‘नेपालीहरु सक्कियौँ यदि भने नेपाल माटो न हो,
हिँड्ने मानिस हो सशक्त गतिले सिद्धान्त बाटो न हो ।
जो दावानल राजनीति तिमीले झोस्यौ, डढायौ वन,
मास्नै लक्ष्य थियो त जंगलभरि बाटो खनायौ किन ?’
यो हामी सबै नेपालीको प्रश्न हो । प्रश्न कोसित ? यो भनिरहनुपर्ने कुरै रहेन । नेपाली समाज, नेपाली सभ्यता र नेपाल देशको निर्माता नेपालीहरु नै हुन्। नेपाललाई माया गर्ने नेपालीहरु नरहेका भए विगतमा नेपाल न एकीकृत हुन्थ्यो, न सुरक्षित नै रहन्थ्यो । नेपाली हुनुमा गौरव गर्ने र नेपालका लागि गर्दन दिन पछि नहट्ने हाम्रा बहादुर नेपाली पुर्खाहरुकै त्याग, तपस्या र बलिदानका कारण हामी अद्यावधि नेपाली भएर रहन पाएका छौँ ।
हाम्रा पुर्खाहरुले देश र देशवासीको महत्व बुझेका थिए । नेपाली मन–मुटुको महत्व बुझेका थिए। मान्छेको महत्व बुझेका थिए। यसै भएर सुखानन्दका खोजीमा विदेशलाई कहिल्यै गन्तव्य बनाएनन् । मृगतृष्णाको वशीभूत भएर आफ्नो बेडरुममा विदेशीहरुलाई प्रवेश कहिल्यै गराएनन्। ‘राष्टेवयम् जागृयामः पुरोहिताः स्वाहा’ अर्थात् हामी हाम्रो राष्ट्रका लागि सधैँ चौकन्ना रहेर काम गर्छौँ, हाम्रा अगाडि रहेर पथप्रदर्शन गर्ने हाम्रा नेताहरुले हामीलाई सही बाटो देखाऊन् ।
पुरः अग्रे हितम् करोति इति पुरोहितः जसले देशवासीका अगाडि अगाडि रहेर सबैको हित गर्छ त्यही पुरोहित। ‘पुरोहित’ प्रचलित अर्थको ‘पुरेत’ होइन । वेदमा ‘पुरोहित’को अर्थ जनसमाजलाई हितकारी बाटो देखाउने ‘नेता’ थियो र ‘राष्ट्र’को अर्थ ‘सिङ्गो देश’ थियो । हाम्रो परम्परागत ‘राष्ट्र’ शब्द अङ्ग्रेजी भाषाका ‘नेसन’ शब्दको पर्यायवाची होइन । हुँदै होइन, हुनै सक्दैन ।
अब हामी एकछिन् सृष्टिमा मान्छे मात्रका बारेमा सामान्य छलफल चलाएर पुनः आफ्नो निष्कर्षमा फर्कने प्रयत्न गरौँ । मान्छे के हो भन्ने सम्बन्धमा पश्चिमा विद्वान्हरुले विभिन्न सन्दर्भमा विभिन्न निक्र्यौल सुनाएका छन् । हाम्रा प्राचीन ऋषिमुनिहरुले पनि यसबारे गम्भीर छलफल चलाएका छन् र निष्कर्षहरु पेस गरेका छन् । महाभारत कालमा महाभारतको युद्ध सकिएपछिको शान्तिपर्वमा वासुदेव कृष्णका प्रेरणामा राजा युधिष्ठिरका प्रश्नको उत्तर दिँदै शरशैयाशायी पितामह भीष्मले भनेका छन्,
गुह्यम् यद् ब्रह्म तदहम् ब्रवीमि, न मानुषात् श्रेष्ठतरम् हि किञ्चित् । अर्थात् संसारको एकमात्र सत्यलाई ब्रह्मसत्य भन्छन् । म तिमीलाई त्यही ब्रह्मसत्य भन्छु, बाबु युधिष्ठिर, यस सृष्टिमा सर्वश्रेष्ठ रचना मानव हो । मान्छेभन्दा श्रेष्ठ यस संसारमा अरु केही पनि छैन ।
