वर्ष २०८० का फिल्म थोरै सफल, धेरै असफल



काठमाडौं ।

कोरोना कहरले आतंक मचाएको २०७६ सालदेखि नेपाली फिल्म प्रदर्शनको दर हालसम्म पनि संख्यात्मक हिसाबले घटिरहेको पाइएको छ। त्यसमा पनि वर्षभर रिलिज भएका फिल्मको व्यापार खास राम्रो हुन नसकेको पाइयो।

नाम चलेका एकसेएक फिल्म तथा ठूला ब्यानरका फिल्मसमेतले बक्सअफिसमा निराशाजनक परिणाम दिएको वर्ष २०८० को व्यापारिक रेकर्डले देखाउँछ। यतिसम्म कि नाम चलेका फिल्मलाई नै लगानी उठाउन धौधौ परेको बक्सअफिस रेकर्डले देखाएको छ।

कोरोना कालअघि सयभन्दा बढी फिल्म रिलिज हुने नेपाली सिनेबजारमा वर्ष २०७९ सालमा कुल ४९ फिल्म रिलिजमा आएका थिए। बितेको वर्ष २०८० मा पनि त्यसकै हाराहारीका फिल्म सिनेबजारमा देखिए। वर्ष २०८० मा लिम्बू भाषाको सुगुपसहित कुल ५२ फिल्म रिलिजमा आए। यो वर्ष लिम्बू भाषाको सुगुपसहित कुल ५२ नेपाली फिल्म रिलिज हुँदा विदेशी भाषाका भने ८८ फिल्म रिलिज भए।

वर्ष २०८० को शुरूकै दिन अर्थात् वैशाख १ गते अरू दिन रिलिज डेट नै नपाइएला जसरी एकसाथ तीन फिल्म बिहेपास, बुलाकी र जारी रिलिज भए। फिल्म लेखक तथा साहित्यकार उपेन्द्र सुब्बाको डेब्यु निर्देशनमा बनेको फिल्म जारीले उत्साहजनक र नपत्याउँदो व्यापार गरेर चमत्कार प्रदर्शन गर्न सफल भयो। त्यसपछि बजारमा आएका धेरैजसो फिल्मले भने असोचनीयरूपमा निराशाजनक व्यापारको रेकर्ड देखाएका छन्।

जारीका अगाडि बिहे पास र बुलाकी टिक्न सकेनन्। यी दुवै फिल्म बक्सअफिसमा फ्लप फिल्मका रूपमा दरिए भने जारी वर्षभरिमै सर्वाधिक धेरै कमाउन सफल साबित भयो। जबकि जारीसँगै बिहे पासमा पनि दयाहाङ राई नै हाबी थिए। जारीको जति कलेक्सन वर्ष २०८० मा अरू कुनै फिल्मको हुन सकेन।

उपन्यसाकार स्व. ईश्वर मानन्धरको कृतिमा आधारित कैदीको पत्र त झन् हलमा आएको केही समयमै उत्रियो, रिलिजको दोस्रो शोसमेत देख्न पाइएन। १२ बजेको शो साँढे १२ बजे नै उत्रियो। नामको सिरिजका रूपमा निर्माण हुँदै आएको नाईं नभन्नु लको पछिल्लो संस्करण नाई नभन्नु ल ६ ले समेत आफ्नो साख जोगाउन सकेन।

नाम र ब्रँन्डकै कारण अघिल्ला सिरिजमा मन पराइएको नाईं नभन्नु लको पछिल्लो संस्करण नाईं नभन्नु ल ६ ले यतिसम्म निराशाजनक व्यापार गर्‍यो कि यसको अर्को सिरिज नाईं नभन्नु ल ७ बनाउने तयारीलाई नै प्रभावित पारिदिएको छ। त्यसैगरी, अघिल्लोपटक शानदार व्यापार गरेर देखाएको प्रसादको पछिल्लो संस्करण प्रसाद २ ले पनि सोचेजस्तो व्यापार त गरेन नै निर्माण आरम्भ भएदेखि नै लेनदेनको कारण विवादमा परेको यसका निर्मातालाई बजारमा तिर्न बाँकी करोडौं रुपियाँ तिर्न त मुस्किल भयो नै, आर्थिक कारण मुद्दा मामिला पनि थपियो।

अघिल्लोपटक दिनेश राउतले वाहवाही बटुलेको प्रसादको नयाँ संस्करण प्रसाद २ लाई सुदर्शन थापाले अघिल्लो संस्करणजस्तो चुस्त र लोभलाग्दो बनाउन सकेनन् भने विपिन कार्की, केकी अधिकारी, अर्पण थापाजस्ता कलाकारको उपस्थितिले पनि अन्तरजातीय विवाह गरेर गाउँबाट भागेको जोडीले राजनीति र समाजका अवरोधसँग गर्नुपरेको संघर्षको कथाको फिल्मलाई बलियो रूप दिन नसकेपछि दर्शकले रुचाएनन्।

