एन्फा, विवाद र नेपाली फुटबल



फिरोज राजोपाध्याय

गएको २०८० साल पनि अखिल नेपाल फुटबल संघ (एन्फा) विवादबाट मुक्त भएन । पछिल्ला वर्षहरूमा झैं एन्फाको आलोचना नै भइरह्यो । गएको वर्षमा महिला राष्ट्रिय फुटबल टोलीले नाम कमाएकोबाहेक नेपाली फुटबल ओरालो नै लागेको भने पनि खासै फरक पर्दैन । वर्ष २०८० शुरु भएदेखि साल सकिने समयसम्म एन्फाकै गतिविधिमा सबैको ध्यान केन्द्रीत भएको थियो ।

एन्फाले पहिलो त खेलाडीलाई नेपालमै खेलेर जिविका चलाउन सक्ने अवस्था सिर्जना गर्न सकेको छैन भने अर्को तिर लगातार विवादमै अल्झिरहेको थियो । यो क्रम जारी छ ।

शहिद स्मारक ए डिभिजन २०७९ जारी रहँदा पिउने पानी उपलब्ध गराउन नसकेको, पत्रकारहरूलाई पत्रकार सम्मेलनमा फोटो भिडियो खिँच्न बन्देज लगाइएको, बहराइनमा नेपाली टोली खेल्न जाँदा एन्फाबाट अतिरिक्त पदाधिकारी पनि समावेश हुँदा खेल मन्त्रालयबाट नै विज्ञप्ति निकाल्नुपरेको थियो । अर्को राष्ट्रिय खेलकुद परिषद्ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला एन्फाबाट आफ्नो मातहतमा ल्याएको थियो ।

विश्वकप छनोट खेल खेलाउन नसकेको

विश्वकप २०२६ अन्तर्गत एशियाली क्षेत्रको छनोटको खेल नेपालमा खेलाउन एन्फा असफल भएको थियो । यमनविरुद्धको खेल नेपालमै आयोजना भएपनि बहराइनविरुद्धको खेल घरेलु मैदानमा हुन सकेन । एन्फाको लापर्बाहीको कारण यो घरेलु खेल बहराइनमा गएर नेपालले खेल्नुपरेको थियो । दशरथ रंगशालाको मैदान खेल्न लायक नभएको प्रतिवेदन आएपछि एन्फाको ठूलो आलोचना भएको थियो ।

यस घटनापश्चात देशको प्रतिष्ठामा आँच आउने कार्य गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशालाको जिम्मेबारी लिएको छ । स्रोतको अनुसार परिषद्ले दशरथ रंगशाला एन्फालाई फिर्ता नदिने पनि कुरा आएको छ । अब, दशरथ रंगशालामा खेल खेलाउन पनि परिषद्सँग स्विकृति लिनुपर्ने एन्फाको बाध्यता भएको छ । सँधैभरि पद र सभामै समय खर्चिने एन्फाको लागि यो ठूलो झट्का नै लागेको छ ।

खेलाडीको तलब उति नै

दशकौं बिते पनि राष्ट्रिय खेलाडीको तलबमा वृद्धि भएको छैन । एन्फाले खेलाडीलाई त्यही पहिलेकै दरमा १८ हजार तलब नै खुवाइरहेको छ । यो पनि समयमा आउँदैन भन्ने पनि खेलाडीको गुनासो छ । तर, एन्फाका पदाधिकारीहरूको तलब भने ५० हजारदेखि १ लाख ५० हजारसम्म पु¥याइएको छ ।

केही खेलाडीले सामाजिक संजालमा भनेको थियो कि १८ हजार तलब त मासिक घरभाडा र चामल एक बोरो किनेपछि खतम हुन्छ । अब यो भिडियो सामाजिक संजालमा आएको त एन्फाले हे¥यो होला तर, अझै पनि बढाउने कुनै नियत देखिँदैन । यही तलब नपुगेरै त पुरुष फुटबलरहरू पलायन भएको पनि करिब ७० को संख्यामा पुगिसकेको छ । यसको बावजुद एन्फाले यसमा कुनै गम्भीर चासो लिएको देखिँदैन । अहिले त एन्फामा चेन्ज एन्फाको नारा लिएर आएको नयाँ नेतृत्व छ तर पनि त्यही पुरानै पाराले चलिरहेको छ ।