जीवधारीहरुबीच मानिस नै यस्तो प्राणी हो, जो विवेक–बुद्धिले समन्वित छ । शारीरिक, मानसिक, बौद्धिक क्षमताका अतिरिक्त मानिससँग भावना छ, संवेदनशीलता छ, सौन्दर्यबोध छ, सृजनक्षमता छ, निर्माण र विनिर्माणका ताकतहरु छन् । समग्र संसारको रचना र पुनर्रचना गर्न सक्ने बोधि–सम्बोधि महाविद्युुत्युक्त, अनन्त क्षमतावान् मस्तिष्क छ मान्छेसँग । मान्छेको अन्तष्करणमा उत्कृष्टताको सारतत्व बीजरुपमा विद्यमान छ । यसलाई बिउँझाएर मानिस सामान्यबाट महामानव बन्न सक्छ ।
पाश्चात्य मनीषि कोर्लिस ल्यामोन्टले आफ्नो सुप्रसिद्ध कृति ‘ह्युम्यानिज्म एज अ फिलासफी’ मा लेखेका छन्, यस सृष्टिमा अनेकौँ आश्चर्यहरु छन् । यिनमा मानिसभन्दा अद्भुत र श्रेष्ठ अरु केही छैन । पास्कलका मतानुसार मानिस यस संसारको सर्वश्रेष्ठ बौद्धिक जीव हो । सत्यतथ्य जानकारी जुटाएर मानिस सुष्टिका सम्पूर्ण यथार्थलाई अभिव्यक्त गर्न समर्थ छ । रुसोको मतानुसार मानिस जन्मतः स्वतन्त्र छ र पनि विभिन्न किसिमका बन्धनमा बाँधिएको छ । सुकरातले भनेका छन्, मानव जीवन श्रेष्ठ त छ तर पर्याप्त ज्ञान भएन भने यो व्यर्थ पनि हुन सक्छ । मारकस एन्टोनियसले आफ्नो पुस्तक ‘टु हिमसेल्फ’ मा लेखेका छन्, मानिस नै सृष्टि र यसका समस्त क्रियाहरुको मूल केन्द्र हो र पनि मानिस आफैँ आफ्नो लागि समस्या हो । संसारका रहस्यहरुको पर्दा उघारेर जानकारी लिन समर्थ भए पनि मानिस आफ्नो बारेमा अनभिज्ञ नै रहिआएको छ । आफ्नो र आफ्नो अस्तित्वका सम्बन्धमा उत्सुकताका साथ आफ्नो र आफ्नो परिवेशको अध्ययन परीक्षण गरिआएको छ ।
‘आइडियाज अफ ग्रेट फिलासफर’ नामक आफ्नो सुप्रसिद्ध कृतिमा एस.एस. फास्टले भनेका छन्, सर्वोच्च सत्तासँग सम्बन्धित हुनुका कारण मानिस त्यसभन्दा अलि तल छ । प्रसिद्ध युनानी दार्शनिक पाइथागोरसको भनाइ छ, मानिस नै समस्त वस्तुहरुको मापदण्ड हो । चिनी दार्शनिक कन्फ्युसियस भन्छन्, मानिसको मापदण्ड मानिस नै हो । हरेक दृष्टिले यस सृष्टिको सूत्र हो मानिस । मानिस नै समाज र मूल्यहरुको माध्यम तथा समस्त संस्कृति र शक्तिको स्रोत हो । ऐतरेय उपनिषद्ले पनि भन्छ, ताभ्यः पुरुषमानयत्ता अबुबन सुकृतं बतेति अर्थात् मानिस विश्वशक्तिको सुन्दरतम कृति हो । स्वामी विवेकानन्द भन्छन्, मानवजीवन सर्वश्रेष्ठ जीवन हो । यो पशुता, मानवता र देवत्वको संयोग हो । अशुभलाई शुभमा बदलिदिने र स्वार्थलाई परमार्थमा तिरोहित गराइदिने क्षमताका कारण मानिस प्रकृतिको सर्वश्रेष्ठ कृति हो ।
इजिप्टका प्रख्यात सन्त दार्शनिक हरमेस ट्रिस्मेजिस्टस भन्छन्, मानिस ईश्वरको एक दिव्य चमत्कार हो । मानिसका बराबर गौरवशाली, मर्यादित र श्रद्धास्पद अर्को प्राणी धर्तीमा छैन । मानिसका शरीरमा ईश्वरको प्रवेश छ । परमात्म सत्ताको प्रतीक प्रतिनिधि हुनुका कारण मानिस स्वयंमा समस्त ईश्वरीय गुणहरुले अभिपूरित छ । यसै कारण मानिसको दृष्टि पतनबाट जोगिएर उच्चता एवम् श्रेष्ठतातिर जान उद्यत् रहन्छ ।
