्लिएर रहेका रावल एकाएक जुर्मुराएर निस्कनुभएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष गर्दै पत्रकारमाझ सार्वजनिक भएका रावलले एमाले नेतृत्वले एकपछि अर्को गर्दै ‘बाइपास’ गर्दै डिलमा धकेलेको बताउनुभएको छ। २०७८ साल मंसिरमा पार्टीको दशौं महाधिवेशनमा ओलीसँगै अध्यक्षको प्रतिस्पर्धामा उत्रिएपछि रावलमाथि ओलीले राजनीतिक कारबाहीको डन्डा चलाउनुभएको थियो।

पार्टी केन्द्रीय समितिमा नलगिएका रावललाई एमालेले गत निर्वाचनमा अछामबाट जित्ने निश्चित हुँदाहुँदै पनि टिकट नदिएर थप चिढ्याएको थियो। पार्टीको गत वैशाख ८–१० मा भएको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत सहभागी नगराइएपछि रावल थप आक्रोशित हुनुभएको छ।

उहाँले एमालेको राजनीतिमा बिताएका तीन दशक लामो यात्राबाट बिट मार्ने संकेत गर्नुभयो। एमाले नेतृत्वले एकपछि अर्को गर्दै ‘बाइपास’ गर्दै डिलमा धकेलेको भन्दै रावलले बिहीबार पत्रकार सम्मेलन गरेर आफू घुम्तीको मोडमा पुगेको बताउनुभयो।

पत्रकार सम्मेलनमा अध्यक्ष ओली लक्षित असन्तुष्टि पोख्दै रावलले भन्नुभयो– ‘यहाँभन्दा अगाडिको मैले सबै सहेर आएको छ, गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने अब मलाई राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ । एउटा घुम्तीमा पुगेको जस्तो महसुस गरेको छु । अब त्यो घुम्तीबाट मान्छे अर्को मोडमा जानेछ हामी सबैलाई थाहा छ ।’

आफू १०औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको उहाँको गुनासो छ। पार्टी नेतृत्वको व्यवहार सहेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब आफू गम्भीर मोडमा पुगेको रावलले बताउनुभयो।

एमाले छाड्ने संकेत गर्दै उहाँले त्यो घुम्तीबाट मान्छे अर्को मोडमा जाने बताउनुभयो । यद्यपि, केस दलमा जाने वा नयाँ पार्टी निर्माण गर्ने भन्ने प्रस्ट पार्नुभएन । ‘कतै उहाँहरूले मलाई त्यो घुम्तीमा पु¥याएर अर्को मोडमा जाओस् भन्ने दुराशयका साथ यो काम गरिरहेको हो कि भन्ने महसुस गरेको छु । त्यस कारण अब म त्यो घुम्तीमा पुगेको छु भने भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरामा फेरि आउनेछु ।’

रावलले घुम्तीबाट अर्को मोडमा जाँदा कतातिर गइन्छ त्यो चाँडै भन्ने बताउनुभयो। एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्पराविपरीत गतिविधि भएको जिकिर गर्नुभयो ।

नयाँ पार्टी खोलेर अघि बढ्ने सम्भावनाबारे उहाँले भन्नुभयो– ‘मैले विगतमा पनि राष्ट्रिय हितलाई सर्वोपरि राखेर हाम्रो राजनीति परराष्ट्रनीति, शासकीय स्वरूप, सुरक्षा, कृषि नीतिलगायत हाम्रो राष्ट्रको हितलाई सर्वोपरि राखेर एउटा रूपरेखा कोर्न सकिन्छ भनेको छु र, हाम्रो पार्टीको १०औँ महाधिवेशनको बेलामा मैले एउटा घोषणा पत्र जारी गरेको थिएँ, त्यसमा नेपाललाई कसरी अगाडि लैजान सकिन्छ भनेर दूर दृष्टिकोण राखेको थिएँ, त्यसमा म अहिले पनि दृढ छु ।’

दशौं महाधिवेशनमा रावलले ओलीसँग अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेपछि ओली र रावलबीचको सम्बन्ध चिसिएको मात्र होइन बोलचाल नै बन्द भएको थियो। करिब २ वर्षपछि २०८० साउन अन्तिममा दुई नेता (ओली–रावल) बीच छलफल भएसँगै रावल एमालेमै सक्रिय हुने र पार्टीले पनि उचित जिम्मेवारी दिने आंकलन थियो।

यद्यपि, रावललाई ओलीले त्यसयता पनि पार्टीको कुनै जिम्मेवारी दिनुभएको थिएन। पार्टीले कुनै भूमिका जिम्मेवारी नदिएकोमा देशव्यापी रूपमा एमालेभित्र चासो र चिन्ता बढेको थियो।

एमाले पार्टीका लागि अछाममा मात्र नभई सुदूरपश्चिमकै हस्ती मानिएका रावललाई पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाको ख्याल गर्दै पार्टीको दोस्रो तहका नेताहरूले समेत जिम्मेवारीमा ल्याउन चाहेका थिएनन् ।