पाल्पाको माथागढी गाउँपालिकाका अनुशरणयोग्य कामहरु



काठमाडौं ।

लुम्बिनी प्रदेशको पाल्पा जिल्लामा पर्ने माथागढी गाउँपालिकाका नेपालका ७५३ वटा स्थानीय सरकारमध्येको एक हो। आठवटा वडामा विभक्त यस पालिकाको अध्यक्षमा यमबहादुर चिदी र उपाध्यक्षमा विष्णुमाया लुङ चे तथा प्रमुख प्रशासकीय अधिकृतमा रामप्रसाद घिमिरे रहनुभएको छ। यस पंक्तिकारले उक्त पालिकाका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दा उहाँहरुबाट प्राप्त भएका यस पालिकाका असल अभ्यासहरु अन्य पालिकाका लागि पनि अनुशरणयोग्य पाइएकाले यो आलेख तयार गरेको छु ।

माथागढी गाउँपालिकाको असल अभ्यासलाई नियाल्दा शिक्षातर्फ यस पालिकाले अभिभावकविहीन बालबालिकाको दायित्व जिम्मेवारी लिएको छ। प्रविधिमैत्री शिक्षाको लागि शिक्षकहरुको ल्यापटप खरिदमा पालिकाले अनुदान दिएको छ। बृटिस काउन्सिलसँगको सहकार्यमा गुणस्तरीय शिक्षा : गुणस्तरीय स्कूल कार्यक्रम सञ्चालन गरिएको छ। यस पालिकाले पढ्दै, सिक्दै कार्यक्रम र विद्यालय सुधार योजना सञ्चालन गरिरहेको छ। यस पालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरुले पालिकासँग र शिक्षकहरुले प्रअसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ।

यस पालिकाले मातृ भाषाको पठनपाठन पनि आरम्भ गरेको छ। साथै, पाठ्यपुस्तक खरिदमा पालिकाले सघाउने गरेको छ। यस पालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई पोशाक वितरण गरेको छ। यस पालिकाले हाम्रो माथागढी नामको स्थानीय पाठ्यपुस्तकको पठनपाठन आरम्भ गरेको छ । यस पालिकाले उत्कृष्ट विद्यार्थी र शिक्षकलाई पुरस्कृत गरिआएको छ।

यस पालिकाले स्वास्थ्य सेवातर्फ पनि अनुकरणीय कार्यहरु गरेको छ । जसअनुसार यो पालिका पूर्ण संस्थागत सुत्केरी पालिका बनेको छ । उपाध्यक्ष आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती परीक्षण गर्न स्वास्थ्य संस्था आउँदा अण्डा र हरियो झन्डा प्रदान गर्ने गरिएको छ । यस पालिकाका सबै स्वास्थ्य संस्थाहरुमा जनस्वास्थ्य प्रयोगशालाको सुविधा उपलब्ध गराइएको छ । यस पालिकाले आँखा शिविर सञ्चालन गर्नुका साथै मोतीविन्दुको गाउँ–टोलमै निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराई आएको छ । अपायक ठाउँहरुमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ ।

यस पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्यअनुरुप हालसम्म ६ वटा वडामा यो काम सम्पन्न भैसकेको छ । गर्भवतीको निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा छ । यस पालिकाले महिला स्वयंसेविकाहरुलाई मोबाइल सेट उपलब्ध गराउनुका साथै नियमितरुपमा रिचार्ज रकम पनि उपलब्ध गराएको छ । यस पालिकाले छाडा तथा घरपालुवा कुकुरलाई भ्याक्सिनेसन तथा बन्ध्याकरण गरिआएको छ। यस पालिकाले घरघरमा स्वाथ्यकर्मी कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ एकीकृत घुम्ती स्वास्थ्य शिविर पनि सञ्चालन भएको छ।