प्रख्यात ग्रीक दार्शनिक पिको डेला मिरान डोला तथा अर्नेस्ट क्यासिररले मानिसलाई ‘सार्वभौम मानव’ भनेका छन् । तदनुरुप मानिसको व्यापक स्वरुप प्रस्तुत गरेका छन् । उनी भन्छन्, आफ्नो विकास तथा पतनका लागि मानिस स्वयं जिम्मेवार छ । हित–अहितको निक्र्याैल तथा वरण गर्न मानिस स्वतन्त्र छ । मानिस स्वेच्छाले आफ्नो कर्मका माध्यमबाट निम्नयोनिहरुमा भ्रमण गर्न सक्छ, दिव्य योनिहरुमा जन्मेर मोक्ष प्राप्त गर्न पनि सक्छ । यो चानचुने प्रप्ति होइन ।
‘मानिस के हो ?’ यस प्रश्नको उत्तर ‘मानिस के होइन ?’ को प्रतिप्रश्नले दिन सक्छ । मानिस सबथोक हो । मानिसभित्र बीजरुपमा विकासका असीम सम्भावनाहरु विद्यमान छन् । मानिस आफ्नो विषयमा जस्तो सोच बनाउँछ त्यस्तै बन्छ । मानिस एक अनगढ प्राणी हो । बनिबनाउ यन्त्र होइन । यसलाई चाहेअनुसार सुन्दर र समुन्नत बनाउन सकिन्छ । अधोगामी बाटो लाग्दा नरपशु, नराधम बन्न पनि सकिन्छ । आफ्नो रोजाइको बाटो लिन मानिस स्वतन्त्र छ । शरीर, मन, अन्तष्करण र त्यसमा जोडिएका असामान्य क्षमताहरु सबैले सही उद्देश्यमा जोडिन पाउँदा मानिसका विकासका मार्गहरु भकाभक खोलिन सक्छन् । यिनै शक्तिहरु निकृष्ट दिशामा नियोजित हुन जाँदा पतन र पराभवतिर धकेलिन पनि सक्छ मान्छे ।
विश्वकै श्रमजीवी जनताका महान् गुरु कार्ल माक्र्सले श्रमशील हातहरुसहितका मानव नै संसारको सुन्दरतम सृष्टि हो भन्नुभएको छ । लेनिन र माओजस्ता कम्युनिस्ट क्रान्तिका महान् हस्तीहरुले पनि अनवरत अग्रगामी सभ्यता र संस्कृतिका अथक् सृजेता मानवको अर्थात् देशभक्त जनताको ससन्दर्भ महत्वबोधनका साथ अर्थपूर्ण प्रशंसा गरेका छन् ।
समाजशास्त्रीहरुका अनुसार मानिस एक सामाजिक प्राणी हो । समाजको अग्रगमनमा मानिसको ठूलो भूमिका रहिआएको छ । मानवशास्त्रीका अनुसार मानिस कुशाग्र दृष्टि, सुविकसित मस्तिष्क, कल्पनाशील मन र सर्वसमर्थ शरीरले सम्पन्न एक समुन्नत प्राणी हो । पुरातत्ववेत्ताहरु भन्छन्, मानिस संस्कृतिको सञ्चायक, नगरका निर्माता, माटोका भाँडादेखि विभिन्न कलाकृतिहरुको आविष्कारक, कृषि, उद्योग, साहित्य, कला आदिको योजनाकार र निर्माता हो । यसै गरी जीव वैज्ञानिक, रसायनविद्, मनोवैज्ञानिक आदिले मानिसका सम्बन्धमा आ–आफ्ना विचार विश्लेषण प्रस्तुत गरेका छन् । अध्यात्मविद्हरुले मानिस जगन्नियन्ता ईश्वरको अंशधर आत्मा भनेका छन् । उनीहरु भन्छन्, आपूmलाई विभिन्न रसायनहरुको सम्मिश्रण, मूल प्रवृत्तिहरुको दास, अणुहरुको संगठन, हिँड्ने–डुल्ने नश्वर प्राणी मात्र मान्नु मानिसका लागि सुहाउँदो कुरा होइन । मानिस यो भौतिक कलेवर मात्र होइन, सुरदुर्लभ गरिमा हो । विशिष्ट प्रयोजनका लागि यो जीवन प्राप्त भएको छ । यसलाई तदनुरुप जिउन सक्नुपर्छ ।