डान्स जनरामा आधारित धीरज मगर र जसिता गुरुङ स्टार ज्याकी : आइएम ट्वान्टी वानले पनि सोचेजस्तो व्यापार गर्न सकेन। फिल्मले नया“पनको स्वाद दिने कोशिष गरे पनि दर्शकका लागि यो रुचिकर सावित हुन सकेन। त्यतपश्चात् प्रदर्शनमा आएका हलकारा, ए साथी सुन, हुक्का, टुल्की, नीरफुल, वेककम टु हेम्जाकोट, अन्तिम संस्कार, परस्त्री, ए ढाक्रे दाइ, लुङ, अृदश्य, हिँड्दा हिँड्दै, जुलेबी, जय हो, महानगर : वान नाइट इन काठमाडौं, एैँचो पैंचो, गणपति, एक भागवत गीता, वानर सेना, बसेनजी, कौसिद, दुई कदम, जम्प, चित्रा, पर्खी बसें तिमीलाई, हात्तीछाप, जिग्री, गोरखा वारियर, द अनब्रेकेबल, रंगेली, उपहार, काँडेतार, सुगुप, बद्रीबहादुरजस्ता फिल्म न दर्शकका लागि रुचि फिल्म बन्न सके, न त यी फिल्मले बक्सअफिसमा पकड नै जमाउन सके।

ए साथी सुन यसरी डुब्यो कि, यो फिल्मले नेपालभरको प्रदर्शनबाट केवल २५ हजार रुपियाँ ग्रस कलेक्सन गर्‍यो भने आठ हजार रुपियाँमात्र सेयर प्राप्त गर्‍यो। सेलफोनजस्तो सार्थक छोटो फिल्मका निर्देशक तथा पत्रकार फूलमान बलद्वारा निर्देशित निरफूल कोरोनाका कारण चार वर्षपछाडि मात्र हलमा लाग्यो। निर्देशकको स्टोरी टेलिङ प्रभावकारी हुँदाहुँदै पनि ढिलो रिलिजको शिकार हुन पुग्यो। मिलन चाम्सले आफ्नो ड्रिम प्रोजेक्ट र वार सिनेमाका रूपमा वीर गोरखालीको गौरव गाथा झल्काउँदै ल्याएको गोरखा वारियर बक्सअफिसमा माथि आउन सकेन।

वेलकम टु हेम्जोकाट त १२ बजे लागेर आधा घण्टामै उत्रन पुग्यो। एक करोड २० लाख रुपियाँको लगानीमा बनेको जय हो कुल १२ लाख रुपियाँमात्र सेयर प्राप्त गर्‍यो। एैंचो पैंचो पाँच दिनसम्म जेनतेन चलिरहेको थियो, बलिउडबाट शाहरुख खानको पठान आउनासाथ हलबाट निक्लियो। काँडेतार दर्शक अभावमा दुई दिनमै हलबाट उत्रियो, तर यसका निर्माता निर्देशक नवल खड्काले हलले शो नदिएको आरोप लगाएर फिल्म उतार्नुपरेको दाबी गरे। निर्माता निर्देशक शोभित बस्नेको बद्रीबहादुर पनि १२ बजे हलमा लागेर एक बजे नै उत्रियो।

अभिनेता सरोज खनालले सर्ट फिल्मका रूपमा शुरू गरी सेल्युलाइडमा रूपान्तरण गरेको बगानले भने नसोचेको कमाल देखायो। बगानले डेढ करोड ग्रस कलेक्सन गरी ५० लाख सेयर हासिल गरेर एभरेज व्यापार गर्न पुग्यो। दीपेन्द्र लामाद्वारा निर्देशित अर्को फिल्मका रूपमा वर्ष २०८० मा आएको नांगो गाउँले बक्सअफिसमा हिट फिल्मको व्यापार गरेर देखाइदियो भने सुपरहिट सामाजिक फिल्म पशुपतिको सिक्वेलका रूपमा आएको पशुपति प्रसाद २ : भष्मे डनको व्यापार इनिसेल देखियो।

दयारानी निर्माणको ६ वर्षपछि हलमा आए पनि एक करोड रुपियाँ सेयर कलेक्सन गर्दै एभरेज व्यापार गर्न सफल भयो भने अगस्त्य : च्याप्टर १ ले एभरेज व्यापार गर्‍यो। कथाकै सिरिजका रूपमा आएको जात्रा सिरिजको पछिल्लो संस्करण महाजात्रा भने रिलिजको चौथो सातासम्म पनि बक्सअफिसमा धुम मचाउन सफल भइरहेको छ। फिल्मले तेस्रो सातासम्म २३ करोड बढी कलेक्सन गरिसकेको सार्वजनिक भएको छ भने फिल्मप्रतिको क्रेज देशदेखि विदेशसम्म बढिरहेको छ। डिग्री माइला र द रेड सुटकेस वर्ष २०८० को अन्तिम दिन अर्थात् गत चैत ३० गते रिलिजमा आएकाले यी फिल्मको बक्सअफिस रिपोर्ट आइसकेको छैन।

यसरी २०८० मा बक्सअफिसको रिपोर्ट हेर्दा यो वर्ष रिलिजमा आएका फिल्ममध्ये थोरै फिल्मले मात्र सफलताको स्वाद चाख्न पाए।तर, धेरैजसो फिल्मले असफलताको अनुहार हेर्न बाध्य भएको छ।

प्रतिक्रिया दिनुहोस्