रुसी सेनामा कार्यरत नेपालीको उद्धारको माग गर्दै पीडित परिवारको अनशन

154
Shares

काठमाडौं ।

रुसी सेनामा कार्यरत नेपालीको उद्धारको माग गर्दै आफन्तहरूले काठमाडौंको माइतिघर मण्डलामा अनशन शुरू गरेका छन्। रुसको युद्धमैदानमा फसेका नेपालीको जीवन रक्षाको माग गर्दै करिव ३ दर्जन आफन्तहरूले शुक्रबारबाट अनशन थालेका हुन्।

अनशनमा करिव तीन दर्जन पीडित परिवारका सदस्यहरू रहेको रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षा अभियानका अभियन्ता कृतु भण्डारीले जानकारी दिनुभयो । त्यसमध्ये कृतु भण्डारी, किसन थापा र सिरानी घर्ती मगर आमरण अनशनमा छन्।

उनीहरूले रुसी सेनामा भएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता, भर्ती भएका र युक्रेनको कब्जामा रहेकाहरूको सकुशल उद्धारको माग राख्दै आएका थिए। लामो समयसम्म सरकारले रुसी सेनामा पीडित परिवारको गुनासो सम्बोधन नगरेपछि अनशन बस्न बाध्य भएको अभियान्ता कृतु भण्डारीले बताउनुभयो।

युद्धमा परी घाइते भएका नेपालीहरूको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शव नेपाल ल्याउने व्यवस्था मिलाउनुपर्ने अनशनमा बसेकाहरूको माग छ। त्यस्तै, रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिन पनि सरकारसँग आग्रह गरेका छन्।

तर, सरकारले यस्तो गम्भीर विषयलाई सामान्वीकरण गर्दै रुसको युद्धमैदानमा रहेका नेपालीको चित्कार नसुनेको पीडितहरूले बताएका छन्। रुसी सेनामा फसेका नेपालीको उद्दामा सरकारले बेवास्था गरेपछि पीडित परिवार अनशन बस्न बाध्य उनीहरूको भनाइ छ।