स्वास्थ्य सुधारका लागि  धुलिखेल अस्पतालबाट सिकौँ 



दोलखा। 

गरे के हुन्न भन्ने कुरा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पतालले चरितार्थ गरेको छ । २०५३ सालमा ३ कोठाको सानो कोठाबाट सुरु भएको धुलिखेल अस्पताल यतिबेला दक्षिण एसियामै नाम चलेको अस्पतालका रुपमा स्थापित भएको छ ।

२०५३ सालमा पाइलै पिच्छे चुनौती  छ तर त्यसभित्रै अवसर पनि लुकेको हुन्छ भन्ने बुझेका धुलिखेल अस्पतालका संस्थापक कार्यकारी निर्देशक प्रा.डा.रामकष्ठ माकजू श्रेष्ठ चुनौतीलाई अवसरमा  बदल्ने सफल व्यक्तिका रुपमा चिनिन्छन्  । उनी  त्यति बेला अस्ट्रियाको सुविधाको परवाह नगरी आफ्नै जन्मथलो धुलिखेल फर्किई स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने अठोट लिएर अघि बढ्ने हिम्मतिलो स्वास्थ्यकर्मी हुन्  । जन्मथलोमा स्वास्थ्य सुधारका विषयमा उनी  चिन्तित भएको धुलिखेल नगरपालिकाका तत्कालीन मेयर बेलप्रसाद श्रेष्ठले चाल पाई डा माकजूलाई अस्ट्रिया भिजिटका बेला विश्वस्त बनाई नेपाल फर्काउन सफल भएका हुन्  ।

बेलप्रसादले अस्पताल स्थापनाका लागि आवश्यक पर्ने संस्थाहरु धुलिखेल स्वास्थ्य  सेवा संंघ, धुलिखेल नगरपालिकालाई तयार पारेसँगै डा.रामले नेपाल मेड अस्ट्रिया तय गरी  धुलिखेल अस्पताल खुल्यो । त्यति बेला देखि आज सम्म डा.रामको आँखामा नेपालमा असम्भव भन्ने केही छैन । सम्भावना नै सम्भावना बोकेको नेपालमा गरे के हुन्न भन्ने उदाहरण उहाँको टीमवर्कले देखाएकोछ । ३ वटा कोठाबाट सुरु भएको अस्पताल आज देशकै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालका रुपमा परिचित छ  । डा.रामको अठोट भनेकै नेपालमै सबै कुरा सम्भव बनाउन सकिन्छ । आज नभए प्रयास जारी राखौँ भोली त हुन्छ हुन्छ । कमजोरीको मात्र पछि नलागौँ ध्यानाकर्षण गराउँदै सुधार तर्फ जोड दिऊँ भन्छन् ।

हामी नेपालीले आफ्नै देशलाई नराम्रो भन्दै बिदेसिने हो भने हाम्रो समस्या अरुले समाधान गर्दैनन् । हामी आफैले सुधार्ने हो । त्यसैले म अस्ट्रियाबाट नेपाल आउँदा सम्भावना नै सम्भावना देखेर आएको थिए आज पनि सम्भावना भएकै कारण यतिका काम भैरहेकोछ भन्छन् ।

धुलिखेल अस्पतालले नेपालको पूर्व देखि पश्चिम, उत्तर, दक्षिण चारैतिर स्वास्थ्य सेवामा नै जोड दिएकै कारण सरकार, संघसंस्था, दातृ निकाय लगायत स्थानिय बासिन्दाले समेत उत्तिकै साथ र सहयोग गरेका छन् । नेपालमा आएको २०७२ सालको भूकम्प होस या कोभिड १९ को महामारी कति पनि विचलित नभै यो अस्पतालले सेवा दिएकै कारण विश्वले धुलिखेल अस्पताललाई पछ्याई रह्यो डा. श्रेष्ठ भन्छन्  । अस्पताल बलियो हुनुमा टीमवर्क र सर्वसुलभ स्वास्थ्य सेवा दीर्घकालिन हुनुनै हो उनी  भन्छन्  ।

उनले नेपाल सरकारले गाउँ गाउँमा स्थापना गरेका स्वास्थ्य सेवाहरुलाई नियाली ग्रामीण स्वास्थ्यलाई पहिलो प्राथमिकता हुनुपर्छ भन्दै देशभरि १८ वटा आउट्रीज अस्पतालहरु संचालनमा ल्याई सकेको जानकारी गराए । धुलिखेल अस्पतालले संचालन गरेका आउट्रीज सरकारका प्रतिपर्धी नभै सहयोगी भएको उनले बताए ।

यी नै विषयमा केन्द्रित भई गत चैत्र महिनाको २७ र २८ गते धुलिखेल अस्पताल र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजनामा दोलखा अस्पताल र किर्नेटार अस्पतालमा स्वास्थ्य पत्रकारहरुका लागि ग्रामीण स्वास्थ्य र पत्रकारिता सम्बन्धी सञ्चालित दुई दिने अभिमुखीकरण तालिम तथा अवलोकन भ्रमण सम्पन्न भयो । नेपालको स्वास्थ्य पत्रकारितामा स्वास्थ्य पत्रकारको भूमिका के हुनुपर्छ भन्ने पाठ्यक्रम बनाउने विषयमा समेत सहकार्य गर्ने धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा.बिराज कर्माचार्यले बताए ।

जनस्वास्थ्य र पत्रकारिता एक आपसमा नङ र मासु जतिकै हुनुपर्छ । स्वास्थ्य पत्रकार मञ्च लगायत पत्रकारितालाई नै मुख्य पेसा बनाई विज्ञता हासिल गरेका पत्रकारहरूसँग भिन्दा भिन्दै छलफल, अन्तर्क्रिया गरी  कसरी स्वस्थ हुने र बिरामी पर्दा कहाँ कसरी जाने भन्ने विषयमा जनचेतना जगाउने कार्यमा जोड दिने डा.कर्माचार्यले जोड दिए ।

त्यसरीनै स्त्रीरोग विशेषज्ञ डा.सुमनराज ताम्राकारले ग्रामीण भेगमा महिला स्वास्थ्य समस्या निकै गम्भीर रहेकाले धुलिखेल अस्पतालले ग्रामीण भेगका महिलालाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउनका लागि अस्पतालले माइक्रो फाइनान्स सुरु गरेको छ भने । दोलखामा पनि महिलाहरुलाई, तरकारी खेती, बाख्रा पालन, माछा पालन लगायत आर्थिक उपार्जनका काममा महिलालाई समेटी उपचारको पहुँचमा ल्याएको बताए ।

दोलखा अस्पतालका इन्चार्ज डा. शैलेश प्रसाद श्रेष्ठले दोलखा अस्पतालमा दिइने स्वास्थ्य सेवा र आम नागरिकले पाएको सेवा नै आफ्नो सन्तुष्टि रहेको बताए । उनी भन्छन्, यहाँ नितान्त ग्रामीण भेगका नागरिक नै सेवाग्राही हुन्छन् ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार तथा वरिष्ठ स्वास्थ्य पत्रकार प्रवीण ढकालले स्वास्थ्य पत्रकारिताले सूचना मात्र दिँदैन शिक्षा पनि दिन्छ भने । उनले संघीय संरचनाले स्वास्थ्य सेवालाई कमजोर बनाएको कुरा औँल्याउँदै गाउँमा दही, दूध, मोही, मकै, भटमास, ढिँडो पाइन्न, कोक, फन्टा, जंकफूड, चाउँचाउ नपुगेको ठाउँ छैन । त्यसैले ग्रामीण स्वास्थ्य पत्रकारिताले सरकारको ध्यानाकर्षण गराउनुका साथै आम नागरिकलाई शिक्षा दिने काम पनि गर्छ भने ।

कार्यक्रममा साधना स्वास्थ्य मासिकका सम्पादक लक्ष्मण अधिकारीले ग्रामीण स्वास्थ्य पत्रकारिताले समस्या समाधानका लागि सरोकारवाला निकायको आँखा खोल्ने बताए ।

 त्यस्तै स्वास्थ्य पत्रकार अतुल मिश्रले विश्वमै स्वास्थ्य समस्या उच्च हुँदै  गएको अवस्थामा नेपालमा मापन गर्ने निकाय नभएको औँल्याए । त्यस्तै राससका सम्पादक विष्णु नेपालले ग्रामीण स्वास्थ्यमा सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिए ।

 त्यसैगरि नेपाल समाचारपत्रका स्वास्थ्य पत्रकार भगवती तिमल्सिनाले विगतमा सरकारले मिडियाले उठाएका स्वास्थ्यका विषयमा जति ध्यान दिन्थे संघीयता पछि एकले अर्कोलाई देखाउँदा स्वास्थ्य सेवा कमजोर भएको बताइन्  । डा. श्रेया श्रेष्ठले धुलिखेल अस्पतालले नेपालमा मात्र नभै विदेशमा बसेर समेत टेलिमेडिसिन सेवा लिन सक्ने गरि सेवा विस्तार गरेको बताइन्  ।

 सोही अवसरमा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारिता प्रत्यक्ष जनमानसमा जोडिने हुनाले गम्भीर भएर अध्ययन अनुसन्धानमा केन्द्रित भई लेख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्