कृषितर्फ यस पालिकाले कोल्डस्टोर स्थापना गरेको छ। यस पालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम आरम्भ गरेको छ। बिउबीजनमा अनुदान दिएको छ। टनेल र कृषि उपकरणमा पनि अनुदान दिइएको छ। यस पालिकाले काफल, अकबरे खुर्सानी, सुन्तला र कागती पकेट क्षेत्र कार्यक्रम घोषणा गरेको छ । साथै, लालीगुराँस क्षेत्र घोषणा तथा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ। यस पालिकाले भैँसीपालन, च्याउ खेती, बाख्रा पालनमा अनुदान दिनुका साथै हाते ट्याक्टरमा पनि अनुदान दिएको छ । यस पालिकामा माटो परीक्षण अभियान सञ्चालन गरिएको छ।

यस पालिकाले कृषि उब्जनीको सम्भाव्यता अध्ययनका आधारमा एक गाउँ एक उत्पादन कार्यक्रमद्वारा हरियो तरकारी, किबी, धनिया, खुर्सानी, आलुलगायतको उत्पादनमा जोड दिएको छ। यस पालिकाबाट निकासी हुने कृषि उत्पादनमा पालिकाले अनुदानसहितको लेबलिङ प्रणाली आरम्भ गरेको छ। सयपत्री फूलको नमुना नर्सरी स्थापना गरी व्यावसायिक फूलखेती गर्ने किसानलाई सयपत्री फूलको बेर्ना निःशुल्क उपलब्ध गराइएको छ।

पालिकामा आयोजना हुने महोत्सवमा कृषि र पशुसम्बन्धीे स्टल राखी माटो परीक्षण, बाली उपचार, पशु उपचार, गोबर परीक्षणजस्ता सेवाहरु निःशुल्क प्रदान गरिएको छ। यस पालिकाले बाली बिमामा शत प्रतिशत अनुदान दिएको छ। यस पालिकाले भकारो सुधार कार्यक्रम सञ्चालन गरेको छ। बोका र राँगाको नश्ल सुधार गरिएको छ। घाँसको बीउ वितरण गरिएको छ । समूहमा बंगुरपालन कार्यक्रम सञ्चालन गरिएको छ। साथै किसानको सूचीकरण गरिएको छ।

यस पालिकाले स्थानीय कच्चा पदार्थको सदुपयोग गर्दै मसला उद्योग स्थापनाको तयारी गरिरहेको छ। साथै, महिला उद्यमी होजियारी उद्योग सञ्चालनमा ल्याएको छ। यस पालिकाले मजदुरको दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ। तौल मेसिन प्रयोग गरी चुनढुंगा निकासी गरेको छ । यसै गरी, कोइला खानी व्यवस्थित गर्ने प्रयास गरिरहेको छ। यस पालिकाले दुनाटपरी उद्योग सञ्चालन गरेको छ । यस पालिकामा चप्पल उद्योग पनि सञ्चालनमा ल्याइएको छ।

पालिकाभित्रको सुरक्षातर्फ यस पालिकाले थप प्रहरी चौकी स्थापनाको पहल गरिरहेको छ । करिब ३० किमिको दूरीमा विभिन्न बजार क्षेत्र र नाकाहरुको सीसी क्यामराबाट चौबीसै घण्टा नेपाल प्रहरीबाट अनुगमन भैरहेको छ। यस पालिकाले माथागढीलगायतका ऐतिहासिक र पर्यटकीय स्थलको प्रवद्र्धनमा मिहिनेत गरिरहेको छ। जाजरकोटमा गएको भूकम्पका पीडितलाई यस पालिकाले पाँच लाख सहयोग गरेको छ। यस पालिकाले वृक्षरोपण कार्यक्रम पनि सञ्चालन गरेको छ।

लक्षित वर्ग कार्यक्रमतर्फ यस पालिकाले दलित समुदायको क्षमता विकास कार्यक्रमअन्तर्गत आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । यसै गरी, महिलालाई सीपमूलक तालिम प्रदान गरिएको छ। यस पालिकामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ। साथै, युवालाई खेलकुद र स्वरोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। यस पालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेको छ । साथै, उहाँहरुलाई कम्बल तथा न्यायो कपडा वितरण गरेको छ। साथै, सामाजिक सुरक्षा भत्ताको सहज प्राप्तिका लागि सघाएको छ । अपांगता भएकालाई आवश्यक सामग्री वितरण गरेको छ।

यस पालिकाले बालचेतना तथा शैक्षिक जागरण कार्यक्रम सञ्चालन गरिआएको छ । महिला सशक्तीकरणमा पालिका अग्रसर छ । यस पालिकाले विपन्न बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराइआएको छ। यस पालिकाले विपन्न बिमा कार्यक्रम पनि सञ्चालन गरेको छ। यो बालमैत्री पालिका घोषित भएको छ  किशोरीहरुलाई स्यानिटरी प्याड वितरण गरिएको छ। रक्तअल्पता हुनबाट बचाउन आइरन चक्की वितरण गरिएको छ। विद्यार्थीको निःशुल्क रक्तपरीक्षण सेवा सञ्चालन गरिएको छ । यस पालिकाले आदिवासी, जनजाति लक्षित कार्यक्रम पनि सञ्चालन गरिआएको छ।

सुशासनतर्फ अनलाइन भुक्तानी गर्ने गरिएको छ । यस पालिकाले वडा–वडामै कार्यक्रमको सम्झौता गर्ने गरेको छ। यसै गरी, पालिकाले प्रचलित व्यवस्थाअनुसार सार्वजनिक सुनुवाइ गरिआएको छ । आ.व. २०८०।८१ बाट राजस्व संकलन प्रक्रियामा विद्युतीय प्रणाली लागू गरिएको छ । यस पालिकाले न्यायिक समितिले मेलमिलापकर्तालाई तालिम दिई वडाबाटै समस्या समाधानको पहल गरेको छ । यस पालिकाभित्रका केही वडामा सम्पर्क कार्यालय खडा गरी सेवा विस्तार गरिएको छ । यस पालिकाले अनलाइन सिफारिस आरम्भ गरेको छ । साथै, माइन्युट लेखन, प्रस्ताव लेखन, प्रतिवेदन निर्माण र समग्र पालिका सञ्चालनका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरेको छ ।

यस पालिकाले एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ। यो पालिका रिङरोड निर्माणमा लागिपरेको छ। यस पालिकाभित्रका वडा समितिमा मासिकरुपमा नियमित बैठक बसी कामलाई चुस्तता प्रदान गरिएको छ। सूत्रको माध्यमद्वारा आर्थिक कारोबार गरिआएको यस पालिकाले ईटीडीएस प्रणाली लागू गरेको छ । बेरुजु फछ्र्यौटका लागि एनएएमएस प्रणाली, राजस्वतर्फ रेभेन्यु मेनेजमेन्ट सिस्टम लागू गरिएको छ। योजना सम्झौता तथा फरफारकका लागि पनि सफ्टवेयर प्रणाली निर्माण गरिएको छ । सूत्र पेरोलबाट तलबभत्ता भुक्तानी भइरहेको छ।

योजना तथा कार्यक्रम भुक्तानी विद्युतीय माध्यमद्वारा ईएफटीबाट गर्ने गरिएको छ। वृद्धभत्ता सीजीएसबाट अनलाइनमार्फत सोझै लाभग्राहीको खातामा राख्ने प्रणाली छ । यस पालिकाले उपभोक्ताहरुका लागि पनि तालिम सञ्चालन गरेको छ। साथै, सहकारीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । यसरी, माथागढी गाउँपालिकाले निकै सराहनीय कामहरु गरेको महसुस हुन्छ।

प्रतिक्रिया दिनुहोस्