क्लबहरुसँग दुरी बढेको

यस्तै ए डिभिजन लिग चलिरहँदा एन्फाले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण राख्दा आलोचित बन्नुपरेको थियो । पछि क्लबहरूको चर्को विरोध भएपछि एन्फा आफ्नो निर्णयबाट पछि हट्नु परेको थियो । असारमा साफ च्याम्पियन्सका लागि तयारी गर्न एन्फाले राष्ट्रिय टोलीको प्रशिक्षण गर्न गते तोकेको थियो । तर, लिग चलिरहेको हुँदा सहभागी १४ मध्ये १० क्लबले आ–आफ्ना खेलाडी मुक्त गर्न चाहेका थिएनन् ।
एन्फाले क्लबहरूलाई लिगको तयारीवापत रकम पुरै उपलब्ध नगराएपछि विवाद भएको थियो । क्लबहरूले रकम उपलब्ध नगराएसम्म लिग नखेल्ने निर्णय लिएका पनि थिए । क्लबको अनुसार ए डिभिजनको लागि गत वर्षभन्दा पहिलेको लिगकै रकम भुक्तानी हुन बाँकी छ । यस्तै बी डिभिजन लिग पनि गत वर्ष हुन सकेको थिएन । सी डिभिजन बल्ल चैतमा संचालन गर्न सकेको थियो ।

एएफसी यू २३ एशिया कप खेल्न नपाएको

नेपालको यू २३ फुटबल टोलीले एएफसी यू २३ एशियाकप छनोटमा भाग लिन पाएन । पहिले त एन्फाले आर्थिक कारण देखाएर एशियाकपमा भाग नलिने बताएपनि पछि बुझ्दै जाँदा एन्फाले समयमै टोलीको नाम दर्ता नगराएको तथ्य बाहिरिएको थियो । यो एन्फाको लापर्बाहीको कारण नै नेपाली यू २३ टोली एशिया कपमा खेल्नबाट वंचित भयो । नेपालसँगैं भुटानले पनि नाम दर्ता गर्न नपाएको थियो । केही वर्ष अघि पनि एन्फाले थ्रीस्टारको नाम समयमै दर्ता गराउन नसक्दा एफसी कपको दोस्रो चरणमा खेल्न वंचित भएको थियो ।

एपीएफ रेलिगेशन विवाद

नेपाल एपीएफ क्लब १८ वर्षको ए डिभिजन लिग करियरमा पहिलो पटक बी डिभिजनमा घटुवा भयो । एपीएफसँगै गत ए डिभिजन लिगबाट खुमलटार युवा क्लब पनि बी डिभिजनमै पुग्यो । तर, एपीएफले थ्रीस्टार र जावलाखेल युथ क्लबबीचको खेलमा थ्रीस्टारका दुई विदेशी खेलाडी पिटर र मार्टिन्स विना भिसा खेलेको आरोप लगाएको थियो ।

यस विषयलाई लिएर विभागिय टोली एपीएफले एन्फामा उजुरी राखेको थियो । यस विषयमा अहिलेसम्म पनि एन्फाले जवाफ दिएको छैन । यस्तै थ्रीस्टार र जावलाखेलबीचको खेल मिलोमतोको आशंकामा एपीएफले एन्फालाई निवेदन राखेको थियो । तर, एपीएफले आफ्नो अन्तिम खेल फ्रेन्डस्सँग ४–० ले हार्नु नै रेलिगेशनमा पर्नुको कारण थियो ।

साइत अझै जुरेन

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसिपमा विजेता बन्ने साइत अझै जुरेको छैन । नेपालले गत साफ च्याम्पियनसिपमा एक खेलमा पाकिस्तानलाई हराउनु बाहेक अन्य दुई खेलमा पराजित भएको थियो । समूह चरणमा नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र भारतसँग २–० ले पराजित भएको थियो । गत साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको थियो । भारतले नवौं पटक उपाधि जित्दा नेपाल अझै पनि पहिलो उपाधिको लागि तडपिरहेको छ । यसमा पनि धेरै जसो अनुभवी र राम्रा खेलाडी विदेश पलायन भएको नै पहिलो कारण थियो । खेलाडी विदेश पलायनको जिम्मेबार पनि एन्फा नै थियो ।

क्लबहरूको सफलता  
मछिन्द्रले उपाधिबाटै ३२ लाख कमायो

काठमाडौंको मछिन्द्र फुटबल क्लबले तीन उपाधि जितेर गत वर्ष सबैभन्दा सफल ए डिभिजन क्लब साबित ग¥यो । मछिन्द्रले छैटौं संस्करणको बागमती गोल्डकप फुटबल उपाधि जितेको थियो । नेपाल एपीएफ फुटबल क्लबलाई ४–० ले हराउँदै मछिन्द्र उपाधिसहित १० लाख रुपियाँ कमाउन सफल भयो ।

