विदेशको पीआर हुँदाहुँदै सरकारी पद

झुटा विवरण पेस गर्ने विकलमाथि अर्को भ्रष्टाचार मुद्दा

126
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध झुट्टा विवरण पेस गरी सरकारी जागिर खाई भ्रष्टाचार गरेका पाइएपछि मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको हो।

नेपालको संविधानको धारा २९१ को उपधारा (१), निजामती सेवा ऐन, २०४९ को दफा ६१ (२) (ग) र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ११ को देहाय (घ) विपरीत विकलले राष्ट्र सेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाइरहने उद्देश्यले आफंैले स्वघोषणा गरी विदेशको स्थायी आवासीय अनुमतिपत्र नलिएको भनी विवरण पेस गरी ढाँटेको अभियोगपत्रमा उल्लेख छ।

संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति लिएर पनि उक्त विवरण लुकाएको र २०७९ जेठ १३ गते पदावधि थप गर्दासमेत उक्त विवरण लुकाई झुटा विवरण दिई राष्ट्र सेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएकोले उहाँविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। उहाँ सुरक्षण मुद्रण केन्द्रकै उपकरण खरिदमा भएको भ्रष्टाचार प्रकरणका पनि मुख्य अभियुक्त हो। उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ।