रियल मेड्रिड र बायर्न म्युनिख सेमिफाइनलमा

182
Shares

एजेन्सी ।

स्पेनिस ला लिगा क्लब रियल मेड्रिड र जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख जारी सिजनको यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

इंग्लिश फुटबलका महारथी क्लब म्यानचेस्टर सिटीलाई बुधबार पेनाल्टी शूटआउटमा ४–३ गोलअन्तरले हराउँदै रियल मेड्रिड अन्तिम चारमा पुगेको हो। गोलकिपर एन्ड्री लुनिनले दुई पेनाल्टी रोकेपछि प्रतियोगिताकै सर्वाधिक १४ पटकको विजेता रियलले अन्तिम चारमा यात्रा तय गर्न सफल भयो । यसअघि रियलको मैदानमा भएको पहिलो लेग ३–३ गोलको बराबरीमा टुंगिएको थियो ।

रियल र सिटीबीच भएको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म १–१ गोलको बराबरीमा टुंगिएको थियो। खेलमा रियलले रोड्रिगोको गोलमा अग्रता लिएको थियो। उनले १२ औं मिनेटमा गोल गरेका थिए । भिनिसियसको क्रसमा रोड्रिगोले प्रहार गरेको बललाई सिटीका गोलकिपरले रोकेपनि पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन्। त्यहि रिबाउन्डमा रोड्रिगोले गोल गरेका थिए।

दोस्रो हाफमा केभिन डि ब्रुएनको बराबरी गोलमा सिटी खेलमा फर्केको थियो । डि ब्रुएनले ७६औं मिनेटमा गोल गरेका थिए। समग्रमा ४–४ गोलको बराबरी भएपछि खेलको छिनोफानो टाइब्रेकरमार्फत गरियो। रियलको जितमा नायक सावित बनेका गोलकिपर लुनिनले सिटीका बर्नान्डो सिल्भा र माटेओ काभासिकको पेनाल्टी बचाएका थिए।

अर्कोतिर सिटीका गोलकिपर एन्डरसनले लुका मोड्रिकको पेनाल्टी बचाएपनि टोलीलाई जित दिलाउन सकेनन् । पेनाल्टीमा रियलको लागि जुड वेलिंगम, लुकास भास्क्वेज, नाचो फर्नान्डेज र एन्टोनिओ रुडिगर्डले गोल गरे भने सिटीका जुलियन अल्भारेज, फिल फोडेन र एन्डर्सनको प्रहार गोलमा परिणत भएको थियो ।

बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने क्रममा इंग्लिस क्लब आर्सेनललाई बुधबार राति नै भएको दोस्रो लेगमा १–० ले हराएको थियो । उक्त जितपछि समग्रमा ३–२ को जितको नतिजासहित बार्यन अन्तिम चारमा पुगेको हो ।

यसअघि आर्सेनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३औं मिनेटमा उक्त गोल गरेका थिए। यो सिजन जर्मन बुन्डेसलिगा उपाधिबाट विमुख भएको बायर्नले च्याम्पियन्स लिग जित्ने सम्भावनालाई भने जीवितै राखेको छ।

अब फाइनल प्रवेशका लागि बायर्नले रियलको सामना गर्नेछ। बुधबारको दुई खेलसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पनि पूरा भएको छ। मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी) र बोरुसिया डर्टमन्ड अन्तिम चारमा प्रवेश गरेका थिए। पीएसजीले बार्सिलोना र डर्टमन्डले एट्लेटिको मेड्रिडको चुनौती समाप्त गर्दै अन्तिम चारमा पुगेका थिए।