यस्तै दशरथ रंगशालामा भएको दोस्रो संस्करणको केपी ओली कप पनि मछिन्द्रले नै जित्यो । गत पहिलो संस्करणको विजेता मछिन्द्रले करिब २० हजार दर्शक सामु भएको फाइनल खेलमा एनआरटीलाई टाइब्रेकरमा हराएको थियो । मछिन्द्रले ११ लाख रुपैयाँ हासिल ग¥यो । एनआरटीको हातमा भने ५ लाख नगद परेको थियो ।
यसैगरी मछिन्द्रले विराट गोल्डकपको उपाधि पनि जित्न सफल भयो । विराटनगरको सहिद मैदानमा राति भएको फाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएलाई २–० ले हराएर मछिन्द्र प्रतियोगितामा पहिलो पटक विजेता बन्यो । गत वर्ष ७ प्रतियोगिता खेलेको मछिन्द्रको यो तेस्रो उपाधि थियो । मच्छिन्द्रले ११ लाख र सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । यो समेत गरी मछिन्द्रले गत वर्ष विजेता रकम मात्रै ३२ लाख कमाएको थियो ।

एनआरटीको दुई उपाधि
काठमाडौंको न्यूरोड टिम (एनआरटी) प्रथम एनआरएनए इलाम गोल्डकपमा विजेता बन्यो । झापाको बिर्तामोड युनाइटेड एफसीलाई टाइब्रेकरमा हराउँदै एनआरटीले पहिलो पुरस्कार रकम ५ लाख पनि प्राप्त ग¥यो । गत वर्ष नै एनआरटीले दिलीप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप पनि जितेको थियो । चाबहिल भेट्रानलाई १–० ले हराउँदै एनआरटी विजेता बनेर १ लाख ५० हजार नगद हासिल ग¥यो । चाबहिलले ७५ हजार रुपैयाँ प्राप्त ग¥यो ।

आर्मी पहिलो पटक रारामा विजेता

त्रिभुवन आर्मी फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा पहिलो पटक विजेता बन्यो । ललितपुरको थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले डेढ दशकको प्रयासमा पहिलो आहा रारा उपाधि जित्न सफल भयो । पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान जिलेस्पीजंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले गोल गरेका थिए । त्यसअघि आर्मीले २०६५, २०६६ र २०७२ सालमा फाइनल खेलेको थियो ।

आर्मीले उपाधिसहित १२ लाख १ हजार नगद हात पार्दा ५ पटकको विजेता थ्रीस्टारले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
यस्तै गत वर्ष नै आर्मीले पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा पनि पहिलो पटक उपाधि जित्यो । आयोजक पाँचथर क्लबलाई ४–२ ले हराउँदैं आर्मीले उपाधि जितेको थियो । २०७४ सालमा फाल्गुनन्द गोल्डकपमा उपविजेता बनेको आर्मी ६ वर्ष पछि विजेता बनेको थियो । आर्मीले पहिलो पुरस्कार ५ लाख ५ हजार र पाँचथरले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

पुलिस वीरगञ्जमा विजेता

नेपाल पुलिस क्लबले प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जित्यो । त्रिभुवन आर्मी एफसीलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै पुलिस विजेता बनेको थियो । पुलिसले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र आर्मीले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका थिए ।

एपीएफले पनि उपाधि जित्यो

गत वर्ष नेपाल एपीएफ फुटबल क्लब पनि उपाधि जित्न सफल भएको थियो । एपीएफले सडन डेथमा एनआरटीलाई हराउँदैं सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । यसमा एपीएफ पहिलो पटक उपाधि विजेता बनेको हो । एपीएफले १५ लाख र एनआरटीले १० लाख रुपैयाँ प्राप्त गरेका थिए ।

चर्चब्वाइज झापामा विजेता

ए डिभिजनमा उपाधि जितेको चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबल प्रतियोगिताको नयाँ विजेता टोली बन्यो । ए डिभिजन विजेताले विभागीय टोली एपीएफ फुटबल क्लबलाई ३–० ले हराएको थियो । चर्च ब्वाइजले १३ लाख र एपीएफले ७ लाख नगद प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्