ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ: रघुवीर महासेठ

546
Shares

काठमाडौं ।

नेकपा एमालेका सचिव एवं उपप्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको टिप्ताला नाका जोड्ने सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताए  ।

बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले सकेसम्म तीन वर्ष भित्रै सो सडकको काम सम्पन्न गर्ने गरी कम गर्ने बताए । उनले यस आर्थिक वर्षको बजेटमा सो सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बचन दिए । ‘हामी तीन वर्षभित्रै, सकेसम्म तीन वर्ष भित्रै सम्पन्न गर्ने गरी काम गर्छौँ’, महासेठले भने।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोला स्थित टिप्तालाबाट चीन जोड्ने नाका नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय नाका भएकोले पनि सो नाकसम्मको सडक सरकारको प्राथमिकतामा रहेको उनले बताए । हामीले उत्तर–दक्षिण सडक भनिरहेको छौँ, त्यो सँगसँगै यो पनि पर्दछ’, महासेठले भने ।

उनले ताप्लेजुङका रणनीतिक महत्त्वका दुईवटा ठुला पुलका काम पनि यस वर्ष आउने बजेटबाट अघि बढ्ने जानकारी दिए । समग्र ताप्लेजुङको विकासको लागि आफूले प्राथमिकता दिने उनले बचन दिए ।