गुम्बा, मन्दिर, झरना चाहर्दै घले दरबार र अँध्यारोमा टल्किने मोतीगुफा



धादिङ ।

पाकृतिक सुन्दरता, मन्दिर, गुम्बा र झरना हेर्दै टहलिँदै घले दरबारसम्म पुग्ने रमाइलो योजना सत्यदेवीका लागि बनाउनु भएको छ भने उपयुक्त हुने छ ।

एक दिनको यात्राका लागि एउटा सवारी साधन, लिएपछि गाउँको कोदो फापर खाँदै १६ औँ शताब्दीको घले दरबारको भग्नावशेषसम्म पुग्दा एक दिन बितेको पत्तो नै हुँदैन ।

धादिङ बेसीबाट उत्तरतर्फ ३५ किलोमिटरको यात्रा तय गरेपछि खनियाबास गाउँपालिका वडा नम्बर ५ सत्यदेवी पुगिन्छ । यसअघि यो सत्यदेवी गाविस थियो राज्य पुनसंरचना भएपछि एउटा वडामा सीमित भएको छ ।

धादिङ बेसीबाट ३० किलोमिटर किन्ताङफेदी पुगेपछि कच्ची तर ग्राभेल  गरिएको सडकमा उकालो लग्नु पर्छ।  सबै घरमा शौचालय भएको सत्यदेवी प्राकृतिक विविधता अँगालेर बसेको छ ।

किन्ताङफेदीबाट बच्छला पुग्न सवारी साधनमा २० मिनेटजति लाग्छ । बच्छलादेबिको मन्दिरसमेत रहेको यस स्थानबाट रमणीय आँखु नदी, टाढाटाढासम्म पहाडका तरेली देख्न पाइने भएकोले यहाँ केहीबेर घुमेर अघि बढ्ने गरेको आन्तरिक पर्यटकहरु बताउँछन् ।

धादिङको पुरानोमध्ये गुम्बा १५ मिनेट पैदल हिँडेपछि पुग्न सकिन्छ । पेमा दोर्जे छ्योइफिलिङ बौद्ध गुम्बा माथि डाँडामा  छ । यसलाई हेर्न, प्राकृतिक रुपमा बनाइएका बुट्टा र यसको पुरानो सामानको अवलोकन गरेपछि सबैको मन नै आनन्दित हुने स्थानीय डिबि गुरुङले बताए । सत्यदेबिको आकर्षण भनेको च्यार्लङ झरना र नल्मो झरना हो । यसको वरिपरिका आकर्षण पनि छुट्टै छ ।

च्यार्लङ र नल्मो झरनाले पर्यटकीय रूपमा प्रचुर सम्भावना बोकेको छ। संरक्षण र प्रचारप्रसार नहुँदा यसको सुन्दरतामा  लुटपुटिन मानिसहरु पुग्न पाएका छैनन् । थोरै मानिसमात्र पुग्ने गरेका छन् ।

झरनासम्म पुग्न सवारीसाधनको यात्रापछि करिब ५ मिनेटको पैदल हिँडेपछि पुग्न सकिन्छ।परिपरी बस्तीहरू छन्।

 

 झरनाको प्रचार–प्रसारको अभावले खासै चर्चामा आएको छैन, पर्यटकीय रूपमा विकास गर्ने हो भने खनियाबास थप पर्यटकीय गन्तव्य बन्नेछ । झरनाको नामबाट बच्छलामा होटल समेत संचालन गरी  झरनाको चित्र समेत यत्रतत्र कोरिएको पाइन्छ । होटल पुग्नेले झरना जानका लागि इच्छा व्यक्त गर्ने गरेका छन् ।

अहिले सुन्दरतामा रमाउन त्यहाँ पुग्नेको संख्या बढ्दो छ। यो झरनाको दृष्य आर्कषक रहेको छ। धेरै जसो झरनाहरु हिउँद लागेपछि सुक्छन्। तर नाल्मो र च्यर्लङ झरनामा १२ महिनानै पानी झर्ने हुँदा यो झरनाको महत्व बढेको देखिन्छ। माथिबाट एक भएर आउँछ, तर बिचमा झर्ना भएर पानी झर्ने गर्दछ। अहिले त्यस क्षेत्रमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेको खनियाबास गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रबिनकुमार तामाङ बताउछन् ।अग्लो पहाडबाट खसेको झरनाको दृष्यले मन लोभ्याउँछ। आसपासका दृष्य पनि सुन्दर छन्। लेकबाट आएको पानीले बनेको यो झरना सुन्दर चिसो र यसलाई अँगालो मारिरहुँ जस्तो लाग्ने खालको छ ।

उनका अनुसार त्यहाँ पुगेकाहरु सौन्दर्यतामा रमाउने गरेको पाइन्छ। केही दिन देखि सामाजिक सञ्जालमा उक्त झरनाको तस्बिर चर्चित भइरहेका छन्। केही साताअघि मात्र झरनालाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले खनियाबास गाउँपालिकाको कर्मचारीको टिम पुगेको थियो। ग्रामीणस्तरमा लुकेर रहेका, तर सम्भावना बोकेका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफू त्यहीँ पुगेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले बताए ।

उनले भने झरनालाई प्रचारप्रसारसँगै संरक्षणमा जुट्दै पर्यटकहरू भित्र्याउने हो,भने यहाँको स्थानीय उत्पादनमा समेत प्रवर्द्धन गर्ने टेवा पुग्नेछ ।बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माण हुन जरुरत छ। आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने यस झरनासँग ट्राउट माछाको स्वाद लिन समेत सकिने छ ।

झरना गुम्बा र मन्दिरहरू  हेर्दै गएपछि बोनाङचेत पोखरी पुगिन्छ । ठूलो प्राकृतिक पोखरी वर्षको पानीले भरनिे, र गाउँबासीको गाइबस्तु चराउन लाँदा वा जंगलजाँदा खानका लागि समेत प्रयोग हुने गरेको थियो । २०७२ को भूकम्पले भने पोखरी चाँडै सुक्न थालेको छ । पहिलेपहिले मानिसहरु यो पोखरीमा नुहाउने पौडिखेल्ने समेत गरेको स्थानीय कृष्णबहादुर तामाङले बताए । पोखरीको दायाँबायाँ पहिलादेखि ठूलाएकादसीमा झँक्री नाच देखाउने  भुतपिचास भगाउने चलन अहिले पनि चली आएको छ ।

यहाँदेखि २० मिनेटको उकालोपछि तैपिचेत अर्थात घलेराजाको घोडा खेल्ने चौरमा पुगिन्छ । यो ठूलो चौर छ । १६ औँ सताब्दीमा घले राजाले राज्य गर्दा घोडा बाँधेर राख्ने र अन्य सत्रुसंग लडायँपर्दा यहीबाट आक्रमण गर्न जाने स्थानको रुपमा रहेको छ । यो चोक पनि हो यहाँबाट उत्तरतिरको डाँडामा  गएपछि थाङ्ब्रा डाँडामा पुगिन्छ । डाडाको चुचेमा रहेकोले काठमाण्डौको धरहरा समेत देखिन्छ भने नुवाकोट, रसुवा, गोरखा, र धादिङका धेरै भू -भाग देखिन्छ । दक्षिणतर्फ घले राजाको दरबार र मोती गुफा रहेकोले यस क्षेत्रमा घुम्न आउनेहरु दरबारको भग्नाशेस हेर्न तर्फ लाग्ने गर्छन् ।

सत्यदबीको गोम्बोजोङघले दरबार क्षेत्र रमणीय छ । अहिले स्थानीयहरु सो दरबारलाई जोङजो घले दरबार पनि भन्ने गर्छन् ।  १६ औँ शताब्दीको घलेहरुले राज्य गरेको स्थान हो यो । २२ से २४ से राज्यको समयमा ‘याङमो घले’ ले राज्य गरिरहेको बेला पृथ्वी नारायण शाहले नेपाल एकीकरणको समयमा यहाँ आक्रमण गरी  दरबार ध्वस्त पारेको र घले राजाहरु भागेर ज्यान बचाएको स्थानीय बुढापाकाहरुले बताएका छन् । घलेले राज्य गरेको स्थानको अवशेष धेरै छ । रुखहरु ठूला भइसकेको स्थानमा घले राजाको दरबारको छेउको पर्खा, घोडा बाँध्ने स्थान, ओखल, आदी देखिएको छ । सानो डाँडोको चुचेमा घलेहरु बसेर चारैतिर हेर्न सकिने स्थानमा दरबार बनाइएकोले सत्रुको आक्रमणबाट समेत बच्ने गरि बनाइएको पाइन्छ । तर पृथ्वीनारायण शाहले भने दरबारमा एकैपटक आक्रमण गरी  हातहतियार कब्जामा लिएको र घले राजा भागेको सो क्षेत्रका वृद्धहरूको भनाइ छ । घटनाको मिति भने कसैले बताउन सकेका छैनन्  ।

अहिले दरबार  क्षेत्रको भग्नावशेष हेर्न मात्र नभई मनमोहक दृश्य हेर्न समेत यहाँ पर्यटकहरु आउन थालेका छन् ।

गाउँपालिकाले समेत दरबार क्षेत्र, मोती गुफाको क्षेत्रको संरक्षण गर्नका लागि डिपिआर बनाएर प्रदेश सरकार, संघीय सरकारसँग सहयोग माग गरेको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।

दरबार क्षेत्रको एक भागमा बौद्ध स्तुपा बनाइएको छ । सबै  रुख बिरुवा प्राकृतिक रुपमा राखेर बनाइएको बौद्ध स्तुपासंग बुघको मूर्ति समेत छ भने अर्को भागमा समेत बुद्धको मूर्ति स्थापना गरिएको छ । मानिस हिड्का लागि ढुंगा छापेर सिडी हालिएको छ ।

सानो डाँडोको उत्तरपट्टीको भागमा अनौठो र तातो गुफा छ । स्थानीयहरु गुफा टल्कने भएकोले मोती गुफा भन्छन् भने यहाँ केही युवाहरु धेरै भित्रसम्म पुगेर गुफाबारे बताउने गरेका छन् ।

जाडोको समयमा तातो बाफ आइरहने मोती गुफा छिर्ने बित्तकैदेखि सानो उज्यालो पर्ने बित्तिकै टल्केर उज्यालो हुने गरेको छ । आफ्नो मोबाइल र टर्च लाइट बालेर गुफा भित्र छिरेपछि छेउछाउका ढुंगाहरु बल्न थालेको देखिन्छ । दमका रोगि तथा ठूलो शरिरभएका बाहेक युवाहरु गुफाभित्रको सुरुङ पुगेर हेर्ने गरेका छन् । केही युवाहरु गुफाभित्र करिब आधा  किलोमिटरको दुरी पुग्दा समेत अझै भित्र जाने ठाउँ भएकोले कति ठूलो छ भन्ने बारेमा भने यकिन गर्न नसकिने गुफा (सुरुङ) भित्र पुगेर करिब एक घण्टामा फर्किनु भएका प्रदिप श्रेष्ठले बताए ।

एतिहासिक, धार्मिक र पर्यटकीय  क्षेत्रहरुको संगम स्थल सत्यदेबिमा ८ ओटा गुम्बा, ६ ओटा मन्दिर, ८ ओटा चर्च, रहेका छन् । पहिला परम्परागत खेती गर्दै आएका सत्यदेबीमा पर्यटककोआकर्षण बढेपछि ऐतिहासिक स्थलको संरक्षण, धार्मिक स्थानहरुको पुनः निर्माण तथा संस्कृति संरक्षण गर्दै सडकको पहुँच विस्तार गरिरहेको स्थानीय सरकारले अझै काम गर्न बाँकी रहेको र पर्यटकीय तथा कृषि उत्पादन क्षेत्र बनाइने वडा अध्यक्ष रबिन कुमार तामाङको भनाइ छ ।

गाउँको माथिल्ले भागमा किवि, टिमुर, गोलभोडा, बन्दा, ओर, जौ, आदी खेती गरेर आउने पर्यटकलाई स्थानीइ खानेकुराबाट स्वागत गर्न थालिएको छ । लोकल कुखुराको मासु, जौ, गहुँ, कोदो फापर, मकै ढीडो, गोलभोडा पोलेर अचार बनाएर स्थानीय सागसंग खान दिने, झरना छेउ क्षेत्रमा पालिका ट्राउट माछा र यसलाई तारेर खान दिने लगायतका पाहुना स्वागतका योजना सत्यदेबिसंग रहको छ ।

प्राकृतिक छटाले हराभरा, स्थानीय तामाङ समुदायको बाहुल्यता रहेको सत्यदेवी पुगेर एक रात बसेपछि स्वर्ग पुगेकै अनुभव गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्