सत्ता समीकरण फुट उन्मुख

प्रदेश सरकार चलाउँदा संघीय गठबन्धन नै धरापमा



काठमाडौं ।

बलजफ्ती जोडिएको केन्द्रीय राजनीति सत्ता समीकरणमा सहभागी ठूला दलहरूले प्रदेश सरकारमाथि हस्तक्षेप गरेसँगै गठबन्धन फुट उन्मुख अवस्थामा पुगेको छ।

संघीयताको मर्मविपरीत सत्ता गठबन्धनमा मुख्य राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकार अपदस्त गरेर नयाँ सरकार बनाउन थालेसँगै गठबन्धनमा भाँडभैलो शुरू भएको हो।

गत फागुन २१ मा भएको नयाँ सत्ता समीकरणमा बलजफ्ती सहभागी हुन पुगेको नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिमको प्रदेश सरकार निर्माणमा केन्द्रीय सत्ता गठबन्धनविपरीतको सहकार्य गरेपछि सत्ता गठबन्धनमा संकटको संकेत देखिएको गठबन्धनका नेताहरूले नै बताएका छन्।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सुदूरपश्चिम प्रदेश सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको सहकार्यमा बन्ने दोहोर्‍याउनुभएको छ। यसअघि सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले नै अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने कुरा सत्ता गठबन्धनका नेताहरूको व्यवहारमा भर पर्ने बताउनुभएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगरेकोमा असन्तुष्टि जनाउँदै नेपालले भन्नुभएको थियो– ‘सुदूरपश्चिममा आलोपालो मुख्यमन्त्रीअन्तर्गत शुरूमा एकीकृत समाजवादीलाई दिने सहमति गर्नुभएको थियो। रञ्जिताजीलाई पनि त्यही भन्नुभएको रहेछ। अहिले रञ्जितालाई पनि मनाउन सक्नुभएन। हामीलाई दिन खोज्नु नै भएन। त्यसैको परिणाम हामीले कांग्रेससँगको सहकार्यमा प्रदेश सरकारमा उन्मुक्तिलाई सहयोग गर्न बाध्य भयौं ।’ यद्यपि, संघीय सरकारबारे के गर्ने भन्ने सोच बनाइनसकेको प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले भन्नुभयो–‘प्रचण्डजी र ओलीजीले कस्तो व्यवहार गर्नुहुन्छ त्यसमा भर पर्छ । हामी पर्ख र हेरको अवस्थामा छौं ।’

कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा सुदूरपश्चिममा आइतबार नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । सुदूरपश्चिमको जस्तै घटना वागमती, मधेस र लुम्बिनी प्रदेशमा पनि हुन सक्ने अध्यक्ष नेपालले संकेत गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसलाई स्वागतयोग्य ठानेको छ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डबाट धोका खाएर सत्ता बाहिर पुगेको कांग्रेस एमालेसँगको सत्ता सहकार्यमा हात फैलाइरहेको अवस्थामा गठबन्धनभित्रै कलह चुलिएपछि प्रचण्ड– केपीको गठबन्धन फुटाउन सहज हुने आसमा छ। कांग्रेस नेता प्रदीप पौडेलले यो गठबन्धन लामो समय नजानेमा आफूहरू विश्वस्त रहेको जिकिर गर्दै भन्नुभयो– ‘बिना जग जबरजस्त लगाइएको काँचो ईंटा चाँडै भत्किन्छ भन्नेमा हामी विश्वस्त छौं । योे कुनै वैचारिक, सैद्धान्तिक र देश निर्माणका लागि बनाइएको गठबन्धन नै होइन । केवल अस्थिरताकै लागि निर्माण गरिएको एउटा नाटकीय समूह मात्रै भएकाले धेरै टिक्दैन ।’

संसद्मा १० सिट रहेको सत्ता साझेदार दल एकीकृत समाजवादीको व्यवहारप्रति सत्ताको मुख्य साझेदार दल एमाले पूर्णरूपमा रुष्ट बनेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार संसदीय दलको बैठकमा एकीकृत समाजवादीको दक्षिणपन्थी चरित्र नाङ्गो ढंगले प्रकट भएको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘विपक्षीहरूमा आशा आउने गरी, जनतामा आशंका, अन्योलता, निराशा पैदा हुने गरी, नेकपा एस भन्ने पार्टीले कदम चाल्यो । त्यसका बोली, व्यवहार, बार्गेनिङ, आन्तरिक रूपमा छँदै थिए । तर, हिजो बाहिर नै प्रकट भयो । कांग्रेस केन्द्रित गठबन्धनलाई समर्थन गर्ने एकीकृत पार्टीको दक्षिणपन्थी, अवसरवादी चरित्र नांगो ढंगले प्रकट भयो ।’

सत्ता गठबन्धनमा रहेका एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालको अभिव्यक्तिले गठबन्धभित्र ठूलै संकट आइसकेको संकेत दिएको छ। तर, पनि यही गठबन्धनलाई जोगाएर आगामी बजेट तर्जुमा गर्ने र केही महिनासम्म टिकाउने प्रयत्नमा प्रधानमन्त्री प्रचण्ड लाग्नुभएको माओवादी केन्द्रका एक नेताले बताए।

उनले नेपाल समाचारपत्रसँग भने–‘पछिल्लो गठबन्धन त्यति दर्बिलो देखिएन । यद्यपि, कम्युनिस्ट, वाम शक्तिहरूबीच भएको गठबन्धन अलि सैद्धान्तिक हुने भएकाले हामीले यसलाई लामो समय लान चाहन्छौं। प्रधानमन्त्रीजीले पनि पार्टीले धेरै कुराहरू छाडेर गठबन्धन टिकाउन लाग्नुभएको छ। सायद प्रदेश सरकार गठनकै विषयलाई लिएर अहिले नै सत्ता गठबन्धनमा ठूलो समस्या आउँदैन।’

प्रतिक्रिया दिनुहोस्