सूर्य नेपाल काठमाडौं ओपन आजदेखि

376
Shares

काठमाडौं ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपन रोयल नेपाल गल्फ क्लबमा आजबाट सुरू हुँदैछ। ७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन्।

सहभागी गल्फरहरू मध्ये सुबाश तामाङको लागि भने यो प्रतियोगिता विशेष रहनेछ। उनले यो टुर धेरै पटक खेलेका छन्। प्रोहरूलाई माथ दिएर उपाधि पनि जितेका छन् । तर प्रोफेसनल खेलाडी भएपछि नेपालमा उनले खेल्न लागेको यो पहिलो पटक हो।

भारतीय गल्फ टुरमा प्रोफेसनल प्रतियोगिताहरूमा सुवाशले खेलेका छन् । यसपटक उनी प्रमुख उपाधि दाबेदारको रूपमा रहनेछन् । नेपालका उनी सर्वाधिक सफल एमेच्योर गल्फर समेत हुन र उनको घरेलु टुरमा प्रोफेसनल करियरको सुरूवात आजदेखि हुनेछ। उनलाई एमेच्योर गल्फर सद्भाव आचार्यले कडा चुनौती दिने संभावना रहेको छ। सदभावले यो सिजन दुई उपाधि जितिसकेका छन्।

७ लाख ३ हजार ५ सय नगद कूल पुरस्कार रहेकोमा विजेताले १ लाख २० हजार प्राप्त गर्नेछन्। यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौं हुनेले ४३ हजार नगद हात पार्नेछन्।