अर्थतन्त्रमा अन्योलता र आशा



काठमाडौं ।

वर्ष २०८० भर्खर बिदा भएको छ। गएको वर्ष देशको आर्थिक स्थिति आशंका र अन्योलताको उतारचढावका बीच बित्यो। कतै देशमा आर्थिक संकट निम्तिन्छ कि भन्ने आशंका र सुधार पनि हुँदै छ भन्ने अन्योलता थियो।

आर्थिक सूचकाङ्कहरूले पनि कतै आशा र कतै आशंका दुवै देखाएको स्थिति थियो। अघिल्लो वर्षको तुलनामा गएको वर्ष अर्थतन्त्रका अधिकांश बाह्य सूचकहरूमा सुधार भएको थियो। यसले गर्दा अर्थतन्त्र सुधारोन्मुख भएको आँकलन गर्ने गरिए पनि आन्तरिक सूचकहरूमा सुधार नभएकाले अर्थतन्त्र सहज स्थितिमा छैन भन्ने आशंका जन्माएको हो।

विशेष गरी कुल विदेशी विनिमय सञ्चितिमा २१ दशमलव ७ प्रतिशतले वृद्धि भई १८ खर्ब ७२ अर्ब ८२ करोड रुपियाँ पुग्नु, रेमिट्यान्स २१ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब २२ करोड रुपियाँ हुनु, अघिल्लो वर्ष १४२ अर्बले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष ३२७ अर्ब ५५ करोडले बचतमा हुनु, चालू खाता अघिल्लो वर्ष ५५ अर्ब २८ करोडले घाटामा रहे पनि गएको वर्ष १ खर्ब ६६ अर्ब ८७ करोड रुपियाँले बचतमा रहेकोजस्ता सूचकहरूका कारण अर्थतन्त्रमा केही सुधारका संकेत देखिएका थिए। तर, सार्वजनिक ऋण ह्वात्तै बढ्नु, सरकारी भुक्तानी रोकिनु, बाह्य लगानी न्यून हुनु, आन्तरिक लगानीकर्ताको आत्मविश्वास कमजोर हुनु, तरलता सहज हुँदा पनि ऋण लगानी रोकिनु, महँगी उच्च हुनु, बजेट खर्च घाटामा रहनु, राजस्व संकलन लक्ष्यभन्दा कम, पुँजीगत खर्च न्यून, राज्यको दायित्व बढ्दै जानु, व्यापार घाटाको आकार बढ्नुलगायतका कारण देशको आर्थिक अवस्था सहज र स्थायित्वका विषयमा ढुक्क हुने स्थिति थिएन ।

सार्वजनिक ऋण ह्वात्तै बढेर पछिल्लो पाँच वर्षमा दोब्बर भई २३ खर्ब ८८ खर्ब २६ करोड ४३ लाख रुपियाँ पुगेको छ । आर्थिक वर्षको नौ महिनामा ५२ प्रतिशत मात्रै बजेट खर्च भएको छ। चालू खर्च ५६ प्रतिशत, पुँजीगत ३१ प्रतिशत भएकोे छ । त्यस्तै साढे ६ खर्ब रुपियाँ चालू खर्च हुँदा पुँजीगत खर्च ९४ अर्ब रुपियाँमा सीमित भएको छ।

सरकारले सोही अवधिमा ऋणको सावाँ–ब्याज तिर्न मात्रै १ खर्ब ६५ अर्ब रुपियाँभन्दा बढी रकम खर्च गरेको छ। नौ महिनामा ९ खर्ब रुपियाँ सरकारले खर्च गर्दा आम्दानी भने जम्मा साढे ७ खर्ब रुपियाँ भई सरकारलाई डेढ खर्ब रुपियाँ बजेट घाटा भएको छ । साथै व्यापार घाटा ९ खर्ब २९ अर्ब ६१ करोड रुपियाँ रहेको जस्ता तथ्यांकका आधारमा देशको अर्थतन्त्र सन्तोषजनक रहेको मान्न सकिँदैन।

गएको वर्ष अधिकांश सूचकहरू नकारात्मक रहे पनि वर्ष २०८१ मा ती सूचकहरूमा सुधार हुन सक्नेतर्फ आशावादी हुन सकिने स्थिति भने अझै जीवितै छ। विशेष गरी पर्यटन र रेमिट्यान्समा आएको सुधार, नयाँ जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न भई विद्युत्को निर्यातमा वृद्धि, अन्तर्देशीय विद्युत् कारोबारको सम्झौता, सरकारले वैदेशिक लगानी भित्र्याउनका निम्ति लगानी सम्मेलनको आयोजना गर्नु, सूचना प्रविधिका क्षेत्रमा नेपालको क्रमिक विकास र वैदेशिक सेवामा विस्तारजस्ता कारणले यस वर्ष देशको अर्थतन्त्र सुधार हुनेमा आशा गर्न सकिन्छ । यद्यपि, एकैपटक ठूलो फड्को हान्ने स्थिति भने छैन।

सरकारले आर्थिक विकासको जतिसुकै अंकको लक्ष्य राखे पनि विश्व बैंक, एडीबीजस्ता निकायले यस वर्ष नेपालको अर्थतन्त्र ३ देखि ४ प्रतिशतको बीचमा वृद्धि हुने प्रक्षेपण गरेका छन्। साथै निजी लगानीकर्ताले लगानी विस्तार गर्न सक्ने धेरै आधार देखाइएको छ। तसर्थ, यस वर्ष देशको अर्थतन्त्रले गति लिन सक्नेतर्फ आशावादी हुन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्