ओरालो लाग्ने क्रम रोकियो, अब देश अघि बढ्छ : केपी ओली 

350
Shares

काठमाडौँ ।

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताएका छन् ।
बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरणमा नेकपा एमाले पनि भएकोले देशलाई ओरालो लाग्न नदिने बताए । एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकाले देशलाई बरबादीमा जानबाट भने जोगाउने आलीले दाबी गरे । ‘अब ओरालो लाग्ने क्रम रोकियो देशको, त्यो ओरालो लाग्ने क्रम रोकिएको छ, अब देश ओरालो लाग्दैन’, ओलीले भने ।

हिजो गठबन्धन सरकार हुँदा विकास निर्माणका काम ठप्प भएका बताउँदै ओलीले ती काम अब अगाडि बढ्ने आश्वासन दिए । सरकारले रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाउने ओलीले बताए ।

एमाले सरकारबाट हटेपछि विकास निर्माणका काम रोक्ने र राष्ट्रियतालाई कमजोर बनाउने काम भएको ओलीले बताए । ‘हामीलाई सरकारबाट हटाउने जुन तिकडम भयो, षडयन्त्र भयो, जालझेल भयो, त्यो सबै कुरा यो देशलाई अगाडि बढ्न नदिने उद्देश्यका साथ भएको थियो, यो देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यका साथ भएको थियो’, ओलीले भने ।

ओलीले मिसन २०८४ बाट एमालेलाई राष्ट्रिय शक्ति बनाउनु पर्ने बताए । त्यसले राष्ट्रियतालाई बलियो बनाउने र विकास र समृद्धिको गति अघि बढ्ने उनको भनाइ छ । एमालेलाई सानदार बहुमत सहितको निर्णायक शक्तिको रूपमा अघि बढाउनु पर्नेमा उनले जोड दिए ।

एमालेले राष्ट्रियतालाई बलियो बनाउने, मिचिएको भूभागलाई देशको नक्सामा ल्याउने, कहिल्यै पनि नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गर्ने, नेपाललाई सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा स्थापित गर्ने काम गरेको उनले स्मरण गराए । राष्ट्रियता, विकास, सुशासनको गति रोक्न एमाले विरुद्ध षडयन्त्र भएको बताउँदै ओलीले त्यसलाई एमालेले असफल गराइदिएको बताए ।

उनले वैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा निर्वाचनमा एमालेले जित्ने र जित्नु पर्ने बताए । अब एमालेले सबै ठाउँमा जित्दै जाने उनले दाबी गरे ।

उनले एमाले नेता कार्यकर्तालाई देशलाई शिरमा राखेर काम गर्न आग्रह गरे । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने ओलीले स्पष्ट पारे । कुरा आदर्शका गर्ने तर आफूलाई फाइदा हुने बाहेक अरू काम नगर्नेले पार्टी र देशको लागि काम गर्न नसक्ने बताए । देशमा विकास र समृद्धि ल्याउन अनुशासित र गतिशील पार्टी बनाउनु पर्नेमा ओलीले जोड दिए।

पार्टी भित्रका समस्यामा छलफल गरेर समाधान गर्नुपर्ने ओलीले बताए । विवाद ल्याएर पार्टी अगाडि बढाउन नसकिने तर्फ उनले सचेत गराए ।
छिटो दौडँदैमा गन्तव्यमा पुग्न नसकिने बताउँदै ओलीले योजनाबद्ध रूपमा अघि बढ्नु पर्ने बताए । लयबद्ध र गतिशील पार्टी बनाएर मिसन २०८४ सफल बनाउनु पर्नेमा उनले जोड दिए ।

सामाजिक सञ्जालमा जथाभाबी नलेख्न पनि पनि उनले निर्देशन दिए । लेख्नै पर्ने सकारात्मक कुरा मात्र फेसबुकमा लेख्न उनले निर्देश गरे । नकारात्मक कुरा लेख्ने र लाइक गर्न तर सकारात्मक कुरामा लाइक, कमेन्ट केही नगर्ने थिति बढ्दै गएको भन्दै ओलीले आलोचना गरे ।

ओलीले ओलाङचुङ्गोला क्षेत्रमा निर्माण भइरहेको सडक छिटो निर्माण गर्नको लागि आफूले पहल गर्ने पनि बताए । तीन वर्ष भित्रै चीनसँग जोडिने सो सडक पूरा गर्ने गरी बजेट विनियोजन गराएर छिटो काम सम्पन्न गराउन आफूले प्रयत्न गर्ने ओलीले जानकारी दिए ।