गम्दै जाँदा मलाई लाग्छ, मानिसलाई भौतिक र आध्यात्मिक दुवै पाटाको समष्टिमा जसरी अदियोगी शिव, कर्मयोगी वासुदेव कृष्ण, कर्मवीर देवव्रत भीष्मले यसको सम्पूर्णतामा व्यक्त गरेका छन्, अरुका परिचायनमा त्यो पूर्णता अभैm व्यक्त भएको पाइँदैन । मानिस आफ्नो इच्छाले ब्रह्मचर्य साधना गर्न सक्छ, गार्हस्थ्य साधना गर्न सक्छ, ज्ञान साधना, कला साधना, तप साधना आदि अनेकौँ साधना गर्न सक्छ । क्रान्ति साधनासमेत पनि गर्न सक्छ । साधनाबाट मानिस बल, विद्या, धन, मान, प्रतिष्ठा, शान्ति, आत्मबोध र देश एवम् समाजको यथास्थितिमा प्रगतिपरक परिवर्तनलगायत जे जत्रोे उपलब्धि पनि प्राप्त गर्न सक्छ । आफू, आफ्नो देश र समाजलाई सामान्यबाट विशिष्टमा रुपान्तरण गर्न सक्छ । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् जनः’ जस्तो महान् लक्ष्य प्राप्त गर्न सक्छ ।
मान्छे छ र सपना, कल्पनाहरु छन् । मान्छे छ र सृष्टिमा फूलहरु छन् । मान्छे छ र प्रकृतिमा सौन्दर्य छ, सुवास छ, हिमालमा शोभा छ । शश्यश्यामला वसुन्धरामा उर्वरता छ, उपयोगिता छ । मान्छे छ र धर्तीमा जीवनको मिठास छ ।
मानिस व्यष्टिमा व्यक्ति देखिन्छ । समष्टिमा मानिस नै समाज हो, जनता हो, देश हो । मानिस नै मानिसको संसार हो । बसोबास र विकास गर्ने मानिसहरु नै भएनन् भने देश के हुन्छ ? कहाँ हुन्छ ? देशलाई देश बनाउने त मानिस नै हुन् । जसरी घरलाई घर बनाउने परिवार हो । परिजन कोही पनि भएन र रित्तो रह्यो भने घर खण्डहर बन्छ । मानिसहरु अर्थात् निवासीहरु कोही रहेनन् भने देश सुनसान चिहान बन्छ । बन्दैन र ?
मानिस नै मुलुकको बुद्धि वर्गत् र ऊर्जा हो । प्रगति र विकासको सर्जक हो ।
मुलुकको सृजेता र रक्षिता हो मानिस । आफ्नो बुद्धि वर्गत् लगाएर मुलुकलाई रिमिझिमी पार्ने मानिस नै हो, जनता नै हो । मानिसलाई विदेश निकासी गरेर, बेचेर देशको विकास हुन्छ भनिठान्नु कुखुरी मार्दा आँगनभरि सुनका अण्डा बग्रेल्ती हुन्छन् र रातारात धन कुवेर भइन्छ भनिठान्नुजस्तै मूर्खता हो । मानिस बेच्नु त मूर्खता मात्र पनि होइन, एक किसिमले मार्नु हो ।
थिचेर, मिचेर, काटेर, कुटेर शरीरबाट प्राण बाहिर निकालिदिनु नै मार्नु हो । मार्नु अपराध हो । मुलुक मार्नु अझ ठूलो अपराध हो । मानिस र मानिस नै अर्थात् रैथाने जनता नै मुलुकको प्राण हो । प्राण बाहिर गएपछि देश मर्छ ।
विवेक हराएका स्वार्थलम्पट बिचरा भोका–नाङ्गा राजनेताहरुले त सोच्नै सकेनन्, सोचेनन् । नेपालका आजका चैतन्ययुक्त युवापुस्ताले र थोरै भए पनि इमानशेष नेताहरु तथा सृजेताहरुले जिम्मेवारीबोधका साथ सोच्नुपर्ने कुरा आज यो पनि छ । देशलाई माया गर्ने रैथाने मानिसहरु नै नरहे देश रहँदैन । देवव्रत भीष्मका निक्र्यौलको महत्ता पनि आजका हामी नेपालीका लागि यसैमा फलीभूत छ । हैन र ?
प्रतिक्रिया