लन्डन म्याराथनका लागि गोपीलाई १ लाख



काठमाडाैं ।

लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बिहीबार गोपीको विदाईमा नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको विदाईमा केएल दुगडले सो रकम उपलब्ध गराएको हो । केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने भनेका हुन् ।

शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने गोपीले वैशाख ९ गते आयोजना हुने लण्डन म्याराथनमा भाग लिनेछन् । नवौं धारा नेपालगन्ज म्याराथनका विजेताका बनेर गोपी लण्डन ओलम्पिकका लागि छनोट भएका थिए । नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन ओलम्पिकको यात्रा पक्का गरेको हो ।

विश्वका ६ शीर्ष म्याराथनमा लन्डन म्याराथन पनि पर्छ । उक्त म्याराथनमा गोपी पहिलो पटक भाग लिन लागेका हुन् । यसअघि उनले बर्लिन म्याराथनमा भाग लिइसकेका छन् । गोपीले आफ्नो लक्ष्य भनेको भविष्यमा ओलम्पिक खेल्ने रहेको दोहोराएका छन् । उनले लण्डन ओलम्पिकका लागि पछिल्लो ६ महिनादेखि तयारी गरिरहेको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताएका छन् ।

सो अवसरमा लि निङले गोपीलाई ट्रयाकसुट, ज्याकेट, टिसर्ट प्रदान गरेको थियो । सो अवसरमा गोपीका प्रशिक्षक सन्तोष श्रेष्ठलाई पनि टिसर्ट दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्