जीवित देवीबारे जान्न क्यूआर कोड स्क्यान गर्नुस्



काठमाडौं  ।

काठमाडौं महानगरपालिका–२३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्यूआर (क्विक रेस्पोन्स) कोड राखेको छ।

सांस्कृतिक सम्पदाको बारेमा पर्यटक र अन्यलाई सम्पदाको विषयमा परिचय दिँदा गलत परिचय दिएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकाले यो खतराबाट सम्पदाहरूलाई जोगाउन क्यूआर कोडको प्रयोग थालिएको हो।

कामपा–२३ ले पहिलोपटक कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै उपप्रमुख सुनिता डंगोलले कार्यक्रम थालनी गर्नुभएको हो । जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरू कुमारी छेँ, कुमारी वहाः भन्छन् । यसको मौलिक नाम राजकीर्ति मनोरम विहार हो। यसलाई राजलक्ष्मी विहारका नामले पनि चिनिन्छ।

क्यूआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको वाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ।

कुमारी घरको जस्तै सबै सम्पदाका क्यूआर कोडमा यस्तै विवरण छन् । वडा २३ ले संवर्धनसँगको सहकार्यमा सम्पदाको चिनारीलाई प्रविधि हेर्न, बुझ्न र जान्न सक्ने बनाएको हो । क्यूआरमा भएका विवरणलाई अहिले नेपाली र अंग्रेजी भाषामा पढ्न र आवाजमा सुन्न सक्ने गरी तयार गरिएको छ।

क्यूआर कोड उद्घाटन गर्ने उपप्रमुख डंगोलले भन्नुभयो– ‘जिज्ञासुहरूको पढ्ने, हेर्ने र सुन्ने रुचिअनुसारको ढाँचामा सम्पदाको सही जानकारी दिन प्रविधिको प्रयोगको सहयोग गर्नेछ । प्रविधिको यस प्रकारको प्रयोगले मौलिकता जोगाउन र प्रवर्धन गर्न मद्दत गर्नेछ ।’

कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले ‘सूचना सञ्चार तथा सञ्चार प्रविधिको प्रयोगबाट सांस्कृतिक सहरको गरिमा बचाउन सम्पदाको परिचय दिन क्यूआर कोडको सुरुआत गरिएको जानकारी दिनुभयो । वडा नं–२३ का अध्यक्ष मचाराजा महर्जनले सम्पदा क्षेत्रसम्बन्धी पर्यटकलाई गलत जानकारी दिएको उदाहरण दिँदै भन्नुभयो– ‘कालभैरवलाई ब्ल्याक भैरव भन्न थालियो । कालभैरव भन्नु र ब्ल्याक भैरव भन्नुमा शब्दको गहनता धेरै फरक छ । सम्पदाको पहिचान बिगार्न यसरी गरिएका अभ्यास रोक्न प्रविधिले सहयोग गर्ने आशा गरेका छौँ ।’

क्यूआर कोडमा प्राप्त हुने विवरण पाटन संयुक्त क्याम्पसको इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. जुनु वासुकलाको अध्ययनमा आधारित छन् । उहाँका अनुसार वडा २३ मा भएका सम्पदामध्ये सबैभन्दा प्राचीन संरचना सिखमु (अहिलेको बोलीचाली) हो । यसको प्राचीन नाम श्रीखण्ड तरुमूल महाविहार हो। काठमाडौं मण्डपसँग साइनो देखिने भएकाले यसको निर्माण काष्ठमण्डपसँगै ७औँ शताब्दीमा हुन सक्छ । यसको यकिन तथ्याङ्क पाइएको छैन ।

यस क्षेत्रका सम्पदा बचाउन नाम बचाउनु पहिलो काम हो। वासुकलाले भन्नुभयो– ‘सम्पदा नास हुनुमा भूमि सुधार ऐन जारी भएपछि परम्परागत गुठीको सम्पत्ति गुठी संस्थानमार्फत् परिचालन हुन थालेपछि सम्पदाका नाममा भएका सम्पत्तिको दुरूपयोग भयो। यसैकारण धेरै सम्पदा र संस्कृति नास भएका भेटिए। यस्तै, कतिपय समुदायमा आधारित गुठीले नै सम्पदाको सम्पत्ति बेचेर खर्च नपुग्ने बनाएका छन्। सम्पदा र संस्कृति नासिँदै जानुमा यो अर्को कारण हो।

समाज विकास हुँदै गर्दा सम्पदा कसरी नासिए पत्तै भएन, हामी यहाँकै सम्पदामा रमाउँदै आएका हौँ। यस क्रममा वंग कहिले इन्द्रचोक बन्यो, सिल्य सत्त कहिले सिंहसत्तल बन्यो, थाहै भएन । शब्द उच्चारणको अभ्यास र यसले पहिचानमा पार्ने नकारात्मक प्रभावका बारेमा बताउँदै क्यूआर विकासकर्ता सुुरेशप्रसाद श्रेष्ठ भन्नुभयो– ‘अब प्रविधिबाट सम्पदाको मौलिकता बचाउनुपर्छ।’

सम्पदाको पहिचानका लागि क्यूआर कोड राखिनुले यसको अभिलेखनमा ठूलो सहयोग पुगेको छ। अबको खाँचो भनेको यी सम्पदासँग सम्बन्ध जोडिएका कति संस्कृति नासिए, त्यससँगै हराएका मौलिक खाना, पोशाक, श्रृङ्गार, गरगहना, गायन, वादन तथा नृत्य, पर्व र पूजाजस्ता अभौतिक सम्पत्तिको खोजी र पुनरुत्थान गर्नु हो।

प्रतिक्रिया दिनुहोस्